बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

एमाले संकल्प यात्राको सकारात्मक प्रभाव : दैलेखको पेट्रोलियम पदार्थ उत्खननको कामले गति लियो

दैनिक नेपाल २०८१ वैशाख १५ गते ७:२७

दैलेख, १५ वैशाख । मध्यपहाड क्षेत्रको विकास र समृद्धीलाई लक्षित गरेर नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को सकरात्मक प्रभाव दैलेखको पेट्रोलियम पदार्थ उत्खननमा देखिएको छ ।

पदयात्राका क्रममा गएको मंसिर १८ गते एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीले दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम अन्भेषण स्थलको स्थलगत अवलोकन गर्नुहुँदै पेट्रोलियम पदार्थको उत्खननको कामलाई जोड दिनुपर्ने बताउनुभएको केही समयमै कामले निकै तिव्रता पाएको खानी तथा भूगर्भ विभागको पेट्रोलियम पदार्थ अन्भेषण आयोजनाका प्रमुख दिनेश नापितले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटीको तेस्रो अधिवेशनको तयारीका सन्दर्भमा आयोजना स्थलमा आयोजित बैठकमा आयोजनाको प्रगतिका बारेमा जानकारी दिँदै नापितले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थालगत भ्रमण पश्चात अन्भेषणको कामले अनपेक्षित रुपमा तिव्रता पाएको उल्लेख गर्नुभयो ।

‘डेफिनेट्ली एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यू नेतृत्वको सिंगो एमाले नेताहरुको टोली अन्भेषण स्थलमा आएपछि कामको गति तिव्र रुपमा अघि बढ्यो ।’ आयोजना प्रमुख नापितले कर्णालीका पत्रकारहरुसँग भन्नुभयो, ‘सम्माननीय केपी शर्मा ओली ज्यूले आफै प्रधानमन्त्री भएको बेला सुरुवात गरेका यो आयोजनाको काम बीचका अपेक्षित गति लिन नसकेको बेला भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानले रोकिएको कामलाई थप अघि बढाउने वातावरण कायम सृजना गराएको हो भन्न हामीलाई कुनै संकोच छैन् ।’

सन् २०१९ मा चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चिनियाँ जियोलोजिक सर्भे विभाग र नेपाल सरकारबीच भएको दुईपक्षीय सम्झौता पश्चात सुरु गरिएको अन्भेषणको काम बीचको केही समय अन्योल जस्तै बनेको थियो ।

जलजले देखि पादुकासम्मका विभिन्न क्षेत्रमा सतही रुपमै ज्वाला बलेपछि त्यस क्षेत्रलाई आधार मानेर गरिएको सर्भेपछि सबैभन्दा बढी पेट्रोलियम पदार्थ र ग्याँस पनि हुनसक्ने प्रारम्भीक अध्ययनको निचोडका आधारमा जलजलेलाई बोरिङका लागि छनोट गरिएको हो ।

यस क्षेत्रमा ४ किलोमिटरको गहिराईसम्मको ड्रील गर्ने काम तयारी भैरहेको छ । अन्भेषणात्मक ड्रिलिङ गर्ने काम भएपछि पेट्रोलको परिमाण कति छ ? सतहमा आइरहेको पेट्रोलियम पदार्थ र ग्याँसको मात्रालाई एकिन गर्ने कामका लागि चिनियाँ प्राविधिक र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले काम गरिरहेको आयोजना प्रमुख नापितले जानकारी दिनुभयो ।

अन्तिम प्रतिवेशन २०८१ फागुन १६ गते भित्र

चिनियाँ प्राविधिकले गरेको पेट्रोलियम पदार्थको अन्भेषणको अन्तिम प्रतिवेदन आगामी २०८१ फागुन १६ गते भित्रमा तयार हुने आयोजनाले बताएको छ । ड्रील कार्यका लागि अन्भेषण स्थलमा अहिले १३८ वटा ट्रकको सामान आइपुगेको छ ।

यसमा केही थप भएर १६० वटा ट्रक सामानहरु आइपुगेर सेट गर्ने काम सकिएपछि अबको १५ दिन भित्रमा ड्रिलिङ गर्ने कार्य सुरु हुने बताउनुभएका आयोजना प्रमुख नापितले काम सुरु भएदेखि तीन सिफ्टमा काम गरेर अबको ४ देखि ६ महिना भित्रमा काम सकिने ठोकुवा गर्नुभयो ।

‘अहिलेकै जसरी स्मुथली काम अघि बढ्दै गएमा सुरु भएको ४ महिनामा सकिने भन्ने योजना हाम्रो छ । चीनबाट आउनु पर्ने सम्पूर्ण टेक्निसियन आइसक्नुभएको छ । नेपालीतर्फबाटका कामदारहरुलाई पनि सबै खटाउने काम सकिएको छ । आयोजनाको काउण्टर पाटोका रुपमा भूगर्भ विभागबाटका साथीहरु पनि खटिसक्नुभएको छ । त्यसैले, ढिलोमा ६ महिना भित्रमा ड्रिलको काम सकिने गरी काम हामीले अघि बढाएका छौँ ।’ नापितले थप्नुभयो ।

२०८१ साल फागुन १६ गतेसम्मको सबै काम सकेर विस्तृत प्रतिवेदन बुझाउने गरी अन्भेषण सम्झौता भएको छ । दैलेखको जलजलेमा केन्द्रीत गरेर सुरु भएको पेट्रोलियम अन्भेषण तथा नेपालकै सम्भावनाको बारेमा अध्ययन गर्ने काम चिनियाँ टोलीले गरिरहेको हुनाले आगामी फागुन १६ गते भित्रमा सबै प्रतिवेदन नेपाल सरकारलाई बुझाउने गरी काम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित