सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

देश विकासका आधार

दैनिक नेपाल २०८० चैत २८ गते १०:२४

–विजय क्षेत्री 

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन हाम्रा लागि वरदान हो । अन्य देशहरुमा पर्यटकीय स्थलहरु करोडौं खर्च गरेर बनाउनुपर्छ । नेपालमा अरु केही गर्नुपर्दैन, प्रकृतिले दिएको सम्पतिको संरक्षण मात्र गरिदियो भने पुग्छ । हिमाल, पहाड, तराई, डाँडाकाँडा, हरियाली, वनस्पति, जीवजन्तुलाई पर्यटकीय वैभवका रुपमा प्रयोग गर्न सकिन्छ । हाम्रो मौलिकतालाई नै कायम राख्ने हो भने करोडौं खर्च गरेर होमस्टे बनाउनु पर्दैन । हाम्रो हरेक गाउँ पर्यटकीय स्थल हुन् र हरेक घरहरु होमस्टे हुन् । प्रकृतिको सम्पदा र मौलिकतालाई जबसम्म पैसामा रुपान्तरण गरिँदैन, तबसम्म नेपालको विकास हुन सक्दैन ।

नेपालको अर्ग्यानिक विकास नै पर्यटनको मुख्य आधार हो । जलश्रोत नेपालको ठूलो विकास शक्ति हो । यहाँको पानीबाट पुरै एशिया झिलिमिली पार्ने बिजुली निकाल्न सकिन्छ । नेपालमा पाइने ५५ प्रतिशत वनस्पतिबाट पेट्रोल निकाल्न सकिन्छ । हावाबाट बिजुली निकाल्ने प्रशस्तै सम्भावना छ । जमिनमुनी पनि उर्जाले भरिएको छ । तर प्रकृतिले दिएको उपहारलाई हामीले सहि रुपमा सदुपयोग गर्न सकेका छैनौँ । त्यसैले नै हाम्रो विकास कमजोर छ । प्रविधिसँग जोड्न सकिएन भने समृद्धि सम्भव हुँदैन ।

अझै पनि हामी प्रविधिको मामलामा कमजोर छौँ । हामी विकासका नाममा विकसित राष्ट्रहरुको नक्कल गरेर आफ्नो मौलिक कुराहरुलाई बिर्सिंदै गइरहेका छौँ । हामीसँग जे चिज छ त्यसैलाई व्यवस्थित बनाउनु विकास हो भनेर बुझिएन । स्वदेशमा उत्पादन हुने सानो प्याजको मौलिकता र विशेषता बिर्सिएर चीनबाट ल्याइएको ठुलो प्याजलाई विकास भनेर बुझियो । प्रविधिको प्रयोग गरेर आफ्नो मौलिकतालाई समेत उजागर गर्दै अगाडि बढ्न सकेमा मात्र विकास सम्भव छ । जसअन्तर्गत नेपालमा यार्सागुम्बा खेतिको सम्भावनालाई समेत अध्ययन अनुसन्धान गर्नुपर्छ र यसलाई पनि व्यवसायीकरणतिर लैजान जरुरी छ । विविधता हाम्रो पहिचान हो । यो विकासको शक्तिआधार पनि हो । यहाँ काम–काज, व्यवहार, खेतीपाती, आनीबानी, धर्म, संस्कृति, लवाइ–खवाइ देखि हरेक कुराहरु हाम्रा रैथाने सम्पति हुन् । तर यिनिहरुलाई विकास प्रक्रियामा कसरी मूलप्रवाहीकरण गर्ने भन्ने बारेमा स्थानीय सरकार देखि संघीय सरकारसम्मको एकरुपतापूर्ण नीति कार्यक्रम र व्यवहार हुनुपर्छ । यो कार्यले समविकासको भावनालाई प्रवर्धन गर्छ जसबाट समाजमा पछि परेका वर्गहरुलाई माथि ल्याउने सकिन्छ । यसबाट नै समावेशी विकास सम्भव हुन्छ ।

गरिबी नेपालमा विकाउ हुने विकासे मुद्धा बनाइएको छ । यद्यपि गरिब कस्तोलाई भन्ने भनेर प्रष्ट हुन सकिएको छैन् । खान लाउन नपुग्नेलाई भन्ने हो कि, सोच गरिब भएकालाई गरिब भन्ने हो स्पष्ट हुन जरुरी छ । तर साँच्चिकै भन्ने हो भने नेपालमा गरिब नै छैनन् । गरिब थिए भने त यति धेरै कृषियोग्य जमिन बाँझो हुने नै थिएन । अरुमा आश्रित भएर बाँच्ने बानीका कारण यस्तो अवस्था आएको हो । त्यसैले परनिर्भरताबाट माथि उठ्नका लागि खेतिपाती गर्ने र जनशक्तिको सदुपयोग हुनुपर्छ ।

विकासका बारेमा जे जति बहस गरे पनि सबै कुरालाई निर्दिष्ट गर्ने भनेको राजनीतिले हो । यहाँ उल्लेख गरिएका सम्पूर्ण क्षेत्रको विकासको नेतृत्व लिने राजनीतिले भएका कारण राजनीतिलाई इमान्दार र विकासमुखी नबनाएसम्म अपेक्षा गरिएको सुधार हासिल गर्न सकिदैन । त्यसैले राजनीतिक दलहरुले आफू केन्द्रमा बसेर होइन, जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । आफू बिग्रिएर गए पनि राजनीतिलाई बिगारेर जानु हुँदैन । युवा पुस्तालाई पालो नदिनु, राजनीति गर्न न्यूनतम पढाइ, ज्ञान, शिप नचाहिनु, राजनीतिक पद्धति खस्किँदै जानु जस्ता कारणले हाम्रो राजनीति विकासमुखी हुन सकेको छैन् । राजनीतिलाई एउटा देश विकास गर्ने दरिलो खम्बाका रुपमा बुझिनुपर्छ । एकले अर्काको काम र सोचलाई सम्मान गर्ने संस्कारको विकास हुनुपर्छ । सबै दलको मुख्य एजेन्डाका रुपमा देशको हित भयो भने विकास असम्भव छैन । त्यसैले देशको विकासका लागि राजनीतिक नेतृत्वलाई विकासका आयामहरुको बारेमा प्रशिक्षित गर्न आवश्यक छ । यो कार्य हरेक राजनीतिक दलले गर्नुपर्छ । उनीहरुको मूल एजेण्डा भनेकै सामाजिक र आर्थिक विकास हुनुपर्छ । यसो भयो भने नेपालको विकासले गति लिन्छ र यो गति जुनसुकै दलको सरकार आए पनि रोकिँदैन ।

संसारका कुनै पनि देशको विकासका लागि प्राविधिक शिक्षाको महत्वपुर्ण भूमिका रहन्छ । नेपालमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमको प्रभावकारीता न्यूनदेखिएको छ । एकातिर बजारले खोजेजस्तो जनशक्ति पाएको छैन्, अर्को तर्फ जनशक्तिले रोजगारी गर्ने ठाउँ पाएको छैन् । यो रिक्तता पूरा गर्नका लागि प्राविधिक शिक्षालाई जोड दिनुपर्छ । प्राविधिक शिक्षाले कमाउन सक्ने क्षमता बढ्छ । विभिन्न कारणले पढ्न नपाएका व्यक्तिहरु दक्ष हुन सक्छन र उनीहरुको ऊत्पादकत्व समेत बढेर जान्छ । यसले देशको जिडीपी बढाउनसमेत मद्धत पुर्‍याउँछ । शिपविहीन मानिसलाई विकासका काममा जोडेपछि मात्र देश विकास हुन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित