
काठमाडौं, २१ बैशाख । नेकपा एमाले पर्सा जिल्ला अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नवौं जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध चयन हुनुभएको हो ।
अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गर्नुभएको थियो । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारू र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्ष चयन हुनुभएको हो । पाँच पदाधिकारीसहित १२७ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ। एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताउनुभयो ।
उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ। सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ। पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सहमति हुन सकेको छैन।
एमालेको नवौं जिल्ला अधिवेशन सोमबार उद्घाटन भएको थियो। अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो।








प्रतिक्रिया