बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

आफैलाई पर्दा…

टंक पन्त २०७७ पुष २९ गते १२:४६

टंक पन्त

जब शरीरका सबै अंग दुख्न थालेपछि अफिसबाट सधैभन्दा दुई घण्टा अगाडि सिर्जना बहिनीलाई टाउको दुखेझै भयो भन्दै घरतिर लागे । मलाई घर पुगेर कतिखेर सुतौँ भन्ने भैरहेको थियो । तर, घर पुगेर सामाखुशीसम्म पुग्नै पर्ने थियो । त्यहाँ पुगेर एकैछिन बसे । मसंग छोरा इशान पनि साथमा गएका थिए । बाबु इशानलाई पिंकुको सानो नानीसंग जति खेले पनि नपुग्ने । एकै छिन न पापा भन्दै थिए । अनि एकै छिन बसाइँ त भयो तर समय कसरी बित्यो मलाई पत्तै भएन । अनि घरतिर लागे र घर जानासाथ बिस्तरामा पल्टिहाले । त्यसपछि त झन् पछि झन् शरीर दुख्दै गयो ।

छोरी इशिकाले गुर्जो पानी, स्टीमका लागि तातो पानी र तातो पानीमा खुटटा चोभ्ने ब्यबस्था पनि गरिदिइन । मलाई स्टीम लिने, खुट्टा चोभ्ने जांगर पनि पटक्कै थिएन । किनकि शरीरका हरेक पार्ट दुखेर सहि नसक्नु भैरहेको थियो । अहिलेको परिस्थितिमा लक्षण नमिल्दो पनि थिएन तर मैले सबैलाई तनाब किन दिने भनेर कसैलाई पनि भनिन । मैले भनिरहे चिसोले नै यस्तो गराएको हो आत्तिनुपर्दैन । त्यहि बेला लामो समयपछि वुवा पनि बुटवलबाट काठमाडौं आउनुभएकोे थियो । उहांले पनि चिसोले नै होला भनी मकरध्वज औषधि महमा पिनेर खान दिनुभयो । सधैसंगै सुत्ने छोरालाई छोरीले लगिन । रात जति लम्बिदै गयो त्यति मेरो शरीरका हड्डी समेत दुख्न थाले । निकै गाह्रो गरी रात बित्यो र बिहान भयो । अनि उहि गुर्जो पानी हनी पानी स्टीम लिएर घाममा बस्न कोशिष त गरे । न बस्न हुन्छ न सुत्न हुन्छ तैपनि बिस्तरामा गएर पल्टिए । गाह्रोपिरो गरी दिन त कटने तर, रात कटाउन निकै सास्ती हुने प्रक्रिया जस्तो भयो ।

जति दिन बढ्दै गयो त्यति गाह्रो हुँदै गयो । तीन रात त सुत्नै भएन । दिउँसो थोरै कम भए जस्तो हुन्छ राति भएपछि सुत्नै नहुने । बसे पनि उठेपनि, सुते पनि शरीरका सबै अंग दुख्ने । कसलाई के भनौ । पहिलो रातपछिको दुई रात त मेरा लागि जीवन पनि अन्धकार जस्तो भयो बत्ति बाल्दा पनि उज्यालो देखिदैन । आँखाले काम नगरेको हो कि दिमागले काम नगरेको दुखाइले भ्याउ नै पाइएन । अनि ती रातहरूमा त के–के सोँचे–सोँचे जुन कुरा भन्न पनि सक्दिन । आफूले आफैलाई अहिले असंभब छ भन्छु र पनि अकल्पनीय कुरा सोँचे । जति गाह्रो भएपनि जुनबाटो म जानै दिन्न भन्ने अठोट पनि गरेकै थिएँ ।

जुन बेला बुटवलमा रहनुभएकी आमा र अफिसको कामले केही दिनका लागि बाहिर गएकी मेरी श्रीमती मीनुलाई सम्झिए । त्यो रात रात्रिकालीन प्लेन चल्ने भैदिएको भए आइहाल न भन्ने स्थितिमा पुगेको थिए । बुवा र छोरीलाई उठाउँछु भनेर उठ्न खोजे तर, पहिले प्रयासमा बत्तिको प्लग समेत भटाउन सकिन । त्यसपछि एकैछिन बिस्तरामा पुग्न पनि सकिन त्यहि मेरा आंखाबाट धेरै आशु बर्षिएछन् । अनि बिस्तरामा पुगेपछि मेरो गञ्जी समेत लछप्पै बिझेको । धेरै चाहिने नचाहिने कुरा सोँचे । एकैछिन पछि मैले अझै गर्नुपर्ने जिम्मेबारी छभन्ने सोचे अनि आफैलाई सम्हाले र आत्मबल बढाउने कोशिष गरे । यदि साथमा मीनु भएको भए यति अफ्ट्यारो हुँदा अस्पताल लगिसकेकी हुन्थिन वा थप बल दिने थिइन भन्ने सोँचे ।

जुन बेला फेरि भाबबिह्वल भए । जति रोक्न खोजे पनि रोक्नै सकिन । त्यसै भएर होला अर्को दिन मीनुले म धनगढीको कार्यक्रम अर्को पटक गरौला म आजै आउँछु नि भन्दै थिइन तर, कति आउने जाने गर्ने काम सकेर आउन त भने । अनि कुरा गर्दा गर्दै अघिल्लो रातलाई सम्झिए त्यसपछि एकै छिन बोल्न पनि सकिन निकै भक्कानिए छु । बाहिर प्रशिक्षण दिन गएकीलाई धेरै कुरा गरेर दिमागलाई डायभड नगर्ने पक्षमा थिए त्यसैले पनि अघिल्ला दिनमा भएका कुनै पनि अफ्ट्यारो अबस्था बारेमा बताइन । उनलाई मात्र होइन कसैलाई बताइन र यो सामग्री तयार पार्दासम्म पनि बताएको छैन । हुन त मैले अफ्ठ्यारो प¥यो भनेको भए हाम्रै घर तल्लो फलोरमा बस्ने बस्याल परिवार र जोडिएकै घर खडका परिवार जस्ले पनि सहयोग गर्नुहुन्थ्यो त्यो सहयोगी भावना उहाँहरूमा छ तर, मैले नभनेर नै हो । अन्य सहयोगी हात निकै थिए । मैले भनिन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले एक वर्ष पूरा गर्न थालेको थियो । नेपालमा पनि ११ महिना भएको छ । नेपालमा कोरोना महामारीबाट जोगिन लकडाउन भएको एक हप्ताबाटै थोरै थारै समय कार्यालय जान थालेको र सोही समयमा चार पाच पटक बुटबल, गुल्मी पनि गएको र दुई महिनापछि त नियमित रुपमा कार्यालय जाँदा पनि जोगिएकै अबस्था थियो । अहिले आएर कतैबाट छोए होला कि क्या हो भन्ने आशंका नभएको पनि होइन । पिसिआर जाँच गराउने पक्षमा म थिइन । किनकि पीसीआर जाँच गराउँदा पोजेटिभ देखायो भने सबैलाई थप तनाब हुन्छ भन्ने मलाई लाग्यो । जे भएपनि उपचार पद्धति अपनाउने आफैले हो भन्ने लागेरै पनि त्यसतर्फको सोचाइ बनाइन ।

५ दिनसम्म पर्खिए । किनकि दुइ चार दिन अलिक गाह्रो हुन्छ भन्ने कुरा म आफू पत्रकार भएको हुनाले सुनेको मात्र होइन अरुले बताएको कुरा निकै नै लेख्दै पनि आएको थिए । यसर्थ केही दिन पर्खिनुपर्छ भन्ने सोचेको पनि हो । तर ५ दिनसम्म पनि सामान्य ज्वरो, खोकी बाँकी नै रह्यो, नाक मुख सुक्ने, शरीरका सबै अंग प्रत्यंग दुख्ने, टाउको दुख्ने भैरह्यो । अनि घरबाट १५ मिनेटमा हिडेरै पुगिने ग्राण्डी अस्पताल गएर चिकित्सकसंग राय लिए । उहाँले पीसीआर जाँच गराउन भन्नुभयो, केही औषधि पनि लेखिदिनुभयो । मैले पीसीआर जाँच गराउन लागिन । पीसीआर गराउँदा पोजेटिभ देखायो भने सबैलाई तनाब हुन्छ भन्ने मेरो बिश्लेषण थियो नै । अर्को कुरा पोजेटिभ आएपनि नआएपनि आफैले आफैलाई गर्ने न हो भन्ने मनमा लाग्यो अनि नजिकै रहेको आमन्त्रण फार्मेसीमा पुगेर औषधि लिएर निकै गाह्रो गरी घर फर्किए ।

अन्य समयमा १५ मिनेटको बाटो त्यसदिन मलाई एक घण्टाभन्दा बढी नै लाग्यो । बाटोमा तीन चार ठाउँ बसे । छोराछोरीलाई साथमै लिएर आउन पर्दो रहेछ भन्ने पनि लाग्यो । घर नजिकै रहेको पवित्र धार्मिकस्थल हरिहर मन्दिर, हरिहर सन्यास आश्रममा केही समय बिताएँ । निर्मल ब्रम्हमचारीजीले तपार्ईले आत्मबल बढाउनुभएकोले जित्न सक्नुहुन्छ भनेर थप बल दिनुभयो । त्यस्तो बेला कसैले भेटेर ढाडस दिदा पनि सहज अनुभुति हंँदो रहेछ । यस्तो बेला बास्तबमा भित्री मनदेखिको आफनो भन्ने सोचाइँ पनि आउँदो रहेछ । हुन त मैले अस्वस्थ भए भनेर सामाजिक संजालबाट सूचना पनि दिइन । अफिस र आफै थाहा पाएर सोध्ने र भेटन आउनेलाई बाहेक कसैलाई पनि भनिन । १० दिनसम्म त मोबाइल पनि अफ गरे । कुरा गर्न पनि पटक्कै जांगर लागेन । जब मोबाइल अन गरे त्यसपछि त स्वाथ्यलाभ र भेटनआउने धेरै जनाको उपस्थितिले मलाई थप आत्मबल बढाउँदै गयो ।

शरीरका सबै अंग दुख्ने त्यसमा पनि ढाडको कुनै पार्ट कहिले, अर्को कुनै पार्ट कहिले बढी दुख्ने समस्या अलिक बढी नै भयो अनि मैले जस्ले सोधे पनि उनीहरूलाई त्यहि कुरा बताए, कतिपय अति नजिकका जसले मलाई राम्रो रुपमा लिन्छन उनीहरूलाई पनि बताइन किनकि म आफै बताउन सक्ने अबस्थामा पनि थिइन । ज्यान चलाउँदा पनि निकै गाह्रो हुँदा त छोरा इशानले अफिस गएर धेरै कुर्सीमा बसिरहेको कारणले होला यसरी दुखेको अब देखि अफिस कम जानु है अब पनि कति अफिस गैरहनुहुन्छ बरु मैले केही गर्न मिल्छ भने गर्छु नि भन्दै थिए । ११ वर्षको छोराले घरमा बरु धेरै रेण्टमा लगाउँ हामी थोरै ठाउमा बसौ अनि खर्च पुगि हाल्छ नि भन्दा त निकै भाबुक पनि भएँ । जे होस निकै गाह्रो भएको समयमा छोरी इशिका र छोरा इशान प्रमुख सहारा र आड भरोषामा खरो उत्रिए जसले गर्दा पनि मुटु बलियो बन्दै गयो ।

खास गरी शरीरका सबै पार्ट, हात खुट्टाका औला– औलाका जोर्नी समेत दुख्ने अनि चल्न चटपटाउन पनि नहुंदा बितेको एक बर्षमा कैयौ हजारले यो जटिल समस्या भोग्नुपरेको सम्झिए । अनि कतिकति बेला कस्ता भेट्रान चिकित्कले समेत ज्यान गुमाउनुपरेको पनि सम्झिने स्थिति पनि नआएको होइन । मेरो सिगो परिवार मात्र होइन मलाई सम्झने र मैले पनि सम्झनेका अगाडि मलाई कुनै पनि हालतमा केही हुँदैन भन्ने आत्मबल पनि धेरै पटक बढाउँदा बढाउँदै पनि धेरै थोक सम्झिए त्यसलाई पनि पार गरेर आज मैले यो अनुभुति सहितको सामग्री लेख्न बसेको हुँ । मलाई थाहा छ यो आर्टिकल पढेर मेरा परिवारबाट पनि किन नभनेको भन्ने भनाई सुन्नुपर्ने छ । तर कहिलेकाही यस्तै हुँदो रहेछ । यस्तो अफ्ट्यारो कसैलाई पनि नहोस । बिरामी त कति कति बेला सबै हुन्छन नै तर यो खालको बिमार कसैलाई नलागोस । नयाँ जीवन पाएको भन्न पनि मन छ तर त्यस्तो भनु पनि कसरी ।

जब केही कम हुँदै गयो तर छटपटी हुन थाल्यो के के भए जस्तो हुने अनि असहज हुने अबस्था पनि एक दुई दिन आयो । हिडेर कतै टाढा पुगेर आउ जस्तो हुने तर दुई पाइला हिड्यो कि फत्राक फुत्रुक जस्तो हुने गरी गलिने । यसरी दिन बित्दै गए । करीब १४ दिनपछि बल्ल तल्ल हिडन सक्ने भएँ । थोरै समय भएपनि अफिस जान थाले । तर थोरै हिडेपनि गाह्रो हुने, धेरै समय कम्प्युटर, ल्यापटपमा बस्दा पनि गाह्रो हुने भएकै छ । अझै केही समय थोरै काम धेरै रेष्ट गर्नुपर्ने छ । यस बिषम परिस्थितिमा सबैले आआफनो ख्याल गर्नुबाहेक अर्को बिकल्प रहेनछ । (लेखक टंक पन्त वरिष्ठ पत्रकार हुन्)

[email protected]

प्रतिक्रिया
सम्बन्धित