काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । साथै, घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकारमाथि सोधपुछका नाममा गरिएको धरपकड प्रेस स्वतन्त्रताविपरीत भएको ठहर गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार धरपकडको घटना कसको आदेशमा र किन भएको हो भन्ने विषय स्पष्ट पार्नुपर्ने बताए ।
उनले समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि गरिएको व्यवहार गलत भएको भन्दै घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधिखोजी गर्ने नाममा समाचार कक्षमै प्रवेश गरेर धरपकड किन र कसरी भयो ? कसले गर्यो ? त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छौँ,’ खरेलले भने ।
प्रधानमन्त्री कार्यालयले पत्रकार धरपकडमा आफ्नो संलग्नता नरहेको जनाएको विषयमा समेत सचिवालय बैठकमा छलफल भएको उनले जानकारी दिए ।
खरेलका अनुसार घटनाको छानबिन र दोषीमाथिको कारबाहीमा कुनै ढिलासुस्ती नगर्न सरकारलाई स्पष्ट निर्देशन दिइएको छ । छानबिनको निष्कर्षसहित कारबाहीको परिणाम यथाशीघ्र सार्वजनिक हुनुपर्ने पार्टीको धारणा रहेको उनले बताए ।












प्रतिक्रिया