२८ आश्विन २०८३, बुधबार

सिटिजन्स बैंकको २०औँ साधारण सभा सम्पन्न, ४ प्रतिशत लाभांश पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।

सभाले सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। जसअनुसार चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

बैंकले दिएको विवरणअनुसार २०८३ असार मसान्तसम्म कायम १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ चुक्ता पुँजीका आधारमा ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। दुवै शीर्षकमा गरी कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश वितरण हुनेछ।

बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकको पछिल्लो २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ।

साधारण सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई बैंकको कामकारबाहीमा समेट्दै आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै बैंकको समग्र अवस्था अझ सुदृढ बनाउने बताए। साथै, बैंकलाई सहयोग गर्ने सेयरधनी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।

बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याएको छ।

यसैगरी, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म र स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरूलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। त्यसैगरी, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाईमार्फत २० लाख ७८ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिँदै आएको छ।