शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पत्रकार महासंघले जारी गर्‍यो १८ बुँदे घोषणापत्र

दैनिक नेपाल २०८१ वैशाख २२ गते १२:४४

काठमाडौं, २२ वैशाख । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि घोषणा पत्र जारी गरिएको महासंघले जनाएको छ ।

प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन/प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गरेको छ । साथै संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्ने महासंघको भनाइ छ ।

त्यस्तै, आगामी २०८१ जेठ २६ गते नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने, सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार वैशाख महिनाभित्रै टुंगो लगाई सार्वजनिक गर्ने पनि महासंघले जनाएको छ ।

महाधिवेशन शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । महाधिवेशन बन्द सत्र शनिबार पनि जारी रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित