बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्यूठानका सांसद सूर्य थापासँग २४ घण्टा

दैनिक नेपाल २०८० फागुन २० गते १९:२७

– गणेश पाण्डे

प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेशको साधारण सभामा सहभागी हुन काठमाडौंबाट दाङ जाने दिन बिहान माननीय सूर्य थापाले भन्नुभयो- ‘तपाईंहरुलाई पनि लिएर म भैरहवाबाट प्यूठान जाने हो, भोलिसँगै दाङको कार्यक्रममा आउँला !’

सूर्य थापा- प्यूठानका निर्वाचित सांसद । हाम्रा नेता अनि आत्मीय दाई पनि । फागुन ५ गतेका लागि आयोजित कार्यक्रमका प्रमुख अतिथि उहाँ आफै हुनुहुन्थ्यो । डेढ दशकअघि प्यूठान पुगेको मेरो लागि धेरै बर्षपछिको यो गज्जबको अवसर थियो । अघिल्लो दिनै भालुबाङ गएर बस्नुभन्दा प्यूठान जानु मेरा लागि अवसर थियो । त्यसैले, चौतारीका महासचिव हिरामान लामा र म सूर्य दाईसँगै प्यूठान लाग्यौं ।

काठमाडौंमा एयरपोर्ट नपुग्दै उहाँको नयाँ कोसेली प्राप्त भयो- स्वतन्त्रता संग्राम । सूर्य थापा कुनै बेला नेपाल पत्रकार महासंघको मञ्चमार्फत गणतन्त्रका लागि आगो ओकल्ने नेता हो । तत्कालिन बुधबार साप्ताहिकका सम्पादक थापा २०६२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सबभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि गणतन्त्रको योद्धाझैं हुनुहुन्थ्यो । त्यतिबेला पत्रकार महासंघको गरिमा सानदार थियो । माओवादी र राज्यको दोहोरो मारमा परेका पत्रकारहरूलाई शाही कदमसँग लड्नु निकै चुनौतिपूर्ण थियो । राजनीतिक दलहरूमाथि प्रतिबन्धजस्तै थियो अनि राजनीतिक गतिविधि ठप्प ।

अहिलेका ठूला दलहरूहरूले गणतन्त्र शब्द उच्चारण गर्न हिचकिचाई रहेका बेला सूर्य दाईहरूकै सक्रियता र पहलकदमीमा नेपाल पत्रकार महासंघले गणतन्त्रलाई मुख्य एजेण्डा बनाएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सूर्य दाई गणतन्त्रको प्रस्तावक हुनुहुन्थ्यो ।

अहिलेका ठूला दलहरूहरूले गणतन्त्र शब्द उच्चारण गर्न हिचकिचाई रहेका बेला सूर्य दाईहरूकै सक्रियता र पहलकदमीमा नेपाल पत्रकार महासंघले गणतन्त्रलाई मुख्य एजेण्डा बनाएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सूर्य दाई गणतन्त्रको प्रस्तावक हुनुहुन्थ्यो । जसकारण पत्रकार महासंघलाई नेपाली ठूला केही दैनिक र आलोचकहरूले समेत आठौं दलको संज्ञा दिएका थिए । राजनीतिक दलहरूले जुलुस निकाल्न हिम्मत नगरेका बेला सूर्य थापाहरू महासंघको ब्यानरमा शाही “कू” विरुद्ध रत्नपार्कमा जेहाद छेड्दै हुनुहुन्थ्यो । सरकारले आन्दोलनका लागि प्रतिबन्ध लगाएको रत्नपार्कमा जुलुस निकालेर कानुन व्यवसायी र पत्रकारहरूले नै पहिलोपटक निषेधित क्षेत्र तोडेका थिए । जसका कारण देशमा गणतान्त्रिक आन्दोलनको माहोल बनेको थियो । यस दौरानमा पत्रकारहरूले कष्टसाध्य संघर्ष भोग्नुपरेको थियो । आन्दोलनको त्यही भोगाई, संघर्ष र ऐतिहासिक दस्तावेजलाई समेटेर थापाले पाँचौ पुस्तक “स्वतन्त्रता सङ्ग्राम” प्रकाशित गर्नुभएको छ । पुस्तकमा तत्कालिन पत्रकारहरू र सञ्चार संस्थाहरू माथि राज्यले लगाएको अभियोग, अदालतका फैसला पनि समेटिएको छ । तत्कालीन बेलाको संघर्षको इतिहासको जानकारी लिन मात्र होइन, अनुसन्धानका लागि पनि यो पुस्तक निकै उपयोगी छ । किताबको केही अंश पढ्दै हामी भैरहवा विमानस्थलमा पुग्यौं ।

जहाजले भुईं टेक्न नपाउँदै प्रेस चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रदीप आचार्य र रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल बिमानस्थलमा आउनुभएको खबर पायौं । केहीबेर उहाँहरुसँग भेटेपछि हामी लाग्यौं, प्यूठानतिर । बीच बाटामा अनेक गफ भए । केही पार्टीका, केही संगठनका अनि केही व्यक्तिगत जीवनका । कपिलवस्तुको चन्द्रौटामा पुगेपछि उहाँ प्यूठानका साथीहरुलाई भेट्न लाग्नुभयो । हामी दैनिक नेपालका सहकर्मी सीताराम चौधरीलाई भेट्न थाल्यौं । दैनिक नेपालका लागि चन्द्रौटामा बसेर योगदान गर्नुभएका चौधरी अहिले स्थानीय विद्यालयको प्रधानाध्यापक हुनुहुँदोरहेछ । उहाँको साथमा स्थानीय पत्रकार साथीहरु रामअवतार चौधरी र दीपक खड्का पनि हुनुहुन्थ्यो ।

त्यहाँबाट हामीसँग यात्रामा जोडिनुभयो, प्यूठानका एमालेका नेता मोहम्मद हलिम हलुवाई । उहाँले आफूलाई ‘सूर्य थापाको वचन हार्न नसकेर माधव नेपालको समाजवादी पार्टी त्यागेर पुरानै घर फर्किएको’ भन्दै चिनाउनुभयो । उहाँहरुसँग पार्टीका अनेक गफ गर्दागर्दै हामी राप्ती तरेर भालुबाङ हुँदै प्यूठानको सरुमारानी गाउँपालिकाका बलराम पोखरेलको पिताजीको निधनमा शोक व्यक्त गर्न ददेरी पुग्यौं । बलराम सूर्य दाईको चुनावको बेलाको चालक हुनुहुँदोरहेछ । गाडी व्यवसाय गरेर आफै चालकको काम गरिरहनुभएका बलरामले नै दिनरात नभनी प्यूठानका ९ वटा स्थानीय तहका ६४ वटा वडामा पुर्याउनुभएको रहेछ । दिनभरि चुनावी कार्यक्रम र भेटघाट अनि आधा निद्रा गाडीमै पुर्याउने उम्मेदवारको दैनिकी भएको रहेछ, अनि राति २/३ घण्टा मात्र निदाउने गर्नुभएको रहेछ चुनावभरि । त्यसैले चालक साथीको घरमा परेको दुःखमा साथ दिनु उहाँले कर्तव्य ठान्नुभयो । र, रातारात पुग्नुभयो । उहाँहरुबीचको आत्मियता र भावनात्मक सम्बन्ध अत्यन्त प्रगाढ थियो । रोचक के रहेछ भने बलराम एमाले अनि उहाँको पिताजीचाँहि काँग्रेस ! तर, सम्बन्ध र भावनालाई पार्टीको पर्खालले मात्र छेक्ने कुरा भएन ।

चालक साथीको घरमा परेको दुःखमा साथ दिनु उहाँले कर्तव्य ठान्नुभयो । र, रातारात पुग्नुभयो । उहाँहरुबीचको आत्मियता र भावनात्मक सम्बन्ध अत्यन्त प्रगाढ थियो

त्यहाँबाट निस्केपछि हामी बास बस्ने ठाउँ प्यूठानको बड्डाँडा पुग्यौं । बड्डाँडामा हलिमजीले आफ्नो घरमा माननीयका लागि एउटा छुट्टै कोठा बनाइदिनु भएको रहेछ– कार्यकर्तालाई भेट्न पनि मिल्ने खालको । हामी खाना खाएपछि केहीबेर त्यहाँ गफियौं । अनि भोलिपल्ट बिहान ५ बजे हिँड्ने योजना बनाएर पल्टियौं ।

बिहान ४:३० बजे नै हामी तयार भइसकेको थियौं । बाहिर झिसमिसे थियो, माण्डवी नदी सुस्केरा हालेर तलपट्टि बगिरहेको थियो । माण्डवीको किनारैकिनार हामी झिसमिसेमै जसपुर चकचके बजार पुग्यौं । बिहान ६ नबज्दै बिजुवार बजार पुगियो । सूर्य दाईको एक फोनपछि प्यूठान नगरपालिकाका पूर्वमेयर अर्जुनकुमार कक्षपति एकैछिनमा हस्याङफस्याङ गर्दै किसान डेरीमा चिया खान आइपुग्नुभयो । प्यूठानको स्थानीय दूधबाट बनेको चियाको चुस्कीसँगै हामी बाग्दुलातर्फ लाग्यौं । यात्रामा प्यूठानका पार्टीका युवा नेता तथा प्रेस चौतारीका केन्द्रीय सदस्य गिरु भण्डारी पनि थपिनुभयो । अलिक पर एमालेको झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमणि पोखरेल पनि थपिनुभयो । समथर भूमि, वरिपरी हरीयाली । मनमोहक छ, झिमरुक फाँट । बिजुवार, बाग्दुला मरन्ठाना हुँदै मच्छीसम्मै यो फाँट फैलिएको छ । सामान्यतया प्यूठान भित्रिने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ । प्यूठान प्राकृतिक सौन्दर्यले भरिपूर्ण र परिपूर्ण छ । पक्की बाटाहरु पनि अब थुप्रै बन्दैछन् । पूर्वाधार र प्रकृति हेर्दैहेर्दै सवा एक घण्टाको यात्रापछि बाग्दुलाबाट मच्छी पुग्यौं । गर्तङ र झिमरुकको मिलनबिन्दूमा माछाको आकार बनेर बसेको बस्ती रहेछ– मच्छी ।

मच्छी दमदमेमा मोहनविक्रम सिंहको पहिले अंशको घर रहेछ, यो उहाँहरूको थलो रहेछ । मोहनविक्रमका बाबु खिमविक्रम हक्की स्वभावका सामन्त थिए रे! मच्छीमा भएको झगडामा उनको गर्धनमा तरबार प्रहार भएको थियो । ठूलो घाउ लागे पनि उनी घरेलु उपचार गरेर बाँचेका थिए । घाउ सेक्न थुप्रै घिउ खर्च भएको हल्ला चलाइएको थियो । त्यसैले प्यूठानमा मोहनविक्रमका बाबुको नाममा गन्धर्वहरुले यस्ता गीत नै बनाएका रहेछन् :

कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती,
जति काट्यो नकाटिने खिमविक्रमको घाँटी !

वल्लो गर्तङ पल्लो झिमरूक बीचमा पर्यो ठाँटी,
काट्दा पनि नछिनिने खिमबिक्रमको घाँटी !

यी गीत २०२०/२५ साल पछिसम्म पनि गन्धर्वहरुले प्रयोग गरिरहेको स्थानीयहरु बताउँछन् । जबकि खिमबिक्रमको घाँटी बिसं २०००साल अघि काटिएको थियो र उनको २०२०-२१ सालतिर मृत्यु भएको थियो। स्थानीयका अनुसार, मोहनविक्रमका बाबु खिमविक्रमका ५ जना घोषित र तीन जना अघोषित गरी ८ वटी श्रीमती थिए रे ! तिनैमध्ये कान्छी बसन्ताकुमारी जिसीको ९१ बर्षको उमेरमा निधन भएको रहेछ । उहाँको निधन भएकोमा शोकमा रहनुभएका छोरा हरिविक्रम र उहाँको परिवारलाई भेट्न सूर्य थापा एकाबिहानै उहाँहरुको घरसम्म पुग्नुभएको थियो । माननीय आउने खबरले अरु पनि नेता, कार्यकर्ताहरू त्यहाँ भेला हुनुभएको थियो ।

तर, संयोग कस्तो थियो भने काठमाडौंमा मोहनविक्रम सिंहकी कान्छी पत्नी दुर्गा पौडेल घरमा सानीमा सासु बितेको ४ दिनको जुठोमै शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे भोजमा हुनुहुन्थ्यो । २०७९ को चुनावमा उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका सूर्य थापा भने दुर्गाको एकाघरका देवर भेट्न प्यूठानमा पुग्नुभएको थियो– त्यो पनि काठमाडौंबाट झण्डै १८ घण्टाको यात्रापछि ।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट सांसद बन्ने लालचमा रहनुभएकी पौडेल सोही पदका लागि आफ्नो संस्कार भुलेर शोकमा पनि देउवालाई रिझाउन पुगेको देख्दा प्यूठानका आफन्त र मतदाताहरु निकै रिसाएका थिए । उहाँ शोकको घडीमा त्यहाँ पछि पुगेको जानकारी पनि भएन ! मच्छीमा शोक व्यक्त गरेपछि हामी फेरि फर्कियौं बिजुवार । भेटघाटका कार्यक्रम अझै बाँकी नै थिए । अधिवक्ता एवं पत्रकार महासंघ प्यूठानका संस्थापक सदस्य मेघराज भट्टसँग बाटोमै भलाकुसारी भयो । बिरामी परेका पार्टीका केन्द्रीय सल्लाहकार शोभाराम भण्डारीलाई बिजुवारको अस्पतालमा पुगेर भेटेपछि बल्ल दाङ फर्कने यात्राको तरखरमा हामी जुट्यौं । त्यहीबीचमा सांसद थापाले भालुबाङ–प्यूठान बाटोको निर्माणमा भइरहेको प्रगति हेर्नुभयो । सुन्दर जिल्ला प्यूठान पुग्नका लागि अहिले पनि कहालीलाग्दो साँघुरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडकले कयौंको अकालमा ज्यान लिइसकेको छ । २०६१ साल माघ ८ गते शुक्रबार दाङको देउखुरी सोनपुरबाट बेहुली लिएर गएको बस प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटना भएको थियो । त्यस दुर्घटनामा बेहुला, उनको घरपरिवार र जन्ती गरी ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । बेहुली भने भाग्यले बाँचेकी थिइन । अहिले यो साँघुरो र नागबेली घुम्तीको भीर कटिङको काम भइरहेको छ ।

अब यस ऐतिहासिक सडकलाई दुई लेनको सडक बनाउने गरी सूर्य थापाले निर्वाचित भएदेखि नै पहल गरिरहनुभएको रहेछ । यो काम पनि छिट्टै आवश्यक बजेटको प्रबन्धसहित अघि बढ्ने विश्वास उहाँले यात्राको क्रममा हामीलाई सुनाउनुभयो । भालुबाङदेखि प्यूठानसम्म दुई लेन बनाउने कार्यक्रम २०७९/८० देखि १ करोड बजेट शीर्षकका साथ कार्य थालनी भएकोमा देवीस्थानदेखि गनाहासम्म ३.७५ करोड र चकचकेदेखि लिवाङसम्म ३.७५ करोड एवं सडक सुरक्षामा उल्लेख्य ढंगले काम भइरहेको देख्न सकिन्छ । मोड काट्ने, फराकिलो बनाउने र कमजोर स्थानमा दुई लेन ढलान गर्ने काम सँगसँगै भइरहेको रहेछ ।

यसका साथै, प्यूठानको बाग्दुलादेखि बाग्लुङको भिमगिठेसम्म ७३.६ किलोमिटर लामो दूरीको सडक कालोपत्रे गर्ने योजना पनि छिट्टै ठेक्का लागेर सुरु हुने क्रममा रहेछ । यसअघि टेण्डर भइसके पनि भारतीय ठेकेदार कम्पनी कोल्याप्स भएकोले पुरानो ठेक्का रद्द गरेर अहिले फेरि नयाँ शिराबाट काम सुरु हुँदै रहेछ । हाल ट्रयाक खोलिएको सडकलाई ७ मिटर चौडा बनाएर ५ मिटर कालोपत्रे गरिने यस योजनाको बाग्दुलादेखि अर्खा र भिमगिठेसम्म कच्ची सडक निर्माण भइसकेको छ । सडकले प्यूठान नगरपालिका, झिमरुक र गौंमुखी गाउपालिका क्षेत्र प्यूठानतर्फ समेट्दो रहेछ । र, यो सडक बनिसक्दा कोइलाबास-कोरला त्रिदेशीय सडकले लुम्बिनी, स्वर्गद्वारी, गौमुखी, रिडी-रेसुंगा, ढोरपाटन र मुक्तिनाथ जोड्ने महत्त्वपूर्ण साँस्कृतिक कोरिडोर मार्ग बनेर यस क्षेत्रको कायापलट नै हुने विश्वास उहाँको रहेछ।

यात्रुबाहक बस बीच बाटोमै रोकेर मानिसहरु धुइरिएका थिए । पछि थाहा भयो, एक जना महिलाले बसमै बच्चा जन्माइछिन् ।

प्यूठानबाट बिदा हुँदै गर्दा बड्डाँडा बजारमुनि सडकमा मानिसहरुको भीड लागेको देखियो । यात्रुबाहक बस बीच बाटोमै रोकेर मानिसहरु धुइरिएका थिए । पछि थाहा भयो, एक जना महिलाले बसमै बच्चा जन्माइछिन् । उनलाई स्वास्थ्य चौकीमा लैजान एम्बुलेन्स बोलाइएको रहेछ । भालुबाङमा प्रेस चौतारीको कार्यक्रममा भाग लिएर सूर्य थापा त्यही दिन बेलुका काठमाडौं फर्किनुभयो । चुनाव जितेपछि जिल्ला नफर्कने नेताहरुभन्दा उहाँको पहिचान प्युठानमा निकै फरक रहेछ । हरेक हप्ताजसो माननीय जिल्लामा आउने भएपछि त्यहाँका राजनीतिक दलहरु मात्र होइन, प्रहरी प्रशासन पनि उत्तिकै सजग रहेछन् ।

सूर्य थापा जतिबेला प्यूठानमा चुनावको अन्तिम तयारीमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँलाई काठमाडौंमा उडाउँदै सम्पादकीय लेखिएका थिए । कतिपय मिडिया र सामाजिक सञ्जालले त ट्रोल नै बनाएका थिए । तर, लामो भविष्य बोकेका युवा नेता सूर्य थापालाई प्यूठानी जनताले भारी मतका साथ जिताएर पठाइदिए । चुनाव जितेर जनतालाई धन्यवाद दिँदै उहाँ सबै वडा र टोलहरूसम्म पुग्नुभयो । उहाँको विजयको खुसीयाली र सम्मानमा हजारौं किलो अथवा झण्डै ३/४ ट्रकभन्दा बढी माला उनिए र मतदाताहरूले उहाँलाई लगाइदिए ।

कुरा नचपाई प्रस्तुत हुने, मसिनोसँग जिम्मेवारी फत्ते गर्ने खुबी भएकै कारण उहाँले ‘पारसमणि’सँग तुलना गर्नुभएको थियो । ‘पारसमणि’ बन्दै प्युठान जिल्लामा पार्टीलाई स्थापित गर्न सूर्य थापाले धुलोमैलोसँग लडीबुडी र मेहेनत गर्नुभयो ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ‘पारसमणिले छोयो भने माटो पनि सुन बन्छ’ भन्ने उदाहरण पस्कँदै केही बर्ष पहिले सूर्य थापालाई ‘पारसमणि’को उपमा दिनुभएको थियो । कुरा नचपाई प्रस्तुत हुने, मसिनोसँग जिम्मेवारी फत्ते गर्ने खुबी भएकै कारण उहाँले ‘पारसमणि’सँग तुलना गर्नुभएको थियो । ‘पारसमणि’ बन्दै प्युठान जिल्लामा पार्टीलाई स्थापित गर्न सूर्य थापाले धुलोमैलोसँग लडीबुडी र मेहनत गर्नुभयो । नयाँ कार्यविभाजनपछि उहाँ अहिले गुल्मी जिल्ला इञ्चार्ज हुनुहुन्छ । जिल्लाका सबै अर्थात् १२ वटै पालिकामा प्रशिक्षण चलाउने सम्भवतः गुल्मी नै नेपालका ७७ मध्ये पहिलो जिल्ला बनेको छ ।

सांसदसँग जनताका अनगिन्ती अपेक्षा छन् । एक त नीति निर्माणमा केन्द्रीत हुनुपर्ने मूल भूमिका छ । अर्कोतर्फ, ससाना सुखदुःखमा पनि जनताले घर आँगनमै देख्न चाहन्छन् । काठमाडौंमा आउने प्यूठानीहरूका दुःखमा मल्हम लगाउनुपर्ने दायित्व पनि उत्तिकै छ । सीमित श्रोत, साधन र समयले यी सबै कुरा गर्न एक जना सांसदलाई पक्कै पनि सजिलो र सम्भव छैन । झन् पार्टी प्रतिपक्षमा रहेको र चौतर्फी घेराबन्दीको बेला जो छ, यस्तो अवस्थामा पनि प्यूठानमा सबै पार्टीका नेता, जनप्रतिनिधिहरूसँग सौहार्द्र सम्बन्ध राखेर अनुकूल वातावरण सिर्जना गर्दै जनतामा सिनर्जी दिन उहाँ सफल हुनुभएको देख्दा अत्यन्तै खुसी लाग्यो ।

२०७९ मंसिरमा सांसद निर्वाचित भएपछि सांसद सूर्य थापाले विगत १४ बर्षमा अरू सांसदले संसदमा प्यूठानको विषयमा नबोलेको भन्दा बढी यो १४ महिनामै बोल्नु भएको छ । अनि १४ महिनामा १४ बर्षमा प्यूठानका सांसद पुगेको भन्दा बढी पटक गृहजिल्लाका कार्यक्रम, भेटघाट र छलफलमार्फत जनताको बीचमा पुग्नुभएको छ । प्यूठानको विकासका सम्बन्धमा काठमाडौंमा सरोकारवाला भेट्ने, योजना बनाउने र घच्घचाउने त उहाँको दैनिकी नै छ ।

प्रतिक्रिया
सम्बन्धित