मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

विश्मय …

वि वि श्रेष्ठ २०७८ माघ ३ गते २१:५५


-वि वि श्रेष्ठ

अन्तरविरोध, अन्तरमन र चंचलता विस्तारै धुमिल भएको छ । सोचमा भएको विविधताले आकार ग्रहण गरेजस्तै ।

अन्तरमनको कुनामा घोचिएको व्यथाहरुहरु सतहमा छताछुल्ल भएर पोखिए जस्तो । उहि घडीको पल, मात्र र हिजोको वनाईएका विश्मय, भिन्नतामा पनि अन्तर रहेछ । हिजोसम्म लाग्दथ्यो । उहि र एउटै हो । तर त्यो त केवल दिवास्वप्न मात्र रहेछ ।

सोचको आयाम पनि फरक र विविध हुने रहेछ । अचम्म, त्यहि पलमा वगेको हावाको कम्पन र सुर्यको किरणमा कदापी पनि समानता रहेनछ । समयको त्यो उन्नयनभित्र सोचाईको धरातल अत्यन्त कमजोर ।

अनुकुलता पनि सधै कहाँ उपलव्ध हुने रहेछ र ? सोचलाई जति अनुकुलन वनाएता पनि सत्यता अन्तत सत्यता नै रहेछ । यहि अनुकुलता र सत्यता भित्रको फरकपनमा जिवन घोत्लिन वाध्य वनिदियो ।

पल पनि कति निष्ठुरी, सोचमा पनि वन्धक । अनुकुलतामा पनि पराकम्प । तर पनि वाध्यतामा समयको दास मानसिकतामा पलहरुको निरन्तरता, सायद सत्य नै यही रहेछ ।

समयको दासता साध्य रहेछ, सोच र दैनिकी केवल साधन । यहि उलझनमा फसेको जीवनमा यादले झकझकाउदाँ सोच नै वन्धक वनिदिने रहेछ । कल्पना वाहिर पनि संसार हुने रहेछ । नभोगेको घटना पनि जीवनका अंश रहेछन् ।

सत्यता केवल भोगाई मात्र होईन, अन्देखा पनि हुँदो रहेछ । यी सवैको वीचमा उल्झेको जीवनमा स्वार्थ र घमण्ड त केवल जीवनका एउटा कण मात्र रहेछ । यहि कणलाई नै सम्पुर्णता देख्नेहरु जीवनका अन्य स्वरुपमा एकाकार हुन नसक्ने रहेछन् ।

यादका प्रकृति पनि फरक फरक । यादका लागी कुनै विशेष स्थान, समय वा वायुको आवश्यकता नै नपर्ने । जहाँ पनि जहिले पनि जता पनि । पाईला पाईलामा आउने यादका प्रार्दुभावले जीवन निरश वनाउँदो रहेछ ।

हिजो वायुको कम्पनले पराकम्पन ल्याउने शरिर आज निशव्द वनिदियो । लाग्दथ्यो, अव केहीले अव दुखाउने छैन, केही भावले अव रुने छैन, कुनै सिन्काले घोच्नेछैन । न कुनै झरिले रुझाउनेछ त न कुनै घामले नै पोल्नेछ, जलिरह्यो, भौतिक शरिर, आत्मा दुख्यो, रोयो तर त्यो पार्थिव शरिर धर्तिमा विलिन हुँदा पनि रोएन, दुखेन, सासंरिक नियममा विलिन भईरह््यो । नयनको स्पन्दनले वायुमा मिश्रित अस्तुलाई यादमा विलिन गरिदियो ।

यादको विशिष्टता जीवन निरन्तरताका लागी सहज भएता पनि एकाकारमा रम्नेहरुका लागी भने विश्मय वन्ने रहेछ । अन्तत: हिजोको त्यहि सजिवता आज भौतिक रुपमा नपाउँदा ह्दयमा आउने पराकम्पले अन्तत अनादीकालसम्म सताउनेरहेछ ।

भोगिदाँ राख्न नसकेको खुशी नहुदाँ गर्न सकिने सोचले यो मस्तिष्कमा लामो समयसम्म जरा गाड्ने रहेछ । मनमस्तिष्क पनि आग्रह र पुर्वाग्रहले ग्रसित हुन्छ, क्यारे । कति चंचल, कति स्थिर, जीवनको यो अभिन्नतामा प्रवेश गरिसक्दा पनि वातावरणको यो वायुले प्रभावित पारिरहने ।

प्राप्तीको परिभाषा पनि अजिवको ! कुनै ठोस परिभाषा नै छैन । सवैलाई समान प्राप्ति, समान अवसर र खुशी नहुने । जतिवेला उपलव्ध थियो, त्यसको महत्व कम थियो, अहिले छैन, त्यसको महत्वको कुनै लेखाजोखा छैन । यो सँगै जीवनको सोच पनि वदलियो ।

लाग्दछ, अहिले सवै भौतिक वस्तुहरु मलाई नै जिस्काउनका लागी उद्य्त छन् । यादको विविधता भित्र ह्दयको पुकार पनि गडेर वस्दा रहेछ, क्यारे ।

वगेको वायुको चाप मापन गर्न सक्ने भए सायद मापन गर्थे होला, घडिको पल त केवल साधन मात्र रहेछ, क्यारे ! अवगत गराउने मापन यन्त्र, जसले आफनो नित्यकर्म गरिरहेछ ।

त्यसैमा अभ्यस्त हुनु नै जीवन रहेछ । मानव निर्मित घडा, जसले यादको पुर्नजागृत गराउँदछ । यादको पुकार पनि त्यहि अस्तु गराउन नसकिने रहेछ, जहाँ अस्तुको विसर्जन गरियो । याद नगर्ने भनेको त निर्जिवतामा मात्र रहेछ क्यारे । हुनुहुन्न, भौतिक रुपमा, तर याद चाहिं पुर्नजिवित ।

जिवित र पुर्नजिवितको पनि आफनै परिभाषा । यहि परिभाषा अनादिकालसम्म रहला, तर यसको अनुभुति भने व्यक्तिको सोचअनुसार फरक फरक हुन्छ, कि ! कसैमा कमि त कसैमा वढि । शुन्यता भित्र पनि यादको वाढी, देखिने भौतिकतामा रित्तो ।

त्यहि रित्तो र एक्लोपनले पनि सताउने । आत्मामा वास गरेता पनि त्यसले मात्र पनि आनन्द नदिने रहेछ, त्यो त फगत मिथ्या मात्र रहेछ । मिथ्यातामा नै जीवन विताउनुपर्ने वाध्यता नै जीवन रहेछ, सायद ! नयनमा देखिने घोतक र सपनाको यादहरु वीचमा पनि ठुलो फराकिलो हुने रहेछ ।

आखिर भौतिक उपस्थिती र आत्मिक उपस्थिती भनेको पनि फरक चिज रहेछ, मनमा हुनुहुन्छ भन्ने र भौतिकतामा भोगिनुको वीचको तादात्म्यता नहुने रहेछ क्यारे ! त्यही वीचको तादात्म्यतालाई नियाल्ने प्रयत्नले अन्ततः कयौ निष्पठ रातहरु विलिन भए ।

झस्काईदिन्छ, त्यहि पलले जुन पलले मैले सवै गुमाए । उपस्थितीको को कुनै मुल्य नहुने रहेछ । फर्केर आउँछ कि भन्ने, झल्को । कतै त्यही यी नयनले देख्ने अवसर पाँउछ कि जस्तो । तर सवै कल्पना मात्र ।

हेर्दा हेर्दे यहि सोच छोराले पनि सोच्ने दिन नजिकै आईसकेको छ कि जस्तो । सायद, यो अनुभुति अवको सन्तानले गर्ला नि नगर्ला ? पर्खाईको भाव पनि निष्पठ गाह्रो हुन्छ, क्यारे । त्यहि भावमा सन्तुलन ल्याउन नसक्दा जीवन नै हल्लिरहेछ, कहिल्यै पनि स्थिर हुन नसक्ने ।

हिजो वायुको कम्पनले पराकम्पन ल्याउने शरिर आज निशव्द वनिदियो । लाग्दथ्यो, अव केहीले अव दुखाउने छैन, केही भावले अव रुने छैन, कुनै सिन्काले घोच्नेछैन ।

न कुनै झरिले रुझाउनेछ त न कुनै घामले नै पोल्नेछ, जलिरह्यो, भौतिक शरिर, आत्मा दुख्यो, रोयो र त्यो पार्थिव शरिर धर्तिमा विलिन हुँदा पनि रोएन, दुखेन, सासंरिक नियममा विलिन भईरह््यो । नयनको स्पन्दनले वायुमा मिश्रित अस्तुलाई यादमा विलिन गरिदियो ।

प्रतिक्रिया
सम्बन्धित