सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नागढुंगा–नौबिसे सुरुङमार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने

दैनिक नेपाल २०८१ वैशाख ४ गते ६:३१

काठमाडौं, ४ वैशाख  । बहुप्रतीक्षित नागढुंगा– नौबिसे (सिस्नेखोला) मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएपछि ब्रेक थ्रु भएको छ । निर्माण सुरु भएको ५३ महिनापछि यस सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठलगायतको उपस्थितिमा सोमबार सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो ।

यो सुरुङ मार्ग निर्माणका लगि आवश्यक विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर सुरुङ छेडिएको हो । यो सुरुङमार्ग छिचोल्ने दिन सोमबार सुरुङभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो । प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन् ।

यो सुरुङमार्गको निर्माण २०७६ सालको कात्तिकबाट सुरु गरिएको थियो । ४२ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको यो सुरुङमार्ग निर्माणको काम कोरोना विश्व महामारी र स्थानीयवासीले गरेको पटकपटकको अवरोधका कारण लक्षित समयभन्दा निर्माण कार्यमा केही ढिलाइ भएको निर्माण आयोजनाले जनाएको छ ।

यस्ता विविध अवरोधले तोकिएको समयमा काम नसकिने भएपछि म्याद थप गरेर काम गरिएको थियो । थपिएको म्याद पनि यही १३ वैशाख १३ सम्म मात्र रहेको आयोजनाले जनाएको छ । अहिले काठमाडौंको नागढुंगाबाट धादिङको नौविसे (सिस्नेखोला) निस्कन दुईवटा सुरुङमार्ग बनाइएको छ । मुख्य सुरुङमार्गको सोमबार ब्रेक थ्रु गरिएको हो । यस सुरुङमार्गमा मोटरसाइकल र इन्धनका सवारीसाधन भने सञ्चालन हुन पाउने छैनन् ।

योसँगै निर्माण गरिएको आपतकालीन सुरुङको गत २२ साउनमा नै ‘ब्रेक थ्रु’ भइसकेको थियो । अहिले आपतकालीन सुरुङमार्ग खण्डमा फिनिसिङको काम भइरहेको छ । यस मुख्य सुरुङमार्गमा कुनै दुर्घटना भएमा आपतकालीन सुरुङमार्गको प्रयोग हुने सो आयोजनाले जनाएको छ ।

सम्झौतामा उल्लेखित पूर्वनिर्धारित समय तालिकाअनुसार यो मुख्य सुरुङमार्ग गत २३ फागुनमा नै ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । यसअघि करिब १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयवासीले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना मागअघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए । सोही अवरोधका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेको थिएन । त्यसपछि स्थानीयवासीको माग सम्बोधनसहित सहमति गरेर काम सुरु गरिएको थियो ।

सोमबार ‘ब्रेक थ्रु’ भएको यस मुख्य सुरुङमार्गभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यी सबै काम सम्पन्न भएपछि मात्र औपचारिक रूपमा यो सुरुङ मार्गबाट सवारीसाधन आवतजावत गर्न दिइनेछ ।

जसका लागि अहिले काठमाडौंको बलम्बुतर्फ फ्लाइओभर निर्माणको काम पनि धमाधम भइरहेको छ । यसअघि स्थानीयको अवरोधकै कारण फ्लाइओभर निर्माणको काम पनि पछि धकेलिएको सो आयोजनाले जनाएको छ ।

हालसम्म यस ठाउँमा तीनवटा पुल र ६ वटा कल्भर्ट निर्माण भइसकेको सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाका अनुसार अहिले बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २ दशमलव ३ सय ७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ । ‘फ्लाइओभर निर्माण र बलम्बुबाट सुरुङसम्म पुग्ने सडक कालोपत्रेको काम पनि जारी छ ।

यसैगरी, धादिङको सिस्नेखोलातर्फ ५ सय ६५ मिटरको पहुँच सडक पनि निर्माण गरिनेछ । काठमाडौंतर्फ बलम्बुबाट साढे ८ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला यो सुरुङमार्ग भएर जाँदा जम्मा २ दशमलव ६ सय ८८ किलोमिटरमा पुगिने सो आयोजनाले जनाएको छ ।

यस सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने आयोजनाले बताएको छ । सुरुङमार्गभित्रको सडक ढलानलगायत सम्पूर्ण फिनिसिङको कामलाई करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको सो आयोजनाले जनाएको छ ।

कुल २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । नेपाल सरकारले भने यो आयोजनामा ६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

यो मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । निर्माण सकिएपछि अब यो सुरुङमार्ग प्रयोग गर्नेहरूले काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आवतजावत गर्न सक्ने सो आयोजनाले जनाएको छ । यो सुरुङमार्गसँगैको आपतकालीन सुरुङ २ दशमलव ५ सय ५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धारलगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने सातवटा ढोका छन् । यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलानलगायतका काम हुनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित