शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

एकपटक किन नसोच्ने ?

युवराज रोइला २०७९ चैत १२ गते २२:३७

युवराज रोईला

एउटा मानिस एक दिन शहरबाट गाउँ फर्किदै थियो ।

गाउँ जाने क्रममा मानिस एउटा नदीको किनारमा पुग्यो । त्यस दिन नदीमा संयोगबस न त डुङ्गा नै थियो । न त कुनै मान्छे । थिए त केबल नदी किनारमा बाँसका केही थान टुक्राहरु र चोयाहरु ।

उसले उसको घर पुग्न नदी पार गरेर जानु पर्दथ्यो । उक्त मानिस नदीमा पौडिन सिपालु थियो । तर, त्यो दिन नदीमा छालहरु सदाको तुलनामा केही बढी नै आएका थिए ।

त्यसकारण मानिसले पौडिन बाँसको सहारा लिनुपर्‍यो । जसको सहाराले मानिसले नदी पार गर्‍यो । त्यसपछि मानिसले उसको घर पुग्न अब सानो जंगल पार गर्नुपर्ने थियो ।

नदी पार गरिसकेपछि मानिसको मनमा अकस्मात मलाई यो बाँसले आज नदी पार गर्न सहयोग गर्‍यो । यसलाई पनि म सँगै घर लिएर जान्छु भनेर मानिस उक्त चोयाले बाँधिएको बाँसलाई पछाडि राखेर बोकेर हिँड्यो ।

हिँड्दै जाँदा मानिस जंगलमा पुग्यो । जंगलमा रुखहरु बाक्लै भएका कारण उसले बोकेको बाँसलाई अगाडि लिएर ऊ हिँड्न सकेन । अब ती व्यक्तिसँग दुई वटा विकल्प मात्र थिए । १) कि त बाँसलाई छाड्नु पर्ने र आफू मात्र घर जानू पर्ने, २) कि त बाँससँगै त्यहीँ बस्नुपर्ने ।

मानिस एकछिन अलमल्ल पर्‍यो । त्यसपछि उसले निर्णय गर्‍यो, ‘अब म एक्लै घर जान्छु ।’

हाम्रा सामुन्ने अनगिन्ति सम्भावनाका मैदानहरु छन् । सँगसँगै समस्याहरुका कहिँ अग्ला त कहिँ होचा पहाडहरु पनि अनगिन्ती नै छन् । जसले हामीलाई सम्भावनाका मैदान पुग्न अवरोध सृजना गरिरहेका हुन्छन् । जसले गर्दा हामीलाई हाम्रो आँखाअगाडि देखिएको त्यो रंगीन सम्भावनाको मैदान एकाएक सर्वोच्च शिखर सगरमाथा भइदिन्छ ।

अन्तत: हामी हाम्रा पाइलाहरुलाई पछाडि ल्याउन बाध्य हुन पुग्दछौँ ।

यो विचारको सार आखिर त्यत्रो नदी तार्न सहयोग गरेर जीवन बचाउने बाँसलाई त मानिसले छाड्न सक्यो । अब हामीले हामीलाई हाम्रो लक्ष्य प्राप्तिमा अवरोध सृजना गर्ने ‘समस्या’ नामको शत्रुलाई किन नछाड्ने ?

आज नगरे फेरि कहिले गर्ने ? आज अगाडि नबढे फेरि कहिले बढ्ने ? तपाइँ हामी सबैले एक–आपसमा सकारात्मक सोचको बीउ आजै रोपौँ, यसैलाई मलजल गरौँ ।

त्यसबाट जीवनलाई अझ गतिशील, सुगन्धित र रंगीन बनाउँ ।

प्रतिक्रिया
सम्बन्धित