मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड सामाजिक सञ्जाल’

युवराज रोइला २०८० कार्तिक २८ गते २१:३६

काठमाडौं, २८ कात्तिक । अहिलेको युग प्रविधिको युग हो । व्यक्तिगत वाक स्वतन्त्रता नेपालको संविधानले दिएकै छ । प्रविधिको प्रयोग गरेर जुनसुकै व्यक्तिले उसको बौद्धिक क्षमताको विकास गर्न सक्छ । बौद्धिक क्षमता भएको मानिसले सर्वप्रथम आफू स्वयमलाई बुझ्छ । त्यसपछि क्रमश: उसले परिवार बुझ्छ, परिवारका सदस्य बुझ्छ, समाज बुझ्छ, समाजका सदस्य बुझ्छ, राष्ट्र बुझ्छ र राष्ट्रका सदस्य बुझ्छ ।

वर्तमान परिप्रेक्ष्यमा प्रविधिको अधिकांश प्रयोगकर्ताहरूमा माथि उल्लेखित कुराहरूको ज्ञानको परिपक्वता नभएको पाईन्छ । जसले परिवार, परिवारको सदस्य, समाज, समाजको सदस्य, राष्ट्र, राष्ट्रको सदस्य आदि कुराको बारेमा ज्ञान राख्दैन त्यस्ता व्यक्तिहरुले अहिलेको अवस्था सिर्जना गरेका हुन । प्रविधिको प्रयोग गर्ने तर प्रविधिले परिवार, समाज र सिंगो राष्ट्रलाई पार्ने दूरगामी असर र प्रभावको बारेमा चेतना नहुने, प्रविधिको प्रयोग गर्ने तर कन्टेण्ट के पस्किने चेतना नहुँने, बरु लाइक्स र कमेन्टको ध्यान दिने आदि कारणले आजको अवस्था सिर्जना भएको हो ।

प्रविधिको विकास हुनुपू्र्व चिट्ठीपत्रको जमाना थियो । एक ठाउँबाट अर्को ठाउँमा चिट्ठीपत्र पुग्न कतै महिनौं लाग्थ्यो त कतै वर्ष पनि लाग्थ्यो । तर जति समय लागेपनि चिट्ठीपत्रप्रति मानिसको छुट्टै विश्वास थियो । एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी पुग्दा गलत र भ्रामक सन्देश प्रवाह हुँदैन थियो । चिट्ठी आउँदा मानिसहरूले स्वयम् प्रेषक नै प्रापक समक्ष आए झैँ हुन्थ्यो ।

तर अहिले प्रविधि प्रयोगकर्ताहरूलाई हेर्ने हो भने व्यक्तिको चरित्र हत्या गर्ने, परिवार, सामाज र सिंगो राष्ट्र र राष्ट्रियता प्रतिकुलका अमर्यादित र अमानवीय जस्ता कार्यमा लागेको पाइन्छ । त्यही प्रविधि हो जसको प्रयोगले मानिसले परिवार बनाउँछ, समाज बनाउँछ र फलस्वरूप सिंगो राष्ट्र बन्छ र राष्ट्रियता जोगाउँछ । उदाहरणका रूपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई लिन सकिन्छ ।

एक हिसाबले सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निर्णय गर्नु उचित नै हो । कुन अर्थमा उचित भने प्रविधि (टिकटक)को दुरुपयोग गरी परिवार बिथोल्ने, समाजमा अमर्यादित, उच्छृंखल र संवेदनाहीन कार्य गर्ने जस्ता मानवको नामका पशुतुल्य मानवका निम्ति यो नै एक उचित कडी हो । तर एक हिसाबमा सरकारको यो कार्यलाई गलत पनि भन्न सकिन्छ । किनकि जसले टिकटकको माध्यमबाट परिवार र समाजमा चेतना फैलाउँछ, वरिवार, सामाज र राष्ट्र बुझेको छ, मानवीय संवेदनाहीन भएको छैन, अमर्यादित र उच्छृंखल व्यवहारबाट टाढा छ आदि गरिएका मानिसका निम्ति यो निर्णय गलत हुन जान्छ ।

अन्तमा सामाजिक संजाल टिकटक मात्र नभई फेसबुक, इन्टाग्राम, टुईटर लगाएत सामाजिक संजाललाई समेत बन्द हैन नियमन गरिनु जरुरी छ । जसले गर्दा व्यक्तिको वाक स्वतन्त्रताको समेत कदर हुने देखिन्छ । सामाजिक संजाल बुढापाकाको उखान जस्तो, ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ ।

प्रतिक्रिया
सम्बन्धित