–कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का सांसद अभिषेकप्रताप शाहले सञ्चारगृहमा प्रवेश गरी छापामार शैलीमा पत्रकार पक्राउ गर्ने कार्य गलत भएको बताएका छन् । उनले पत्रकारलाई डर, त्रास र दबाबमा राखेर स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नहुने धारणा व्यक्त गरेका हुन् ।
शुक्रबार काठमाडौंका विभिन्न सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारको खोजी गर्ने घटनाप्रति लक्षित गर्दै सांसद शाहले पत्रकारलाई आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्न स्वतन्त्र वातावरण दिनुपर्ने बताएका हुन् ।
‘पत्रकारले तपाईंले राम्रो गर्नुभयो भने राम्रो भन्छन्, नराम्रो गर्नुभयो भने नराम्रो भन्छन् । पत्रकारलाई डराएर हुँदैन’ शाहले भने ।
शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डीएनए खबरका धीरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेको थियो भने दियो पोस्टको कार्यालयमा पुगेर सम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गरेको थियो ।
पक्राउ परेका तीनै जना पत्रकार केही घण्टापछि रिहा भएका थिए ।
सञ्चारगृहभित्रै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने घटनाले प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षाबारे विभिन्न क्षेत्रबाट प्रश्न उठेको थियो ।
सांसद शाहले पत्रकारिता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारले सरकार, राजनीतिक नेतृत्व र सार्वजनिक निकायका कामकारबाहीमाथि प्रश्न उठाउन पाउनुपर्ने बताए ।
पत्रकारको काम राम्रो कामको प्रशंसा गर्नु र गलत कामको आलोचना गर्नु भएकाले आलोचनालाई दबाउनेभन्दा त्यसको जवाफ तथ्य र प्रमाणका आधारमा दिनुपर्ने उनको भनाइ छ।
लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भीक रूपमा समाचार संकलन, लेखन र प्रकाशन गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।












प्रतिक्रिया