शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

राज्यको ढुकुटीः प्रधानमन्त्रीको वक्र दृष्टि

निर्मल भट्टराई २०८० वैशाख १९ गते ७:१९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, १९ वैशाख । कमरेड प्रचण्डले १३४औँ मजदुर दिवसमा आयोजित एक कार्यक्रममा साथै माओवादी पार्टीका कार्यकर्तालाई जनयुद्धमा जाऊ भनेको होइन, तर सडकमा उफ्र भन्ने उर्दी दिनु भएछ । प्रधानमन्त्रीको कुर्सीमा विराजमान कमरेड प्रचण्ड अलिकति मान्छे जम्मा भएको देखेपछि जनयुद्ध र क्रान्तिको म्याउँ गरिहाल्नु हुन्छ । अहिले अयोग्य लडाकुको नाउँमा आफ्ना कार्यकर्ता पोस्ने योजना गठबन्धन दलबाटै पूरा हुन नदिने संकेत पाएपछि तिलमिलाएका प्रचण्ड सडक तताएर भए पनि सो रकम फुत्काउन प्रयत्नरत हुनुहुन्छ । सडक र सत्ता दुवै कब्जा गर्ने रणनीति छ, प्रचण्डको ।

हुन पनि, जनयुद्ध र सडक तताउने प्रसंग उल्लेख नगरी प्रचण्डको भाषण जम्ने कुरो भएन । माओवादीको हरेक कार्यक्रममा युद्ध र कान्तिको कुरा गरेर जनता कार्यकर्ता झुक्याउने प्रचलनको निरन्तरता दिन सफल उहाँ अझै क्रान्तिको कुरा गर्दै हुनुहुन्छ । प्रचण्ड जस्ता माओवादी नेताले क्रान्तिको कुरा गर्दा निसन्देह सर्वहारा क्रान्तिको कुरा हुन्छ । त्यसमा माओले चीनमा भएको जस्तो दीर्घकालीन जनयुद्धबाट गरिने नौलो जनवादी क्रान्तिको कुरा हुन्छ । बलपूर्वक सत्ता कब्जा गर्ने भन्ने अर्थ लाग्छ । तर परिस्थिति चाँहि कांग्रेसको इच्छा रहुन्ज्याल प्रधानमन्त्रीको कुर्सीमा निरीह भएर बस्नुपर्ने बाध्यतामा हुनुहुन्छ प्रचण्ड ।

कमरेड पुष्पलालले नेपालमा नौलो जनवादी क्रान्तिको खाका प्रस्तुत गरेको आज साढे सात दशक पुग्न लागेको छ । यो अवधिमा संसारमा तुमुलकारी परिवर्तन भएका छन् । नेपालको आर्थिक सामाजिक परिस्थितिमा समेत व्यापक परिवर्तन आएको छ । नेपालमा मौलिक ढंगले पूजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको र समाजवादको आधार तयार गर्ने अवस्थामा छ । मदन भण्डारीको लाइन जनताको बहुदलीय जनवाद नेपालमा लागू भयो, माओको लाइन लागू भएन ।

तर आफूमात्र माओको सच्चा अनुयायी हुँ भन्दै आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद बनाएर चीनकै शैलीमा दीर्घकालीन जनयुद्ध गरेर सत्ता कब्जा गर्ने तपाईको योजना फेल भइ सकेको र अब कसैको वैशाकीमा केही महिना आफू सत्तामा टिक्नु नै तपाईंको तात्तातो भाषणको सार हो भन्ने जनता र कार्यकर्ताले राम्रै गरी बुझ्दछन् । लोकतन्त्रमा नेताभन्दा जनता एक कदम अगाडि हुन्छन् त्यसकारण सत्ता परिवर्तन गर्न उनीहरु सक्षम हुन्छन् ।

जनताले अहिले हङ संसद बनाइ दिएकोले जनमतको आधारमा सत्ताको भागबण्डा भइरहने अवस्था मात्र विद्यमान छ । हो, यस अवधिमा तपाईं गठबन्धन मिलाएर प्रधानमन्त्री बन्नुभएको छ । कहिले एमाले त कहिले नेकासंग तालमेल गरेर भर्खरै तपाई सत्तामा पुग्नु भएको छ । आफू पदमा पुग्दा क्रान्ति भएको ठान्ने र आफूले भनेजस्तो भएन भने युद्ध, क्रान्ति र सडक सङ्घर्षका कुरा गर्ने तपाईं पुरानै बानी हो । कोशी प्रदेश नामाकरण गराउन आफ्ना सांसदलाई प्रदेशसभामा पठाउने र त्यसको विरोध गर्न आफ्ना अरू कार्यकर्तालाई सडकमा पठाउने प्रचण्डको गजबको तरिका छ ।

जसले आफ्नो पदको लागि आफ्नो सिद्धान्तको तिलाञ्जली दिन्छ, उसले समाजवाद र मुक्तिको कुरा गर्न शरम लाग्नु पर्ने हो । आफू र माओको तुलना गर्दा किन तपाईं माओले सत्तामा पुग्न कहिल्यै संसदीय चुनाव लड्नु नपरेको तर तपाईं त्यत्रो जनयुद्ध लडेर पनि सत्तामा पुग्न संसदीय चुनाव लड्नु परेको घटनालाई सम्झनु हुन्न ? चिनियाँ कम्युनिष्ट पार्टीले माओको विचारबाट नौलो जनवाद प्राप्त भयो । तर नेपालमा त्यस्तो भएन । तपाईंको माओवाद यहाँ लागू भएन । सिद्धान्तमा माओवादी, व्यवहारमा विकृत संसदवादी भएकै कारण जनताले प्रचण्डलाई विश्वास गर्न छोडेका हुन् ।

तपाईका कुनै बेलाका सहयात्री डाक्टर बाबुराम भट्टराईलाई राष्ट्रपतिको ललिपप देखाएर गोरखाबाट गठबन्धनको सहयोगमा चुनाव जिते पनि उप-चुनावसम्म आइपुग्दा जनतामा माओवादीको हैसियत लगभग शून्यमा झरेको प्रष्टै छ । राज्यकोषबाट अरबौं रकम आफ्ना कार्यकर्तालाई बाँडेर पार्टी बनाउने प्रचण्डको योजना छ । ‘जनयुद्धताका माओवादीहरू भौतिक संरचना भत्काउँथे । अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको अर्थतन्त्र भत्काउँदै छन् । उनीहरूलाई भत्काउनुमा गर्व छ, बनाउनुमा होइन ।

देशको समृद्धि भयो भने जनता जर्जर गरिबीमा रहने छैनन् र देशको गरिबी हटे आफ्नो राजनीतिको रोटी सेकिन् छोड्छ भन्नेमा प्रचण्ड प्रष्ट छन् । त्यसकारण गरिब र श्रमजीवी र सर्वहारा वर्गको संख्या बढाएर त्यसको नेता भइरहने, जनतालाई सम्पन्न र स्वाभिमानी बनाउने भन्दा आसेपासे बनाउनमा प्रधानमन्त्री नै हात धोएर लागेपछि कसको के लाग्छ ?

लेखकः निर्मल भट्टराई

प्रतिक्रिया
सम्बन्धित