शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सपनाका सौदागर

दैनिक नेपाल २०८० फागुन ३ गते २०:२०

-सञ्जय प्रधान, दार्जीलिङ । सपना सबैले देख्छन्, म पटक्कै सपना देख्दै देख्दिनँ भन्ने व्यक्ति विरलै पाइएला । चाहे निदाएको अवस्थामा होस् वा जागो रहेको अवस्थामा होस् कुनै न कुनै सपना अवश्यै देख्छन् । यो त भयो व्यक्तिगत सपनाको कुरा । यहाँ चर्चा छ सपना देखाउनेहरूको, जसले वाकपटुताको कौशलद्वारा घुमाउरो भाषा प्रयोग गरेर लोभलाग्दा थुप्रै प्रलोभनहरू देखाउँछन्, थुप्रै वाचाहरू गर्छन्, सुनौलो भविश्यको सपना देखाउँछन् । यस्ता धेरै आउँछन् जसले आफ्नो फाइदाका लागि जनताको सपनाको व्यापार गर्दछन् । यस्ता सपना देखाउनेको बारेमा चर्चा गर्दा अघि आउँछ राजनैतिक नेता ।

राजनीति भनेको समाजको सङ्गठनात्मक शक्ति, समाजको संरचना, समृद्धशाली समाज निर्माणको लागि अग्रगामी विकासको मार्गमा लैजाने रथ, सुशासन र सामाजिक न्यायको प्रवाह हो । राजनीति नयाँ, सकारात्मक र उन्नत भविष्यतर्फ प्रेरित गर्ने माध्यम हो । स्वच्छ परिष्कृत राजनीतिले समाजमा सकारात्मक परिवर्तन चाहनेहरूलाई प्रेरणा दिने कार्य गर्दछ । राजनीति सकारात्मक रुपमा सामाजिक परिवर्तनको उचाइमा पुग्ने माध्यम हो, जहाँ मानिसहरूले बलियो र सक्षम समाज निर्माण गर्न सक्छन् । राजनीतिले जनतालाई एकजुट हुन अनि सामाजिक, आर्थिक र राजनैतिक समस्याहरूको समाधान खोज्न प्रेरित गर्नसक्छ, जसले गर्दा बलियो र आत्मनिर्भर समाज निर्माण हुन्छ । राजनीतिले सामाजिक, आर्थिक र राजनैतिक सुधार गर्न सक्छ, जसले समृद्ध समाज साथै समृद्ध राष्ट्रको दिशामा सहयोग गर्दछ ।

तर सत्य यस्तो छ, राजनीतिमा सपनाका सौदागरको प्रभाव सशक्त छ, जसले जनतालाई भ्रममा पार्छन् । राजनीतिको घुमाउरो भाषा अर्थात जगलरी भाषा प्रयोग गरेर प्रायः जनतालाई सुनौलो भविष्यको चित्र देखाउँछन्, तर उसको राजनैतिक उद्देश वास्तविकता पछाडि लुकेको हुन्छ । उनीहरूको बहसले मानिसहरूलाई भ्रमजालमा पारेर वास्तविक मुद्दाहरूबाट ओझेलमा पार्छन् । वर्तमान समयको राजनीतिमा यस्तै सपनाका सौदागरको वर्चस्व बनेको छ । राजनीतिमा सपनाका सौदागरले जनताको भावनालाई आफ्नो कार्यस्थल बनाउँछन्, अनि त्यही भावनासित जोडिएका मुद्दाहरूलाई ब्राण्ड बनाएर मार्केटिङ गर्छन् । सबैभन्दा घातक हो विभाजनको रणनीति, यसलाई अप्रत्यक्ष रूपमा प्रयोग गरेर ‘डिभाड एण्ड रूल’ अर्थात ‘विभाजन गर अनि शासन गर’ । सपनाका सौदागरले किसिम किसिमको सहुलियत र प्रलोभनद्वारा धर्म, जात र क्षेत्रका आधारमा समाजलाई विभाजन गर्ने प्रयास गर्छन्, जसले एकता र अखण्डताको भावनाको बदलीमा विभाजन निम्त्याउँछ । सुनौलो भविष्यको सपना देखाएर वास्तविकता लुकाएर झूटो वाचा, संकल्पको सहारा लिने गर्छन्, जसका कारण जनता दिग्भ्रमित हुन्छन्, अन्योलमा पर्छन् । यी सबै कारणले राजनीतिक क्षेत्रमा सपनाको सौदागरले जनतालाई भ्रममा पार्नसक्ने, र त्यसले निर्णय गर्ने क्षमतामा असर पार्ने प्रष्ट हुन्छ ।

राजनीतिमा सपनाका सौदागरले मानिसहरूलाई बहकाउन सक्छन् । यस्ता नेताहरूले प्रायः आफ्ना उत्कृष्ट गुणहरू र कार्यषैलीहरू देखाउँछन्, तर यो सामान्यतया उनीहरूको कार्यहरूसँग मेल खाँदैन । हिजोआज सबैभन्दा बढी राजनीतिमा नेताहरूले सामाजिक सञ्जाल प्रयोग गर्छन् । सामाजिक सञ्जालको प्रयोग पनि एउटा महत्त्वपूर्ण कारण हो, जसले मानिसहरूलाई भ्रमजालमा लपेट्ने गर्दछ । नेताहरूले आफ्ना विचारहरू र सपनाहरू प्रचार गर्न सोसल मिडिया प्रयोग गर्छन्, तर यसमा कयौं आशावादी सपनाहरू प्रस्तुत गरिएको हुँदा मानिसहरूलाई प्रायः बहकाउने कार्य मात्र हुन्छ । राजनीतिमा सपना देखाउने नेता विकासशील समाजतर्फ प्रेरित गर्न एक उत्तम माध्यम हुनसक्छ, तर यदि यसलाई दुरुपयोग गरियो भने, यो मानिसहरूलाई भ्रमित गर्न सक्षम हुनसक्छ । सर्वोच्च अखण्डता, संवैधानिकता र सार्वजनिक हितप्रति साँचो प्रतिबद्धताबिना सपनाका सौदागरले जनताको विश्वासलाई कम गर्नसक्छ ।

पाँच वर्षमा आउने चुनाव एउटा इमान्दार, कार्यशील, जनताको अघि गरिएका वाचाहरू पूरा गर्ने जनप्रतिनिधी चुन्ने माध्यम हो । यही माध्यमबाट सत्ता सम्हाल्ने जनताको सरकार गठन हुन्छ । चुनावको बेला भोट माग्दा जनताका अघि गरिएका वाचा र सङ्कल्प पूरा गर्न नेता र उनको दल पछि पर्छन् । चुनाव जितेपछि कतिपय नेता जनताको अघि देखिँदैनन्, केवल आफ्नो पार्टीका कार्यकताहरूका साथमा सोसल मिडिया बढी देखिन्छन् । चुनावको बजारमा दृढ विश्वासका साथ जनताका अघि सङ्कल्प गरेर सपनाका सौदागर चुनाव प्रक्रियालाई बहकाउने माध्यम बन्छन् ।

सपनाका सौदागरले चुनाव प्रक्रियामा वाचा र सङ्कल्पको खेल खेल्छन् । राजनीतिज्ञहरूले प्रायः वाचाहरू गर्छन् जुन निश्चित रूपमा राख्न सकिँदैन, र यसले वास्तविक मुद्दाहरूप्रति मानिसहरूको अविश्वास बढाउँछ । राजनैतिक सपनाका सौदागर प्रायः भ्रामक भविष्यसँग सम्बन्धित हुन्छन् । उनीहरूले वास्तविकता लुकाउन सक्छन्, र मानिसहरूलाई आफ्नो सपना कायम राख्न भ्रमित पार्न सक्छन् । जनताको आकाङ्क्षा, समस्या र सपनाहरूलाई पूरा गर्ने वाचा गर्दै चुनावको बजारमा मुद्दाको मार्केटिङ गर्छन् । तर, भोट जितेपछि चुनावको बजारमा गरिएका वाचा र सङ्कल्पहरू कति पूरा हुन्छ त्यो जनता स्वंयले बुझ्न सक्छन् । पाँच वर्षको कार्यकाल सपनाहरू र वाचाहरू पूरा गर्ने, पार्टीको साङ्गठनिक कार्य, घरि एउटाबाट अर्को पार्टी, अर्को पार्टीबाट अर्कोमा, विपक्षीसित तर्कातर्कीका साथै यस्तै वकालतीमा नै समाप्त हुन्छ । फेरि अर्को चुनाव आउँछ, सपनाका सौदागर आउँछन् अनि मुद्दा उही हुन्छ समस्या समाधान र सपना पूरा गर्ने । यसैले जनताले पहिचान गर्नुपर्ने समय हो सपनाका सौदागर, असल नेता र असल राजनैतिक दल ।

प्रतिक्रिया
सम्बन्धित