जापान । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत्वबीच संवाद अघि बढेको छ। विवादलाई थप लम्ब्याउनुभन्दा आपसी समझदारी र सहकार्यका माध्यमबाट निकास खोज्ने प्रयास भइरहेको छ।
एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपकप्रसाद कँडेलको पहलमा नेपाल हाउससम्बन्धी विषयमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका पदाधिकारी तथा पूर्वनेतृत्वबीच छलफल भइरहेको हो।
कँडेलसँगको प्रत्यक्ष कुराकानीअनुसार संवादमा आईसीसीका तर्फबाट वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष ददिवल खड्का तथा आईसीसीका युवा संयोजक नवीन निउरे सहभागी छन्। त्यसैगरी, एनआरएनए जापानका तर्फबाट वर्तमान अध्यक्ष सुभाष लामिछाने तथा पूर्वअध्यक्षहरू ओम गुरुङ, देबीलाल भण्डारी र शिवप्रसाद पौडेललगायत सम्बन्धित व्यक्तिहरू संवादमा संलग्न छन्।
कँडेलका अनुसार सबै पक्षका धारणा, सुझाव र चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै आपसी समझदारी र साझा सहमतिमा पुग्ने प्रयास भइरहेको छ। तिहारपछि सम्बन्धित पक्षहरूबीच संयुक्त बैठक आयोजना गरी छलफलको निष्कर्ष, आगामी कार्यदिशा र नेपाल हाउससम्बन्धी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिएका छन्।
नेपाल हाउस निर्माणका क्रममा जग्गा खरिद प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि कँडेलको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएको थियो। समितिले अक्टोबर ४ देखि २९ सम्म अध्ययन तथा अनुगमन गरी अक्टोबर ३० मा प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनमा जग्गाको स्वामित्व, क्षेत्रफल, कानुनी अवस्था तथा आर्थिक कारोबारबारे विभिन्न प्रश्न उठाउँदै प्रारम्भिक सम्झौता रद्द गरी भुक्तानी भएको रकम फिर्ता ल्याउन सिफारिस गरिएको थियो।
अनुगमन समितिको प्रतिवेदन सार्वजनिक भएपछि संस्थाभित्र थप बहस र असमझदारी देखिएको थियो। अहिले भने सम्बन्धित पक्षहरूबीच संवादमार्फत विवाद समाधान गर्दै नेपाल हाउस निर्माणको साझा उद्देश्यलाई अघि बढाउने प्रयास भइरहेको छ।
कँडेलले नेपाल हाउस कुनै व्यक्ति वा समूहको मात्र नभई जापानवासी नेपाली समुदायको साझा सरोकार र संस्थागत सम्पत्तिसँग जोडिएको विषय भएकाले सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। यसको निर्माण तथा व्यवस्थापनमा पारदर्शिता, आपसी विश्वास, सहकार्य र सामूहिक हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
लामो समयदेखि विवाद र मतभेदका कारण प्रभावित हुँदै आएको नेपाल हाउसको विषयमा आईसीसी र एनसीसीका वर्तमान तथा पूर्वनेतृत्वबीच भइरहेको संवादलाई सकारात्मक पहलका रूपमा हेरिएको छ। तिहारपछि हुने संयुक्त बैठकबाट साझा सहमति निर्माण भई विवाद समाधानको दिशामा निर्णायक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।
सबै पक्षबीच आपसी विश्वास र सहकार्यको वातावरण निर्माण हुन सके नेपाल हाउस निर्माणको साझा अभियानलाई पुनः एकताबद्ध रूपमा अघि बढाउन सकिने विश्वास गरिएको छ।












प्रतिक्रिया