मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे माओवादीका पूर्वकमान्डर खाम

दैनिक नेपाल २०८० चैत २१ गते ७:२२

काठमाडौं, २१ चैत । कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परेका छन् । २८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको निर्वाचन जितेर सत्तारोहण गर्दैगर्दा व्यापारी श्रेष्ठको हत्या भएको थियो । आज उनै प्रचण्डको नेतृत्वमा सरकार भएकै समयमा मुख्य अभियुक्त खाम पक्राउ परेका छन् । भर्खरै शान्ति पक्रियामा आएको माओवादीका लडाकुहरूले श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित अस्थायी शिविरमा लगेर कुटीकुटी हत्या गरेका थिए । त्यसपछि काठमाडौंमा माओवादीविरुद्ध आन्दोलन चर्किएको थियो । व्यापारी श्रेष्ठको हत्या प्रकरणको विषयमा प्रचण्डले खामलगायतलाई कारबाहीको दायरामा ल्याउने भन्दै श्रेष्ठपत्नी रमिला श्रेष्ठसँग सातबुँदे सहमति गरेका थिए । त्यसपछि रमिला श्रेष्ठले माओवादीका पूर्वलडाकुविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रचण्डले श्रेष्ठ परिवारसँग सातबुँदे सहमति गरे पनि कालीबहादुर खामलगायतका पूर्वलडाकुको लामो समयसम्म संरक्षण गरे । पूर्वलडाकुविरुद्ध जाहेरी परेसँगै कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा फरार रहेका थिए । खामले अपहरण तथा कुटपिट गर्न निर्देशन दिएको, अधिकारी र थापाले अपहरण र कुटपिट गरेको अभियोग थियो । त्यस्तै, गोबिन्दबहादुर बटालाले अपहरण र शव व्यवस्थापन गरेको र अर्जुन कार्कीले शव गाडीमा लगेर फालेको अभियोग थियो । सर्वोच्च अदालतले सो मुद्दामा बटालालाई सफाइ दिएको थियो । त्यसपछि सोविरुद्ध परेको रिटमा १५ असोज २०७७ मा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको पुनरावेदन गर्ने अनुमति दिएको थियो ।

सर्वोच्चले १८ फागुन २०७६ मा बटाला र अर्जुन कार्कीलाई सफाइ दिने फैसला गरेको थियो । न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गरेको सो फैसलामाथि फेरि सुनुवाइ भएको हो । सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले फैसला पुनरवलोकनका लागि २६ भदौ २०७७ मा निवेदन दर्ता गरेको थियो । बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण भएकाले उनी दोषी ठहर हुनुपर्ने महान्यायाधिवक्ता कार्यालयको निवेदनमा जिकिर छ । सरकारी वकिलको कार्यालयले बटालालाई जन्मकैद मागसहित यसअघि अभियोगपत्र दर्ता गरेको थियो ।

कसरी भएको थियो घटना ?

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको उसको जनमुक्ति सेनाको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सम्पर्क कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । घटना छानबिनका लागि भन्दै बटालासहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई ‘उठाएर’ चितवन लगे ।

डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गर्दा श्रेष्ठले आफूसँग नियन्त्रणमा लिइएका अधिकारी र थापाको नाम पोलेका थिए । बटालाको दाबीनुसार ३१ वैशाख २०६५ बिहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै श्रेष्ठलाई अधिकारी र थापाले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याए  । उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भयो । उनको शव बटालाले नारायणी नदीमा फालेको भन्ने व्यहोराको विवरण जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले ३ जेठ २०६५ मा प्रहरीमा पठाएको थियो ।

रामहरीकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । उनको बयानअनुसार १५ वैशाख राति बटाला र अरू तीन जनाले रामहरीलाई पेस्तोल देखाई लिएर गएका हुन् । पछि शक्तिखोरमै रामहरी बन्धक रहेका बेला बटालाले कुरा गराइदिएका थिए ।

श्रेष्ठको घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख र भर्‍याङ मुनि पेस्तोल भेटिएको थियो । ‘१५ वैशाखमा फेरि शिविरमा ल्याई सोधपुछ गर्दा उनले आरोप स्विकारेका थिए र अरूले स्विकार गरेनन्, पछि सबैले स्विकारे,’ बटालाले बयानमा भनेका थिए, ‘राति कोठा खोली हेर्दा थापा र अधिकारीले घटनाको पोल खोलेकाले पिटेको बताएका थिए ।’ मरणासन्न रामहरीलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएकाले थापा र अधिकारीले शव तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाको भनाइ थियो ।

श्रेष्ठको मृत्यु २६ वैशाख बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयूमा भएको थियो । घटनापछि प्रहरीको नजरमा खामसहित केशव अधिकारी, गंगाराम थापा अनि अर्जुन कार्की फरार भए । थापा खामकै अंगरक्षक हुन् । बटालाले कुटपिटको दोष अधिकारी र थापामाथि थपेर आफू निर्दोष रहेको बयान दिए । फरार रहेका सवारीचालक कार्की पछि अदालतमा उपस्थित भए अनि गाडी चलाउनेबाहेक काम आफूले नगरेको बताए । फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुईपटक मुद्दाको फैसला गर्‍यो ।

१७ जेठ २०६८ मा भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गर्‍यो । ६ महिनापछि २० मंसिरमा भोजराज अधिकारीको इजलासले कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिमानाको फैसला सुनाइदियो । कार्की पुनरावेदन अदालत गएनन् । बटाला पुनरावेदनमा गए । कार्की र बटाला दुवैलाई कम सजाय भयो भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो । शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले कार्कीमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो ।

तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इजलासले ‘आफ्नो नियन्त्रणमा राखेका व्यक्तिहरूबीचको कुटपिटबाट रामहरी घाइते भई मृत्यु हुन गएको देखिँदा बटालालाई ३ वर्ष कैद हुने सुरु फैसलालाई अन्यथा भन्न मिलेन’ भनी फैसला गर्‍यो  । पुनरावेदनले बटाला ज्यान मुद्दामा संलग्न भएको भनी दाबी पुग्न नसकेको निष्कर्ष निकाल्यो भने शव गायब पार्न सघाउने सवारीचालक कार्कीलाई पनि २० रुपैयाँ जरिमाना गर्ने जिल्लाकै फैसला सदर गर्‍यो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित