
इलाम, २१ बैशाख । इलाम–२ को उपनिर्वाचनमा मुख्यप्रतिस्पर्धीका रुपमा रहेका एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काले बधाई साटासाट गर्नुभएको छ । खड्काले खादा लगाएर नेम्वाङलाई बधाई मात्र दिनुभएन राम्रो काममा सहयोग गर्ने वाचा पनि गर्नुभयो ।
खड्काले भन्नुभयो,‘इलामको विकास निर्माण, इलामेलीको भरोसा जोगाउनु । नयाँ हुनुहुन्छ, मेरो पनि तपाईको राम्रो कामलाई साथ सहयोग रहन्छ ।’ त्यस्तै सुहाङले पनि हरेक तह र तप्काबाट सहयोग गर्न आग्रह र्नुभयो । बैशाख १५ गते उपनिर्वाचनका क्रममा भएको मत परिणाम विजयी भएपछि सुहाङ बधाई ग्रहण गर्न व्यस्त हुनुहुन्छ । सोही ही क्रममा शुक्रबार दुई प्रतिस्पर्धीबीच भेट भएको थियो ।
डम्बर र सुहाङले शुभकामना आदनप्रदान गरेको फोटो धेरै शुभेच्छुकले सामाजिक संजालमा शेयर गरेका छन् । दुई प्रतिस्पर्धीबीच देखिएको हार्दिकता असल राजनीतिक संस्कारको नमूनाका रुपमा हेरिएको छ ।
एकजना शुभेच्छुक शीलत कार्कीले दुईबीचको हार्दिकतालाई लोकतान्त्रिक संस्कारको गतिलो उदाहरण भन्नुभएको छ । उहाँले लोकतन्त्रमा हारलाई सहर्ष स्वीकार्न सक्यो भने मात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो । खड्कासँग निकट रहेर काम गरिरहनुभएका शिव थापाले यस्तो शालिनता अनि हार्दिकताको राजनीतिक संस्कार विकास हुनु राम्रो कुरा भएको बताउँदै सार्वजनिक भएको तस्वीरबाट उच्च संस्कार, समाजिक सद्भाव, स्नेह प्रष्ट झल्किने स्पष्ट पार्नुभयो ।
यसअघि सोही तस्विर सार्वजनिक गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङलाई बधाई दिनुभएको थियो । उहाँले भन्नुभयो,‘लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो ।’ ‘बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !’ महामन्त्री शर्माले लेख्नुभएको छ । शर्माले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गर्दै ‘पिताको झैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा ।’
वैशाख १५ मा इलाम-२ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपूर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त रहेको धारणा शर्माले राख्नुभएको छ ।
वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार खड्का २१ हजार ९४२ मतसहित उपविजेता हुनुभएको थियो ।








प्रतिक्रिया