मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

उपनिर्वाचनले राजनीतिक दिशा देखाएको छ : महासचिव पोखरेल

दैनिक नेपाल २०८१ वैशाख १८ गते २०:०८

बर्दिया, १८ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताउँदै जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको बताउनुभएको छ । एमाले बर्दियाको १०औं अधिवेशनको उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

‘२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो ।’ उहाँले भन्नुभयो, ‘संसदमा नेपाली कांग्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम कांग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’ आफूले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै अब एमालेले सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिने उहाँले बताउनुभयो । आउने चुनावपछि एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामाथ्र्यमा पुग्ने महासचिव पोखरेलले बताउनुभयो ।

उहाँले एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समयमा जातिय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै उनीहरुको राजनीति सकिएको उल्लेख गर्नुभयो । उहाँले भन्नभयो –‘जातीय नाममा रेशम चौधरीले गरेको राजनीतिको अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातीय राजनीति रुचाउन छोडे ।’

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका महासचिव पोखरेलले अधिवेशनमा शुभकामना मन्तव्य दिनुहुँदै १०औं अधिवेशनले बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न निर्देशन दिनुभयो ।

जिल्ला अधिवेशन उद्घाटनमा एमाले सचिव पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एमाले केन्द्रीय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरुलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्दसत्र आजै राति ८ बजेदेखि सुरु हुने छ । तीन सय ६४ जना प्रतिनिधि रहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

बन्दसत्रले पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित