बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

श्रम र सीपजीवि होइन, ‘दलित’ त तिनीहरू हुन्

विनोद ढकाल २०७७ जेठ १९ गते १०:४९

-विनोद ढकाल

यो आलेखको अभिप्राय ति तमाम् विभेदमा परेका नागरिकलाई होच्याउने हुँदै होइन, तिनीहरूप्रति सम्मान र न्यायका निम्ति सहयोगी रहने प्रतिबद्धता छ । समाजको चक्रभित्र पिल्सिएका विभेद र उत्पीडनमा परेका मानिस, परिवारलाई ठेस दिने पनि होइन, उच्च सम्मान र आदर छ ।

तर पक्कैचाहिँ हो– ति, तमाम् ठेस पाएका, होच्चिएर बस्नुपरेका मानिसको भावना, तिनका अपेक्षा र समानताको खोजीका निम्ति ‘दूत’ बनाएर पठाएका भ्रष्ट आचरणधारी नेता, एनजिओका नेता र अवसरवादीका सन्दर्भमा ।

दशकौंदेखि चिमोटिरहेको प्रश्न, गणतन्त्रको यत्रो बर्षसम्म अझ पोलिनै रहनुपर्ने कारण के हो ? जब–जब एउटा प्रकरण जन्मन्छ अनि मात्र सदनमा प्रश्नहरू उठ्नुपर्ने, जब राष्ट्रिय मुद्दा बन्छ अखबारमा अनि मात्रै प्रश्न बन्नुपर्ने नियति किन ?

के समाजले स–साना विषयको सान्दर्भिकतामा विभेद र उत्पीडन पाएको थिएन, सदनमा त्यसका निम्ति कुनै प्रश्न बन्ने थिएनन् ? आखिरमा यसभित्रको जटिलता र स्वार्थ के होलान् ?

यी प्रतिप्रश्नहरूका लागि हुन् ।

नवराज विक मृत्यु प्रकरणमा अन्याय र न्यायको पक्ष विपक्षका मतभेदका प्रश्न रहेनन् अब । ति ५ जनाको ज्यान जानुको मुख्य कारणको खोजीनीति पनि अर्थहिन बन्न पुगे । यहाँ नवराजको भाव, उसको उद्देश्य र प्रेमले भोगेको दुखान्तको सीमारेखाबारे बहस हुन छाड्यो । यहाँ त केबल प्रश्न छन् अनि उत्तर कसले दिने ?

केही दिन सदनमा उभिएर प्रश्नका थाक लगाउने सांसदहरूको ‘थर’तिर घोत्लिएँ । एकाध बाहेक धेरैजसको थर ‘कथित दलित’ भनिने कोटाकै थिए । यो कोटा भन्ने शव्दलाई निर्ममताका साथ यहाँ लेख्नुको अर्थचाहिँ यहि कोटामा सदन छिरेकाहरूले मात्र उत्तेजनामा प्रश्न राखेका थिए भन्नेसँग जोडिन्छ ।

दलसँग दलित लेखेर दाम कमाउने लहरमा उभिएकाहरूको अनुहार हेर्छु । गाउँबाट दलित उत्थानका निम्ति राजनीतिमा छिरेका तिनको चमक असनमा भारी बोकिरहेको ब्राम्हणसँग तुलना हुँदैन । जबसम्म दलित भन्ने शव्दको व्यापार, मार्केटिङ चल्दैन न राजनीतिमा स्थान चल्छ न कुनै अवसर पाउने ठाउँमा पुग्न सकिन्छ । दक्षताको त प्रश्न उठ्नै हुन्न ।

जान्ने बुझ्ने हरेक क्षेत्रका मानिसले ‘दलित’ शव्दलाई नीजि स्वार्थ र कमाईको मार्केटिङका लागि निक्कै उपयोग गरे । त्यसैले त यहाँ ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत पनि चल्छ, कोटा–कोटाका उपल्ला तहका पद पनि चल्छन् ।

सहर र गाउँका समाज दुईथरी छन् । छुवाछूत व्यवाहार छ । तर गाउँले समाजको त्यो मुद्दाको परिधि र क्षेत्रफलको शुत्र अर्को छ । श्रम र सीपको विभेद छैन, सोच र विचारको विभेद छ । उपल्लो हुँ भन्नेको अहंकार र तल्लो हुँ भन्नेको ग्लानीमा विभाजित छ समाज । यसबीचको खाडल पुर्नुपर्ने अनिवार्यता जहिल्यै मुद्दा बन्यो, समाधान बनेन ।

केही प्रश्न छन् । केही उत्तरका खोजी हुनेछन् । केही अनुभवसँग साक्षात्कार पनि गरिनेछ ।

सामूहिक भात खाएर दलित उन्मुल हुन्छ ? कुनै उपल्लो जात भनिएका मानिसको भान्सामा छिरेर समानता आउँछ ? अथवा अन्तरजातीय बिहे गरेर यसको निकाश निस्किएला ? के नवराज बिक मर्नुपर्ने कारण उसको जात मात्र थियो ?

मलाई भन्न सक्छन्, यो थरले ब्राम्हण भएकाले यसरी बोल्यो । कटु सत्य यो होइन, कटु सत्यचाहिँ समाजको विभेदकारी खाडललाई कायम राखेर राजनीति, गैर सरकारी संस्थाको बजेट, विदेशीले दिने डलरमा रमाउने टाठाहरूको नीजि स्वार्थमा अल्झिएको छ ।

पहिलो, मेरो गाउँ सप्तरीमा मात्र केन्द्रित रहेका डोम जाती छन् । जसको श्रम र सीप भनेको बाँसका चोयाबाट बनाइने अनेक प्रकारका दैनिक प्रयोजनमा आउने सामग्री हुन् । बनाउँछन् । उनीहरू भूमीविहीन छन् । समाजको बस्तीभन्दा केही पर बस्छन् ।

दोस्रो, मेरा गाउँमै चमार छन् । उनीहरू जुत्ता सिलाउनेदेखि बनाउने काम गर्छन् । मरेका चौपायाका छालाहरूबाट दैनिक प्रयोगमा आउने सामग्री बनाउँछन् । तर, गरिब छन् बाक्लो बस्तीभन्दा केही पर नै बस्छन् ।

तेस्रो, मेरा मित्रहरू पासवान छन् । केही अध्ययन गरेका छन् । पत्रकारितामा जमेका छन् । जब म कञ्चनपुर भन्ने ठाउँमा उत्रिन्छु । पहिलो फोन उनीहरूलाई गर्छु । जोसँग बसेर मैले कयन पटक माछा खाजा खाएको छु । सँगै हिँडेको छु । चिया पान गरेको छु । उनीहरू अलिकति सम्पन्न छन्, समाजको बस्तीनजिक छन् ।

मलाई लाग्छ– सदनमा चिच्याएर कराउने कथित तल्ला जातका सांसदहरूका लागि अलग्गै कुर्सी छैनन् होला । तिनीहरूसँग हातेमालो या अंकमाल गर्न अन्यले हिच्किचाउँदैनन् होलान् । दलित भन्दैनन् होला ।

चुनावमा समानुपातिक सूचीमा आफ्नो नाम दलित कोटामा राख्नका लागि बोरामा पैसा बोकेर नेताको दैलो चहार्छन् । जसले अवसरका निम्ति ५ बर्षसम्म गरेको एनजिओको मार्केटिङले थुपारेको पैसाले नेतृत्व खरिद गर्छ, त्यो हो दलित

मलाई लाग्छ– गर्वका साथ नेपाल र नेपालीले क्रिकेटका मैदानमा उत्रिएका सोमपाल कामीको नाम लिन्छन् होला । उनलाई हेयको होइन, देशको शिर उँचो पार्ने खेलाडीका रुपमा लिन्छन् होला ।

दलित महिला संघको एउटा कार्यक्रममा पुगेका बेला बरिष्ठ पत्रकार प्रतीक प्रधानले भनेका थिए– जबसम्म आर्थिक अवस्थामा सुधार आउँदैन, विभेदको एउटा चरण समाप्त हुँदैन । सामाजिक छुवाछूतको प्रचलनको खाडल पुरिन सक्तैन ।

उनको तर्कसँग जोडिएको उदाहरण थियो– मेरा साथी कसमश विश्वकर्मासँग हामी हातेमालो गरेर चिया पिउँछौं, हामीलाई त्यस्तो अनुभूति नहुनुपर्ने कारणको खोजी हुन सक्छ ? यो उनको सबलता, अध्ययन र प्रवलताको परिणाम हो । यसैले समाजमा एउटा पेरीफेरि विचारले र आर्थिक उपार्जनमा अगाडि बढाएर पुर्नु पर्छ ।

नवराज विक प्रकरणको सत्य तथ्यका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग वा अन्य स्वतन्त्र संघ संस्थाका अध्ययन हुने नै छन् । तिनका प्रतिवेदनको आधिकारीता देख्न पाइने नै छ । त्यसमा धेरै टिप्पणी छैन । तर ग्रामिण भेग, गाउँले समाजले गर्ने जातीय विभेदको मुख्य कारण त्यस ठाउँमा समानताको विचारले होइन, व्यवाहारले स्थान पाउन सकेन ।

त्यहि बस्तीबाट केन्द्रमा आइपुगेको माननियको उत्तरदायित्व समाजको समानतामा केन्द्रित हुनुपर्ने थियो, कुनै बाहुन नेताको चाकरीमा मात्र पो बित्यो कि ? दलित नामको मार्केटिङ हुन सकेन भने गाडीघोडाको समस्या हुन्छ भन्ने पिरले पो सतायो कि ?

प्रश्नहरू छन् । समाधानहरू कहाँ छन् ?

यहि समस्या समाधानका निम्ति राज्य संयन्त्रमा जिम्मेवारी दिइएका कथित ‘दलित’ नेताहरूले जात मात्र दलित लेखेनन् । त्यो भन्दा निकृष्टतामा उभिएर स्वार्थ नै दलित बनाए । कोही जातले दलित हुँदैन । थरले दलित हुँदैन । गाउँमा श्रम गरेर बाँचेको त्यो डोम, त्यो चमार भनिनेको पीडा जातसँग होइन, उनका जात भँजाएर खाने आफ्नै विरादरीका नेतासँग हो, सबैभन्दा ठूलो पीडा गरिबीसँग हो ।

जसले हरेक घरका दैनिक आवश्यकमा आफ्ना श्रम र सीपको योगदान गरेका छन् । ति थर जेसुकै लेखुन् महान् छन्, रहन्छन् । तिनको योगदानले चलेको समाजको चक्रिय प्रणालीमा उनीहरूको स्थान अधिक माथि हुन्छ । बस, समाजका अन्य चरित्रमाथि वैचारिक र व्यवाहारिक लेपलाई छिराउन आवश्यक छ । विभेदकारी विचार, भेदकारी अहंकारलाई परै छाड, तिनका कारणले चलेको छ समाज भन्ने ज्ञानको भण्डार फोर भनी आँखा खोल्न केही हदसम्म बाँकी छ ।

ति श्रम र सीपले बाँचेका मलिन्द्र अनुहारहरू यसकारण दलित होइनन् कि, तिनको मन सफा छ । श्रम सफा छ । बस बाध्यता छ त थर लेख्नुमा । त्यो थरभित्र अरुका स्वार्थले गरेको राजनीतिको प्रसव पीडा सामाजिक रुमा भोगीरहनु परेको छ ।

ति तमाम् श्रम र सीपका मालिकहरूलाई सलाम छ । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको पाठ पढेको एउटा गरिब बाहुनले विभेद गर्दैन विभेद त स्वार्थको टाकुरामा उभिएको ‘दलितको मार्केटिङ’ गरिरहेकाले गर्छ ।

मेरा निर्दोष चश्माले देखेका दलितहरू अधिक छन् ।

सहरका गगनचुम्बी महल, होटलका सानदार ठाउँमा चिसो तातो, मिठो पिरो खाएर जो दलितको उत्थानका प्रश्नहरू तेर्साउँछन् । खिरिला अक्षरमा भए पनि डलर आम्दानीको बाटो होस् भनेर समाचार लेखाउन प्रायोजन गर्छन् । ति हुन् असली दलित ।

अझ भनौं–

चुनावमा समानुपातिक सूचीमा आफ्नो नाम दलित कोटामा राख्नका लागि बोरामा पैसा बोकेर नेताको दैलो चहार्छन् । जसले अवसरका निम्ति ५ बर्षसम्म गरेको एनजिओको मार्केटिङले थुपारेको पैसाले नेतृत्व खरिद गर्छ, त्यो हो दलित ।

तितो लाग्न सक्छ यहि सत्य हो कि– दलित जात होइन, त्यो जातका नाममा अवसर र डलर निल्नेहरूका लागि अवसर हो । अहिले पीडा पाउनेको आँसुको वेदना, भाव र महत्व होइन, चलिरहेको छ दलित नामको व्यापार ।

हामीलाई विभेदका नाममा राजनीति, आईएनजिओमा करोड, लाखको सुविधा खाने दलितको समानता होइन, मन्दिर छिर्न नपाउने नियती बाँचिरहेको वास्तविक दलितले घन्टी बजाउने अधिकार पाओस् भन्ने हो । थर लेख्दैमा दलित हुँदैन, थरका नाममा अवसर लिएर अपराध गर्ने व्यवभिचारी वास्तविक दलित हो । समाज बहुत अगाडि निस्किसकेको छ, पछाडि त अवसरवादीको महत्वकांक्षाको ब्रेकले पारेको थियो, हो र छ ।

प्रतिक्रिया
सम्बन्धित