आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

भूमिगत बसेको ठाउँमा उभिएर ईश्वर पोखरेलले मदन भण्डारी सम्झिएपछि…

दैनिक नेपाल २०८१ वैशाख १६ गते ७:२५

धनुषा, १६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोर्डिनेश केन्द्र, माले हुँदै नेकपा (एमाले)को स्थापनामा धनुषाबासीको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

धनुषाको क्षेत्र नं. २ (क) मुडिवा टोलमा नेकपा (एमाले)ले आयोजना गरेको पार्टी प्रवेश तथा वृहतसभालाई सम्बोधन गर्दै पोखरेलले धनुषा जिल्ला र मुडिवा क्षेत्रका जनताको योगदान नभएको भए नेकपा (एमाले) यति शक्तिशाली नहुने स्मरण गराउनुभयो । ‘अहिलेको नेकपा (एमाले) यहाँका जनताको विश्वास, इमान्दारिता, पार्टीप्रतिको समपर्णणका आधारमा बनेको छ ।’ उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) जहिलेसम्म रहन्छ । त्यतिबेलासम्म धनुषा जिल्ला र यो ठाउँका जनताको हमेसा विश्वास गरिरहन्छ ।’

उहाँले सुरुवाती दिनमा पार्टी संगठनमा यही क्षेत्रमा भूमिगत बसेर काम गरेको पनि स्मरण गराउनुभयो । ‘यो पटक यहाँ आउँदा त्यतिबेला हामीलाई आश्रय दिने धेरै साथीहरुसँग भेटभयो । भेट हुँदा धेरै खुशी लाग्यो । त्यतिबेला पार्टी बचाउन र हामीलाई सुरक्षा दिन ठूलो योगदान गरेको स्मरण गराउन चाहन्छु ।’ उहाँले भन्नुभयो, ‘जगदेव गोइवार, सोखीलाल मण्डल, रामअवतार मण्डल, जितन दासहरु नेकपा (एमाले)लाई बचाउने खम्बाहरु हुन् । म उहाँहरुसबै धन्यवाद भन्छु, स्मरण गर्न चाहन्छु । कुनै समय यहीँ धनुषा पार्टीको मुख्यालय बनाएर बसेका थियौँ ।’

जननेता मदनकुमार भण्डारी सबैभन्दा पहिला धनुषा जिल्लामा भएको सम्मेलनबाटै केन्द्रीय कमिटीमा आउनुभएको पनि उहाँले स्मरण गराउनुभयो । ‘त्यसकारण पनि धनुषा जिल्लाको महत्व छ । कतिपय साथीहरुले गिरफ्तार भएर जेल गएर पनि हिम्मतका साथ, बहादुरीका साथ कम्युनिष्ट पार्टी बनेको हो ।’ पोखरेलले भन्नुभयो, ‘यहाँका जनताको एमालेप्रतिको माया र उत्साहले हामीले खुशी छौँ ।’

कोर्डिनेशन केन्द्र र मुक्ति मोर्चाबीच २०३४ भदौ १४ गते विधिपूर्वक एकता भएपछि कोकेको तेस्रो सम्मेलन २०३५ साउन ४–९ मा धनुषाको ठेरा कचुरीमा सम्पन्न भएको थियो । सोही सम्मेलनमा मदन भण्डारी केन्द्रीय कमिटीमा आउनुभएको थियो । त्यो सम्मेलनले ६ महिनाभित्र क्रान्तिकारी पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यतिबेला पूर्वको रातो झण्डा समूह, क्रान्तिकारी सन्देश समूह र अन्य भूमिगत संगठनहरु पनि कोकेमै गाभिएका थिए ।

धनुषा सम्मेलनको निर्णयअनुसार २०३५ पुस ११ देखि १७ गतेसम्म मोरङको इटहरामा सम्मेलन भयो र सम्मेलनले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) अर्थात् ‘माले’ को स्थापना भएको थियो । पोखरेलले नेकपा (एमाले), कांग्रेस, माओवादी वा अरु पार्टी नभएको र एमाले जनताको पार्टी भएको पनि स्मरण गराउनुभयो । ‘यो हिमाली, पहाडी, मधेशी, हिन्दु, मुस्लिम, बौद्ध सबैको पार्टी हो,’ उहाँले भन्नुभयो, ‘एमालेलाई सकाउन चौतफी हमला हुँदा पनि एमालेलाई सकाउन सकेनन् त्यो जनताको तागतका कारण हो । एमाले जनताको तागतमा बाँचेको पार्टी हो भन्ने सन्देश पनि हो, यो । गौरवपूर्ण इतिहास भएको पार्टी हो, यो जनताको हितमा काम गर्ने पार्टी हो ।’ पोखरेलले एमाले मधेशमा जन्मिएको पार्टी भएको पनि स्मरण गराउनुभयो ।

‘कोर्डिनेशन केन्द्र होस या माले, एमाले हुँदा नै किन नहोस् सबै नेताहरु मधेशलाई नै आधार क्षेत्र बनाएर पार्टी संगठनमा लागेको गौरवपूर्ण इतिहास छ । यो सबै तराई–मधेशका जनताको योगदानकै कारण भएको हो ।’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो पार्टीलाई आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा बहुमतसहितको ठूलो पार्टी बनाउन पनि मधेसका जनताको योगदान रहने अपेक्षा गरेका छौँ ।’

अहिले एमाले ठूलो पार्टी भए पनि तीनवटै तहको एकल नेतृत्व गर्ने अवस्थामा एमाले नभएको भन्दै एमालेले बहुमत ल्याएर सरकार चलाएको अवस्थामा देशविकासको अभियान ठिक ढंगले अघि बढ्न सक्ने उल्लेख गर्नुभयो । ‘आगामी दिनमा एमालेलाई बहुमतसहितको ठूलो पार्टी बनाउन सबै लागौँ,’ उहाँले भन्नुभयो, ‘हुलाकी राजमार्ग होस् या तराई–मधेशमा सिँचाईका लागि सुनकोशी मरिन डाइवर्शन, तराई मधेसमा गरेको जनता आवास कार्यक्रम होस् या रेलमार्ग यी सबै केपी ओली प्रधानमन्त्री रहेका बेला भएको पनि स्मरण गराउन चाहन्छु ।’

कार्यक्रममा केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिट्ब्यूरो सदस्य लिलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले पनि आगामी निर्वाचनमा केन्द्र र प्रदेशमा बहुमतसहित नेतृत्व गर्ने र स्थानीय तहमा शक्तिशाली हुने गरी काम गर्ने मिसनसहित एमाले लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश र जिल्ला तहका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायतका दल परित्याग गरी १ हजार भन्दा बढीले पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित