बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रचण्डको चितवनको यो घरबारे बुझ्नुपर्ने ६ कुरा

दैनिक नेपाल २०७९ असोज ११ गते १०:०९

काठमाडौं, ११ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नयाँ घरमा सरेका छन् । सोमबार प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा बाजागाजासहित सरेका हुन् ।

काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन् । अस्वस्थ रहेकी पत्नी सीतालाई चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेको प्रचण्डको सचिवालयले जनाएको छ । तर प्रचण्ड भरतपुरमा बनेको नयाँ घरमा बस्न नसक्ने टिकाटिप्पणी भएको छ ।

यस्तो छ प्रचण्डको चितवनको घरबारे पत्रकार भानुभक्त आचार्यको ६ टिप्पणी:

पत्रकार भानुभक्त आचार्य

१. पहिलो कुरा त प्रचण्ड यो घरमा बस्न सक्दैनन् — कारण डर । जनयुद्धको रापतापका कारणले हुनसक्ने प्रतिहिंसा । उनी सकेसम्म बढी औपचारिक र छद्म सुरक्षाकर्मीहरू लिएर मात्रै हिड्छन् । ती सबैको व्यवस्थापन यो घरमा हुनसक्दैन ।

२. दोस्रो, दर्जनौं ठाउँको ठेक्का अलपत्र पारेर पैसा मात्रै पोको पार्ने शारदाप्रसाद अधिकारीले प्रचण्डलाई यो घरमा बस्न दिँदैनन् । नत्र उनको ठेकेदारी साम्राज्य ढल्छ । त्यो ढल्नु भनेको माओवादी केन्द्रको आर्थिक स्रोत कमजोर हुनु हो ।

३. तेस्रो, प्रचण्डको वैध आम्दानी भन्दा खर्च धेरै छ । राज्यको कुनै निकायले इमान्दारीपूर्वक यो घर बनाउने स्रोत खोज्नु हो भने प्रचण्डलाई कानुनी अप्ठेरो पर्छ ।

४. चौथो, झण्डै तीन दशकयता नेकपा माओवादी केन्द्र (र यसका विगतका विभिन्न संस्करणहरूको) अध्यक्ष रहँदा त्यस पार्टीको एउटा मुख्य नारा भनेको केन्द्रीय नेताहरूको व्यक्तिगत सम्पति नहुनु । सबै राज्यका नाउँमा हुनुपर्छ भन्ने अडान । प्रचण्डले समेत घर बनाए पछि माओवादी केन्द्र त्यो अडानबाट पूर्ण विचलित भएको भन्न सकिन्छ ।

५. पाँचौं, राजा महिन्द्र मल्लले काठमाडौंका सबै जनताले खाना खाइसकेपछि मात्रै आफू खाना खाने चलन बसाले जस्तै प्रचण्डले सानो घर बनाएर नेकपा माओवादीका सबै नेता–कार्यकर्ताले कम्तिमा यौटायौटा घर बनाउन सकेको र युद्धपछिको समयमा न्यूनतम समृद्धि हासिल गरेको सन्देश दिन पनि सक्छ ।

६. छैठौं, यो घर अब आउने आमचुनावमा चितवनको जनतालाई झुक्याउने राजनीतिक प्रोपगन्डा मात्रै नबनोस् । प्रचण्डले आफ्नो बाँकी जीवन यही घर र आसपासमा सत्सङ गरेर बिताउन् ।

प्रतिक्रिया
सम्बन्धित