शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

इलाम २ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

दैनिक नेपाल २०८१ वैशाख १८ गते ६:२९

इलाम, १८ वैशाख । इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ ।

यहाँको निर्वाचनमा रास्वपाका लिम्बूलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो ।

निर्वाचनमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । तर रास्वपाका लिम्बूले यहाँ ५ हजार ५० मत मात्र प्राप्त गर्न सक्नुभयो ।

यहाँ  लिम्बूसहित नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूलगायत १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गर्नुभएको हो ।

विजयी हुनुभएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित