
विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उहाँकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गर्नुभएकी एनिका अधिकारीलाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए।
एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत हुनुहुन्छ । उहाँ ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय जानु भएको थियो ।
प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका अनुसार घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताउनुभएको छ । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ।
भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भन्नुभएको छ । प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको उहाँले बताउनुभएको छ । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ।
नाभी छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ। दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन्। गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन।








प्रतिक्रिया