शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सुकुम्बासीको पक्षमा अध्यक्ष ओली, डोजर आतंक बन्द गर्न आग्रह

दैनिक नेपाल २०८१ वैशाख २० गते १६:२५

काठमाडौं, २० बैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताउनुभएको हो ।

बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्न तिर लाग्न आवश्यक छ । सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरुलाई व्यवस्थापनकालागि लाग्न आवश्यक छ ।’

जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी सरकारमा आएका छौं । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् । जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’

आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उहाँले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिँए भोकमरीले कोही मर्दैनन् । अर्कोपटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दा पनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाउ भन्न मिल्दैन ।’

प्रतिक्रिया
सम्बन्धित