बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

दैनिक नेपाल २०८१ वैशाख १५ गते १४:५१

रौतहट, १५ वैशाख । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनि नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन् ।  मन्त्री परिवर्तनसँगै योजनाको बाँडफाँडको विषयमा उत्पन्न विवादको कारण पूर्वाधार विकास कार्यालय रौतहट मारमा परेको छ।

योजनाकै विषयमा दुईदलबीच भागबण्डाको सहमती नहुँदा प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार विकास कार्यालयका कर्मचारी माथि कमिसनको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

पूर्वभौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद पक्ष र वर्तमान मन्त्री सरोजकुमार यादवको कार्यकर्ताबीच भएको अडानको कारण अहिले पूर्वाधार कार्यालय रौतहट बदनाम खेप्नु परेको छ ।

नेपाली कांग्रेस पार्टीले जिल्ला समन्वय समिति रौतहटमा ज्ञापनपत्र बुझाएको छ । कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादव जितेन्द्रको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुले समन्वय समितिका सभापति रामअयोध्या राय यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै सभापती जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गर्नुभएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनुअघि कमिशन लिइरहेको कांग्रेस सभापती जितेन्द्र यादवले बताउनुभएको छ ।

योजना बिक्री गरेर प्रमुख विनोद ठाकुरसहितका कर्मचारीहरु सिंगो पूर्वाधार विकास कार्यालयलाई बदनाम गराइरहेको र इन्जिनियर रामबाबु साहले खुलेआम १५ प्रतिशत दरले कमिशन माग्ने गरेको कांग्रेसको आरोप रहेको छ ।

भौतिक पुर्वाधार विकास मन्त्री यादवको निर्देशनमा जिल्लामा विनियोजित बजेट रकमी चलखेलको आधारमा बिक्री वितरण भइरहेको तथा उभोक्ता समितिबाट १० प्रतिशत रकम लिएर मात्रै भुक्तानी दिइरहेको पनि उनीहरूले आरोप लगाउँदै बुधबार नेपाली कांग्रेस रौतहटले कार्यालयमा तालबन्दीसमेत गरेको थियो ।

उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख विनोदकुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गर्नुभएको छ । उहाँले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भएपनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिनुभएको छ । अब मात्र मेरो जागिर डेढ महिना बाँकी छ यदी मेरै कारण कांग्रेसका नेता कार्यकर्तालाई कठिनाई भएको छ भने म अहिले राजीनामा दिन तयार छु प्रमुख ठाकुरले बताउनुभएको छ ।

यसअघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण योजना उहाँहरुकै निर्देशन अनुसार वितरण भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय मातहतपछि डिभिजन सडक कार्यालय मर्ज गर्दा सोही कार्यालयसँग सम्बन्धित केही योजना बाँकी रहेको छ । पूर्वमन्त्रीसँग सम्बन्धित कांग्रेस जिल्ला सभापति सुनिलकुमार यादव जितेन्द्र लगायत नेता कार्यकर्ता आएर ती सबै योजना हाम्रो पालामा आएको हो, त्यो सबै योजना हामीले भने अनुसारको हुनुपर्ने अडान राखेका छन् ।

उता वर्तमान मन्त्री सरोज कुमार यादव पक्षले कांग्रेस नेताको निकट भएको योजना छ भने उहाँहरू लाई दिनुस् बाँकी योजना हामीले भने अनुसार हुनुपर्ने अडान लिएका छन् । यसै विषयमा रौतहटका सिडिओ हिरालाल रेग्मीले आफूले अवस्थाको बारेमा जानकारी दिएर यो समस्याको समाधान दुबै दलका नेता बसेर टुंगो लगाउन आग्रह गरेको भौतिक पूर्वाधार विकास कार्यालय गौरका प्रमुख विनोदकुमार ठाकुरले स्पष्ट पार्नुभएको छ ।

तर कांग्रेस सभापति जितेन्द्रसहित कांग्रेसका नेताहरु त्यसो नगरेर बलपूर्वक कार्यालयमा तालाबन्दी गरेर झुठा आरोप लगाएको ठाकुरले जानकारी दिनुभएको छ । सडक डिभिजनसँग सम्बन्धित झण्डै २० करोड रुपैयाँको योजना वितरण गर्न बाँकी रहेकाले दुवै दलका नेताहरु प्रदेश स्तरमै बसेर सहमती गरेर काम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

उता कांग्रेस नेता कार्यकर्ताहरु आफ्नै अडानमा कायम रहेका छन् । कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान नहुने तथा रकम फ्रिज गराएर जिल्लाको जनताको साथ अन्याय हुने भएकाले त्यसो नगरी तुरुन्त समाधानको बाटो पहिल्याउन जानकारहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित