शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

व्यावसायिक माछापालनमा रमाउँदै युवा व्यवसायी सूर्य दुवे

दैनिक नेपाल २०७७ चैत २७ गते १०:०३

मोहन पौडेल

परासी, २७ चैत । भाषणले मात्रै आर्थिक समृद्धि प्राप्त हुने होइन्, यसका लागि उत्पादनमा लाग्नुपर्दछ र आफैले पनि योगदान गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै नवलपरासीका एक राजनीतिज्ञ एवं युवा व्यवसायी कृषिमा लाग्नुभएको छ ।

राजनीतिसँगै व्यवसायिक क्षेत्रमा सफल सुनवल–१२ भूमहीका सूर्य दुवे अहिले व्यवसायिक माछापालन र पशुपालनमा व्यस्त छन् । तीनवर्ष अघि शुरु गरेको कृषि कार्यबाट आफू सन्तुष्ट र खुशी रहेको उनी बताउँछन् । हरकट्टा–बैकुण्ठपुर महामाया सडक खण्ड नजिकै रामनगर एग्रोफार्म सञ्चालन गर्दै आएका दुवेले सात विघा क्षेत्रफलमा माछापालन र पशुपालन गरेका छन् ।

४५ कठ्ठामा सात वटा माछा पोखरी रहेका छन् । बाँकी भागमा तीन वटा खोरमा कुखुरा, टर्की पालन र केही भागमा घाँस खेती पनि गरिएको छ ।

माछापालनबाट मात्रै पहिलो वर्षमा खासै राम्रो आम्दानी नभएपनि दोस्रो वर्षमा सबै खर्च कटाएर पाँच लाख आम्दानी गर्न सफल भएको उनले बताए । जग्गा बाहेक तीस लाखको लगानीमा व्यवसायिक कृषि शुरु गरेका दुवेले आफ्नो फार्ममा चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

‘कृषिमा केही योगदान गर्नुपर्छ भन्ने लागेपछि अरु भन्दा सजिलो लागेर माछापालन शुरु गरेँ, माछालाई नियमित दाना दिन छुट्टै जनशक्तिको आवश्यकता परेपछि उसको फुर्सदको समयलाई सदुपयोग गर्न लोकल, बोइलर कुखुरा र टर्की पालनलाई पनि विस्तार गरेको हुँ, एक जनाको परिवार नै यहाँ बसेर आफ्नो जीविको पार्जन गर्दै आउनुभएको छ’, उनले भने ।

गर्मीको समयमा बोइलर कुखुरा र चिसो मौसममा लोकल कुखुरा र टर्की पालन गर्दै आएको उनले बताए । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको कृषिकर्मी रोजगार कार्यक्रमअन्र्तगत उनले चारै जना रोजगारकर्मीलाई सूचिकृत पनि गरेका छन् ।

कार्यक्रमबाट सरकारले रोजगारकर्मीको मासिक ४० प्रतिशत ज्याला व्यहोर्ने गर्छ । उनको फार्ममा अहिले माछापोखरीमा पन्ध्र हजार भुरा छोडिएको छ । एक हजार पाँच सय कुखुरा र ३०० टर्की रहेका छन् । फार्मको वरपर तीन हजार लहरे पिपल, दुई सय बढी कागती, आँप र लिचीका विरुवा लगाइएको छ ।

उनले बैङ्कबाट एक करोड ९० लाख सहुलियत व्याजमा कृषि ऋण लिएर लगानी गरेका छन् । उनले सरकारबाट विभिन्न किसिमका कृषि सामग्रीमा अनुदान पनि प्राप्त गरेका छन् ।
मत्स्य विकास केन्द्रको पचास प्रतिशत लागतमा आठ लाखको मत्स्य विक्री केन्द्र निर्माण गरेका छन् ।

कृषिमा लाग्न चाहने युवाका लागि राज्यबाट निकै प्रोत्साहन र धेरै खालका सुविधाहरू रहेको दुवेले बताए ।

‘राज्यले दिने अनुदानको कतिपयले दुरुपयोग गरेर गलत फाइदा लिएका छन् । अनुदानको सही सदुपयोग गरी अनुशासित र मिहेनती हुने हो भने कृषिमा राम्रो सम्भावना छ, यसबाट हामीले धेरै फाइदा लिन सकिन्छ’, उनले भने ।

उत्पादन हुने माछा, कुखुराको लागि बजारको अभाव नभएको उनले बताए ।

व्यवसायीहरू फार्ममै आएर खरिद गर्ने गरेका छन् । धेरै उत्पादन भएकोले बेला भने स्थानीय हाटबजारका व्यवसायीलाई विक्री गर्ने गरिएको छ ।

उपभोक्ताले पनि भारतबाट आयातित माछाभन्दा स्थानीयस्तरमा उत्पादन हुने माछा रोज्ने गरेको उनले बताए ।

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोचाइँलाई तीन तहका सरकारले ल्याएका कृषि कार्यक्रमले निर्मुल पार्दै गएको उनको अनुभव छ ।

‘उत्पादनमा नलागेसम्म समृद्धि सम्भव छैन, समृद्धिका लागि राज्यले के ग¥यो भन्नुभन्दा मैले के योगदान गरेँ भन्ने तर्फ पनि हामीले हेक्का राख्नुपर्छ’, उनले भने ।

व्यवसायी दुवेको नवलपरासीमा दुई वटा पेट्रोल र एक मट्टितेल पम्प, काठमाडौंको सुन्धारामा गेष्ट हाउस रहेको छ । भैरहवामा तीन तारे होटल निर्माणाधीन अवस्थामा रहेपनि यी व्यवसायबाट उत्पादन नहुने भएकोले उत्पादनमा योगदान दिन आफू कृषि क्षेत्रमा लागेको दुवेको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित