सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

औपचारिकतामा सीमित हुँदै कांग्रेस महासमिति

दैनिक नेपाल २०८० फागुन ८ गते ७:५३

काठमाडौं, ८ फागुन । सत्तारुढ नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमितिको बैठक सोमबार ललितपुरको गोदावरीमा सुरु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरे । मुलुकको पुरानो तथा संसद्को ठुलो दल कांग्रेस फागुन १० गतेसम्म चल्ने महासमिति बैठकबाट देशमा विद्यमान आर्थिक, राजनीतिक मात्र होइन, सामाजिक क्षेत्रमा पनि नयाँ नीति र कार्यक्रम ल्याउने पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले आशा र अपेक्षा गरेका छन् ।

त्यति मात्र होइन, विगतमा बसेका कांग्रेस महासमिति बैठकले लिएका निर्णयले मुलुकमा राजनीतिक दूरगामी असर पारेकाले सत्ता साझेदार दल मात्र होइन, विपक्षी दलले समेत कांग्रेस महासमिति बैठक निकै चासोका साथ हेरेका छन् । तर कांग्रेसका नेताहरू मुलुकमा अहिले विद्यमान समस्याहरूलाई निकास दिनेभन्दा महासमिति बैठकलाई आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने दाउपेचका रूपमा मात्र उपयोग गर्ने रणनीतिमा पुगेका छन् । देशका यावत् समस्यालाई निकास दिने उपायको खोजीको साटो समस्या औंल्याएर आफूलाई अब्बल साबित गर्न सक्रिय हुँदा कांग्रेसको जारी महासमिति बैठक औपचारिकतामै सीमित हुने संकेत देखिएको छ ।

महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्ने विधानको व्यवस्थालाई पनि कांग्रेसले लत्याउँदै आएको छ । अहिलेसम्म पार्टीका कुनै पनि संरचनालाई पूर्णता दिन नसकेको कांग्रेसले १४औं महाधिवेशनमा पनि नीति महाधिवेशनपछि गर्ने भन्दै नेतृत्व मात्र चयन गरेको थियो । नीति महाधिवेशन होइन, विधानमै व्यवस्था भएको महासमिति बैठक पनि कांग्रेसले बल्ल गरेको छ । महाधिवेशन भएको बाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था विधानले गरेको छ ।

१४औं महाधिवेशन भएको दुई वर्षपछि पहिलो पटक सुरु भएको महासमिति बैठकमा पेस गर्ने प्रस्तावसमेत कांग्रेसले सोमबार रातिसम्म टुंगो लगाउन सकेको छैन । पार्टीको विधान संशोधन गर्नेगरी केन्द्रीय समितिबाट कुनै प्रस्ताव पास नगरेको कांग्रेसमा तत्काल कुनै सांगठनिक संरचना परिवर्तन हुने अवस्था छैन ।

सभापति शेरबहादुर देउवासहित बहुमत नेता अहिलेको गठबन्धनकै पक्षमा देखिएका छन् तर महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिमा पेस गरेको सांगठनिक प्रस्तावमा गठबन्धनको विरोध गरेका छन् । केन्द्रीय समितिको बहुमतको निर्णयविपरीत थापा उक्त विषयमा संशोधन गर्न सोमबार राति अबेरसम्म तयार देखिएका छैनन् । त्यसले मंगलबार बिहानदेखि चार प्रस्तावमाथि हुने भनिएको छलफलसमेत प्रभावित हुने देखिएको छ ।

उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्ता गठबन्धनको वकालत गरेका छन् भने महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनबारे अहिले नै छलफल आवश्यक नभएको औंल्याएका छन् । तर थापा भने आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने प्रस्ताव महासमिति बैठकबाटै पारित गर्नुपर्नेमा अडिग छन् । यही विषयमा कांग्रेसका शीर्ष नेताहरू अलमलिन पुग्दा मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक विषय कांग्रेस प्राथमिकतामा परेको छैन । महाधिवेशनपछि कांग्रेस सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठक औपचारिकतामा मात्र सीमित हुने विश्लेषण गर्न थालिएको छ ।

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठले महासमितिबाट पार्टीलाई एकताबद्ध बनाएर लैजानेसहितको राम्रो सन्देश दिनुपर्ने बताए । क्षेत्र–क्षेत्रबाट पार्टीका नेता तथा कार्यकर्ता उत्साहसाथ महासमिति बैठकमा सहभागी हुन आएका बताउँदै उनले भने, ‘देशभरका साथीलाई पार्टी एकताबद्ध छ, यहाँ अन्याय हुँदैन भन्ने सन्देशसहित आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने गरी सन्देश दिएर फिर्ता पठाउनुपर्छ ।’

महासमितिलाई केवल औपचारितामा सीमित हुन नदिने तर्क गर्दै उनले भने, ‘नयाँ पार्टी के कस्ता हुन् भन्ने जनताले थाहा पाइसकेका छन् । कांग्रेस थप जनमुखी हुनसके आगामी निर्वाचनमा कसैले पनि रोक्न सक्दैन ।’

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रस्तावमा पनि वर्तमान गठबन्धनप्रति कांग्रेस थप इमानदार हुने कुरा समावेश हुने दाबी गर्दै श्रेष्ठले भने, ‘अहिलेको गठबन्धनलाई धक्का नपर्ने गरी यसलाई अघि बढाउने र आगामी निर्वाचनमा भने तालमेल नगरी कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्ने विषयलाई समावेश गरिनेछ ।’

अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने अवस्था नभएकाले चुनावपछि भने मन मिल्ने दल सत्ता गठबन्धन गरेर जान सकिन्छ भन्ने निष्कर्ष नेताहरूको रहेको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित