शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नेकपामा विवाद समाधानको पहल शून्य, आज फेरि अर्को जवाफी प्रस्ताव पेश हुँदै

दैनिक नेपाल २०७७ मंसिर १६ गते १२:२०

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय उत्कर्षमा पुगेको विवाद समाधानका लागि कुनै पनि पहल भएको पाइएको छैन ।

शीर्ष नेताहरु आ–आफ्नो बटमलाइनमा अडिग रहँदा पछिल्लोपटक बसेको र आज बस्ने सचिवालय बैठक थप समस्या सृजना गर्ने थलो मात्रै बन्ने पक्कापक्की भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेपछि नेकपाको विवाद थप बढेको छ । नेताहरुबीच ‘राजनीतिक प्रस्ताव’को नाममा लिखित रुपमा आरोपप्रत्यारोप उत्रिन थालेपछि व्यक्तिगत भेटघाट तथा छलफल शून्यप्रायः बनेको छ ।

यसबाट प्रतिवेदनहरुको जुहारीबाट मात्रै पार्टीभित्रको विवाद समाधान नहुने स्पष्ट भइसकेको छ ।

प्रचण्डको १९ पृष्ठको ‘राजनीतिक प्रस्ताव’ अध्ययन गरेर प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले १० दिनपछि गत शनिबार (मंसिर १३) बसेको सचिवालय बैठकमा ३८ पृष्ठको ‘जवाफी प्रस्ताव’ पेश गरे ।

दुई वटै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनलाई एकीकृत गरी एउटै र साझा बनाएर बैठकमा छलफल गर्नुपर्ने दबाब नेकपा वृत्तमा बढेको भएपनि नेताहरुले तल्लो तहका नेता–कार्यकर्ताको भावनालाई बेवास्ता गर्दै आएका छन् ।

फलस्वरुप आज बस्ने बैठकमा थप अर्को एउटा ‘जवाफी प्रतिवेदन’ पेश हुने करिब–करिब निश्चित छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका सचिवालयका पाँच जना नेताहरुले संयुक्त रुपमा ओलीको जवाफी प्रस्तावमाथि अर्को जवाफी प्रस्ताव पेश गर्ने तयारी भएको एक नेताले बताए ।

ती नेताका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुका साथै केही विगतका प्रसंग कोट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको बताइएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सो लिखित जवाफ तयार पारेको स्रोतको दाबी छ ।

यसरी नेतृत्व तहमा अलग–अलग बटमलाइन अघि सार्ने र विवाद समाधानका लागि अहिलेसम्म सहमतिको पहल नहुनुले नेकपाभित्रको विवाद तत्कालै र सहजै समाधान नहुने अनुमान गर्न सकिन्छ । ओलीको प्रतिवेदनपछि प्रचण्डलाई थप दबाब बढेका कारण उनी थप आक्रामक हुने चर्चा समेत भइरहेको छ ।

त्यसो त प्रचण्ड बिच्किदा समस्या थप लम्बिने देखेको ओली समूहले पनि केही लचकता अपनाएको पाइएको छ । तर, त्यो पर्याप्त भने छैन । यसबीचमा ओलीनिकट भनेर चिनिने नेता सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग केही छलफल गरेको स्रोतको भनाइ छ ।

तर, प्रचण्डले जे–जे गर्ने हो अब बैठकबाटै गर्ने भनेपछि नेम्वाङले प्रचण्डसँगको छलफललाई अगाडि बढाउन नसकेको समेत बताइएको छ । यसर्थ अनौपचारिक छलफलविना नेकपा विवाद यत्तिकै समाधान हुन कठिन छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित