शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

राजस्थानविरुद्ध हैदरवादको एक रनको रोमाञ्चक जित

दैनिक नेपाल २०८१ वैशाख २१ गते ६:४१

काठमाडौं, २१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । हैदरावादले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको हो ।

हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहे पनि ११ रनमात्रै बनेको थियो । अन्तिम ओभर हैदरावादका अनुभवि बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेका थिए ।

सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि पावरप्लेमा हैदरावादले रन बनाउन सकेन । अभिषेक शर्मा पाँचौँ ओभरमा १० बलमा १२ रन बनाएर आउट भए ।

त्यस्तै, अनमोलप्रीत सिंह छैठौँ ओभरमा व्यक्तिगत ५ रन बनाएर पभेलियन फर्किए । त्यहाँबाट इनिङलाई अगाडि बढाउने काम ट्राभिस हेड र नितिश कुमार रेड्डीको जोडीले गरेको थियो । हैदरावादको टोलीले १३ औं ओभरमा १०० रनको अंक पार गर्‍यो । योसँगै हेडले ३९ बलमा अर्धशतक बनाएका थिए । तेस्रो विकेटका लागि ९६ रनको साझेदारी आवेश खानले तोडेका थिए । हेडले ४४ बलमा ५८ रन बनाएपछि १५औं ओभरमा आउट भए । उनी आउट हुँदा टिमको स्कोर १३१ रन रहेको थियो ।

ट्राभिस हेडको विकेटपछि नितिश कुमार रेड्डीले पारिको जिम्मा लिए । उनले ३० बलमा आफ्नो अर्धशतक पूरा गर्न सफल भए । अर्धशतक पछि, नितिशले थप आक्रामकता देखाए र हेनरिक क्लासेनको अर्थपूर्ण साथ पनि पाए । दुवैले चौथोँ विकेटका लागि ३२ बलमा ७० रनको नटआउट साझेदारी गर्दै स्कोरलाई २०० भन्दा माथि पुर्‍याएका थिए । नितिशले ४२ बलमा तीन चौका र आठ छक्का प्रहार गर्दै नटआउट ७६ रन बनाए । सोही क्रममा क्लासेनले १९ बलमा तीन चौका र तीन छक्का सहित ४२ रनको नटआउट पारि खेले ।

राजस्थान रोयल्सका लागि आवेश खान सर्वाधिक सफल बलर बने र दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमा नै दुई ठूला विकेट गुमायो । जोस बटलर र कप्तान सञ्जु सामसनले खाता पनि खोल्न सकेनन् । यी दुईको विकेटसँगै राजस्थानको इनिङ्स निकै कठिन देखिएको थियो । त्यसपछि यशस्वी जैसवाल र रियान परागको उत्कृष्ट ब्याटिङको नमुना पेश गरे । दुवैले शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि १३४ रनको साझेदारी १४औं ओभरमा टुटेको थियो । जैसवालले ४० बलमा ६७ रन बनाएर आउट भए ।

रियान परागले पनि अर्धशतक बनाएर ४९ बलमा ७७ रन बनाएपछि १६औं ओभरमा १५९ रनको स्कोरमा चौथो विकेटका रूपमा आउट भएका थिए । शिमरोन हेटमायरले छिटो रन बनाउने प्रयास गरे तर उनी पनि ९ बलमा १३ रन बनाएर १८ औं ओभरमा १८१ रनमा आउट भए । ध्रुव जुरेलको ब्याटले पनि काम गरेन र ठूलो सट खेल्ने प्रयासमा १९ औं ओभरमा १ रन मात्र बनाएर आउट भए । त्यस ओभरमा ७ रन मात्र आयो । अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो ।

पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई शानदार जित दिलाए । सनराइजर्स हैदरावादका भुवनेश्वरले सर्वाधिक ३ विकेट लिए ।

हारे पनि राजस्थान रोयल्स तालिकाको शीर्ष स्थनमा छ । अहिलेसम्म १० खेल खेल्दा राजस्थान दुई खेलमा मात्रै पराजित भएको छ । हैदरावाद भने जितसका साथ १२ अंक बनाउँदै तालिकाको चौथोँ स्थानमा उक्लिँदै प्लेअफको दावेदारिता प्रस्तुत गरेको छ ।

आईपीएलअन्तर्गत आज राति मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित