बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बझाङमा नेकपा एससहित ८ दलको जमानत जफत

दैनिक नेपाल २०८१ वैशाख १७ गते २०:५२

काठमाडौं, १७ वैशाख । बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१)को उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

यसअघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको हो । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । त्यस्तै, उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।

यस निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाउनुभएको छ ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।

यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शीर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेपनि जमानत जोगाउन भने सक्नुभएन ।

त्यस्तै, यस क्षेत्रमा राप्रपाका किशोर कुमार खड्काले २४२ मत प्राप्त गर्नुभएको छ भने जसपाका राम बहादुर जाग्रीले ४४ मत मात्र मात्र पाउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्राप्त गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्काले २८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाउनुभएको छ ।

६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित