शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेतृत्व गर्ने चाहना छ ? तीन वर्षको खाका चाहियो कमरेड !

दैनिक नेपाल २०८० चैत १५ गते २१:३२

-कृष्ण केसी

पछिल्लो निर्वाचनको परिणामले नेकपा (एमाले) लमजुङमा सबैभन्दा ठूलो दल हो । यो मत परिणामले देखाएको तथ्य हो । २०७९ को निर्वाचनमा तत्कालिन गठनबन्धनविरुद्ध पनि एमालेले प्रतिनिधिसभामा जित हासिल गरेको छ । चार पालिकामा प्रमुख, पाँच पालिकामा उपप्रमुख र ७५ मध्ये ३७ वडामा एमालेले एक्लै अध्यक्ष जितेको छ । जिल्ला समन्वय एकल बनाएको छ । जिल्लामा जता पनि एमालेको उपस्थिति छ । काम र नाम दुबैले एमाले भेटिँदा पनि हामी भने हराउन पुगेका छौँ– कुहिरोको काग जस्तै । अलमल पनि यस्तो कि जता हावा बग्यो, उतै कुद्ने गरेका छौँ । हावा, हुरी र हुण्डरी आउँदा नढलेको त्यो सतिसाल आजभोलि हावाको सामान्य बहावले पनि किन ढल्न पुग्छ कमरेड !

जिल्लाको विकास र समृद्धि यात्रामा एमाले पर्यायवाची नै बनेको छ । केपी ओली प्रधानमन्त्री हुँदा वा पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा नै किन नहोस्, जुन गाउँ–टोलमा पुग्दा पनि विकास र परिवर्तनको संकेत देखिन्छ । २०७४ पछि र अघिको अवस्थालाई निष्पक्ष अध्ययन गर्ने हो भने जिल्लामा जति पनि विकासको हुटहुटी जागेको छ, त्यो एमालेले नेतृत्व गर्दा नै हो । स्थानीय पालिकाहरुले पनि सक्दो पहलदकमी लिएका छन् । सबै टोलमा स्थानीय सरकारको दह्रो उपस्थिति देखिन्छ ।

यतिबेला लमजुङको एमाले पंक्ति ९औँ जिल्ला अधिवेशनमा छ । यसलाई कतिले दृष्टिविहीनले हात्ती छामेको कथा जस्तै बुझेका छन् । कोही टाउको जस्तो, कोही सुँढ जस्तो, कोही ढाड जस्तो, कोही पेट जस्तो, कोही गर्धन जस्तो र कोही खुट्टा जस्तो एमाले बनाउन खोज्दैछन्, खोजिरहेको छन् । हामीलाई सिंगो हात्ती जस्तै एमाले चाहिएको छ ।

तपाईँको टोलमा सडक छ, मोबाइलमा इन्टरनेट छ, एक घर–एक धारा छ । सामुदायिक भवन छ, केपी शर्मा ओली नेतृत्वको सरकारले सबै पालिकामा एकैपटक शिलान्यास गरेको हस्पिटल अब तपाईं हाम्रो पालिकामा पनि बन्दै छ । अनि तपाईँ हामी नै भन्छौँ, केही भएन । निश्चित रुपमा भनेको जति नभएको पनि हुन सक्छ । नयाँ भन्नेहरुले एउटै डालोमा सबै दललाई राख्दा, सबै उस्तै हुन् भन्दा तपाईँको आवाज किन निस्किँदैन कमरेड ! तर, तपाईँ नेता हो र नेतृत्व गर्नुभएको छ भने एमालेको सरकारका पालामा भएका कामहरुको फेहरिस्त तपाईँसँग छ कि छैन ? कोरा भाषण र अरुलाई धारे हात लगाउनुको सट्टा सत्य, तथ्यसहित आम नागरिकलाई हामी विकास र समृद्धिको यात्राका बारेमा किन बुझाउन सक्दैनौँ ? सबै दल एउटै हुन भन्नेलाई जवाफ दिने तागत किन आएन तपाईँमा ? कसले रोक्यो र किन रोकिनु भयो कमरेड ? एमाले कमजोरीबिनाकै पार्टी हो त म भन्दिनँ तर विकास र समृद्धिको उठान गर्ने, रेखा कोर्ने र ईँटा थप्ने काम एमालेले नै गरेको छ । अनि ‘सय भारी खर काट्ने र सयभारी खरमा आगो लगाउने’ एउटै हो भन्दा किन निस्कदैन तपाईँको मुखबाट आवाज ?

यतिबेला लमजुङको एमाले पंक्ति ९ औंँ जिल्ला अधिवेशनमा छ । यसलाई कतिले दृष्टिविहीनले हात्ती छामेको कथा जस्तै बुझेका छन् । कोही टाउको जस्तो, कोही सुँढ जस्तो, कोही ढाँड जस्तो, कोही पेट जस्तो, कोही गर्धन जस्तो र कोही खुट्टा जस्तो एमाले बनाउन खोज्दैछन् । खोजिरहेको छन् । हामीलाई सिंगो हात्ती जस्तै एमाले चाहिएको छ । एउटा टाउको वा पुच्छर लिएर रमाउने होइन, हामीले सिंगो हात्तीलाई कुदाउँन सक्ने माउते चाहिएको छ । सबै ठाउँमा एउटै व्यक्तिको क्षमता र खुबी सधैँ अब्बल नहुन पनि सक्छ । जहाँ जुन विषयमा जो व्यक्तिको क्षमता र खुबी अब्बल प्रमाणित हुन्छ, उसैले आफ्नो खुबी अब्बल रहेको सीमाभित्र नेतृत्व लिएर टोली नेताको भूमिका खेल्ने तागत राख्नुपर्छ ।

हामी नेता बन्ने कि नेतृत्व गर्ने भन्ने महत्वपूर्ण सवाल हो । हामीलाई शिर उठाउने नेतृत्व चाहिएको छ । गल्ती हुँदा सम्झाउने, बुझाउने र राम्रो गर्दा स्यावास् भन्ने नेतृत्व चाहिएको छ । सबै अवस्थाका सामाना गर्न सक्ने हुनुपर्छ नेता र नेतृत्व । आफ्नैलाई सिध्याउने र अनि आफू पनि सकिने खेल खेल्ने नेतृत्व स्वीकार्य हुन सक्दैन, हुनु हुँदैन ।

नेतृत्व गर्नेहरुसँग एउटा समस्या छः आफ्ना कुरा लाद्न चाहने तर अरूका कुरा सुन्नै नचाहने र खुलमखुल्ला गुटबन्दी गर्ने प्रवृत्ति । यो सर्वथा गलत छ । कार्यकर्ताको दुःख साथ नदिने तर खुसीमा रमाउने चलन पनि छ । अवसर आउँदा आफ्नै मात्र हेर्ने काम परेका बेला कार्यकर्ता सम्झिनेहरुको पनि कमी छैन । आफ्नालाई भन्दा अरुलाई नजिक देख्ने, चुनावमा जिते आफूले गर्दा जितेको र हारे आफ्नैले हराए भन्दै पुरानो रोग एमाले पङ्क्तिमा छ । जिल्ला अधिवेशनमा यी र यस्ता कुरामा बहस हुनु जरुरी छ ।

सरकारी तथा गैरसरकारी संस्थाले आमनागरिकलाई कस्तो व्यवहार गरिरहेको छ ? जनताको काम सहज छ कि असहज ? तोकिएको बजेट सम्बन्धित क्षेत्रमा पुग्यो कि पुगेन ? बजेटअनुसारको काम भयो कि भएन ? त्यो हेर्देनौँ । बरु आफूलाई चाकडी ग¥यो कि गरेन भनेर ती कार्यालय र त्यसका प्रमुखको मूल्याङ्कन गर्ने गर्दछौँ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानमा ती कार्यालय र संघसंस्थाको कति योगदान पुग्यो भनेर मूल्याङ्कन गर्ने बेला भएन र कमरेड !

नेतृत्व ‘इलेक्टेड’ होस् या ‘सेलेक्टेड’ जे भए पनि खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर आम नागरिकको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो । नेता जो पनि हुन सक्छ, नेता हुनलाई पद आवश्यक छैन, तर यदि ऊ नेता हो र पदमा पनि छ भने नेता यस्तो मानिस हो जसले दूरदृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, सबैलाई समान व्यवहार गर्न सक्छ ।

पार्टी जीवनका आन्तरिक कार्यलाई व्यवस्थित गर्नेमध्येको एउटा महत्वपूर्ण कार्य अधिवेशन हो । अधिवेशनले विगतका कार्यको मूल्याङ्कन गर्र्दै आगामी कार्यभार, कार्यनीति र नयाँ नेतृत्व चयन गर्ने हुँदा सिंगो समाज र पार्टी जीवनमा अधिवेशनको महत्वपूर्ण भूमिका रहन्छ । रहनुपर्छ । हामी खाली यसलाई चुनाव भनिरहेका छौँ, जित्ने, हार्ने र हराउने गन्थनबाहेकका केही सुनिएको छैन, बजारमा । एमालेको नेतृत्व गर्छु भन्नेले कम्तीमा ३ वर्षको खाका कोर्नुपर्छ कि पर्दैन, कमरेड ?

नेतृत्व ‘इलेक्टेड’ होस् या ‘सेलेक्टेड’ जे भए पनि खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर आम नागरिकको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो । नेता जो पनि हुन सक्छ, नेता हुनलाई पद आवश्यक छैन, तर यदि ऊ नेता हो र पदमा पनि छ भने नेता यस्तो मानिस हो जसले दूरदृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, सबैलाई समान व्यवहार गर्न सक्छ । त्यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेन । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्दछ भन्ने मानसिकताले समाजलाई लथालिंग बनाइदियो । त्यही भएर राजनीतिक नेता र नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ देखिएका छन् । जसले स्वपरिचालित समाजलाई परामुखी बनाइदिएका छन् ।

अवसर आउँदा आफ्नैलाई मात्र खोज्ने र रोज्ने हो भने एमालेनै भनेर सारा जीवन समर्पण गरेकाहरुको मूल्याङ्कन कहिले हुने हो ? नेतृत्व दिँदा आफ्नै भन्ने, अवसर आउँदा आफ्नै रोज्ने, काम पर्दा मात्र कार्यकर्ता खोज्दै जाने प्रवृत्ति छ । कार्यकर्ता–नेताबीचको सम्बन्ध राजा र रैतीको जस्तो बन्दै गएको छ । यी र यस्तै विचारले समाजवादमा पुग्न सकिएला र कमरेड !

अधिवेशनका बेला नेता बन्न र नेतृत्वमा पुग्न हानथाप हुने गर्छ । एउटा बैठकबाट अर्को बैठक र एउटा अधिवेशनबाट अर्को अधिवेशनमा नेता बन्न आउनेको सबै पार्टीमा लर्को नै देखिन्छ । नेता बन्नका लागि बन्ने र काम गर्नका लागि बन्ने बहस सबै दलहरुमा कमै हुने गरेको छ । नेपालमा मात्रै यस्तो अधिवेशनका बेला राजनीतिमा आकर्षण देखिन्छ । नेताको पदवी पाउन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ । तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निकै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । यी र यस्तै विषयमा जिल्ला अधिवेशनमा गम्भीर बहस र छलफल होस, औपचारिकतामै सीमित नबनोस्, एमाले जिल्ला अधिवेशन ।

प्रतिक्रिया
सम्बन्धित