बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

उपनिर्वाचनले नेपालको राजनीतिक शक्ति एमाले भएको पुनः पुष्टि भयो : बोगटी

दैनिक नेपाल २०८१ वैशाख १९ गते ८:५४

काठमाडौं, १९ वैशाख । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले इलाम र बझाङको उपनिर्वाचनको अन्तिम परिणामले एमाले नेपालको एकमात्र राजनीतिक शक्ति भएको पुष्टि गरेको बताउनुभएको छ ।

‘सिंगो राष्ट्रको ध्यान केन्दित गर्दै सम्पन्न भएको उपनिर्वाचनको परिणामबाट चौतर्फी घेराबन्दी गर्दापनि दुबै क्षेत्रका न्यायप्रेमी मतदाताहरुले नेकपा (एमाले)का सूर्यध्वजाबाहक उम्मेदवारहरुलाई विजयी गराउनुभएको छ ।’ एमाले सुर्खेत जिल्ला इन्चार्जसमेत रहनुभएका नेता बोगटीले भन्नुभयो, ‘यसबाट नेकपा (एमाले) को नेतृत्व, नीति, सिद्धान्त, विचार र कार्यक्रमप्रति आम नेपाली जनताको दृढ विश्वास रहेको विषय छर्लङ्ग भएको छ । त्यतिमात्र नभएर यो परिणामले नेकपा (एमाले) साच्चै आम नेपाली जनताको रोजाईको पार्टी एवम् नेपाली जनताको भरपर्दो राजनीतिक शक्ति भएको विषय पुन: पुष्टि पनि भएको छ ।’

उहाँका अनुसार परिणामसँगै एमालेको मिसन ०८४ को लक्ष्य पूरा गर्ने एक बलियो आधार पनि बनेको छ । गाउँमा मतदाताको लहर एमालेको नीति, सिद्धान्त र विचारमा अडिक रहेको भएपनि बीचका राजनीतिक बिचौलियाका कारण एमालेप्रति नकरात्मक भ्रम सृजना गरेकै कारण एमालेको जनमत तलमाथि गराउने काम भएको उल्लेख गर्नुभएका नेता बोगटीले त्यसलाई चिर्न सबै तहका कमिटिहरुले आफ्नो भूगोल र क्षेत्रमा खट्नु पर्नेमा जोड दिनुभएको छ ।

उपनिर्वाचनबाट विजयी प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ र सुदुरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीलाई बधाई दिँदै उहाँले इलाम र बझाङका नेकपा (एमाले)का नेता, कार्यकर्ता तथा मतदाताहरुप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित