
वीरगञ्ज, ३० वैशाख । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले शनिबार तीनवटा एक्स्काभेटर लगाएर भत्काएको छ ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताउनुभयो । “श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ,” नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन रहेको छ, त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।” महानगरले मन्दिरको मूलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको छ ।
नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबार स्पष्ट नभएको पनि दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो “हामीले १२ दिनअगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि भत्काएका हौँ ।” यस मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।








प्रतिक्रिया