मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मितव्ययी भएर मनाऔँ महान् चाड दसैँ

युवराज रोइला २०८० कार्तिक ४ गते ८:२४

काठमाडौं । महान् चाड हो दसैँ । दसैँले नै वषौँ देखि अलगिएका आफन्तहरुलाई एकआपसमा मिलानको निम्ति सेतुको काम गर्दछ । यो पर्वले आमाबाबुलाई उनका छोराछोरी र छोराछोरीलाई उनका आमाबाबुसँग मिलाउँछ । माइतीबाट अलगिएका दिदिबहिनीले जन्मदिने आमाबाबुलाई भेट्छन् । त्यसैगरी दाजुभाइले आमाबाबु र आफ्ना चेलीबेटी भेट्छन् । मानिसहरुले वर्षभरीको मेहनतको पसिना र कमाईलाई यस महान चाडमा खर्चने गरेका छन् ।

दसैँलाई जानकारहरुले आ-आफ्नै तवरले अथ्र्याउने गरेको पाइन्छ । कसैले यसलाई रंगिन चाडको रुपमा अथ्र्याउछन् । कसैले यसलाई आफूलाई जन्मदिने आमाबाबुबाट आसिष थापेर आफ्नो उदेश्य प्राप्ति गर्ने चाडको रुपमा अथ्र्याउने गरेको पाइन्छ ।

विशेषगरि दसैँमा हामी असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको सम्झना गर्छौँ । यस महान पर्वमा पहिलो नौ दिनमा शक्ति र विजयकी देवी नवदुर्गाको पूजा आराधना गरीने गरिन्छ । देवी दुर्गालाई समर्पित मन्दिरहरू सधैँ भक्तहरूले खचाखच भरिएका हुन्छन् । चण्डी, सत्ययुगमा देवताहरूले भूतहरूमाथि प्राप्त गरेको विजयको कथा, यसको पवित्रता र पवित्रताको लागि पढाइन्छ । दुर्गा माताको पूजा गरेपछि त्रेतायुगमा भगवान रामले समेत रावणमाथी विजय प्राप्त गरेको धार्मिक जनविश्वास रहिआएको छ ।

दसैँमा विषेशगरि वरिष्ठ मान्यजनबाट आशीर्वाद लिने चलन रहेको छ । यस पर्वमा निधारमा रातो टिका र कानमा जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । हाम्रो हिन्दू संस्कृतिमा रातो टिकालाई भाग्य र विजयको प्रतीक मान्ने गरिन्छ । दसैँ पारिवारिक जमघट र चाडपर्वको समय पनि हो । यो सिजनमा विदेशमा रहेका मानिसहरु आफ्नो घर वा देश फर्कने गर्छन् । दसैँमा आफ्ना आमाबाबु नहुँनेहरुले परिवारका अन्य वरिष्ठ सदस्यको बाहुलीबाट विजयादशमीको टीका ग्रहण गर्ने चलन रहेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गर्नुपूर्व राजाको हातबाट र ततपश्चात राष्ट्रपतिको हातबाट समेत टीका ग्रहण गर्ने गरिएको छ ।

पछिल्ला केही वर्षहरुमा आफैँमा छुट्टै गरिमा बोकेको महान चाडका नाममा भड्किला कार्यहरु समेत हुने गरेको उल्लेखनीय मात्रामा भेटिन्छ । चाडका नाममा अरुको सिको गर्दा आर्थिक भार पर्ने हुन्छ । जसले गर्दा पारिवारिक बेमेल, मानसिक समस्या हुने गरेको पाइन्छ । साथसाथै मानसिक समस्याले आत्महत्या जस्ता संवेदनशील गटनाहरु समेत हुने गरेको पाइन्छ ।

आफैँमा छुट्टै महिमा बोकेको चाडलाई भड्किलो तवरले मान्नाले उल्लेखित मानवीय घटनाहरु घटेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुको मात्र नभई पछिल्लो समय किराँत, बौद्ध, इस्लाम लगाएतको समेत विशेष चाड बनिरहेको यस पर्वलाई आ-आफ्नो हैसियत अनुरुप मनाऔँ, मितव्ययी बनौँ, अरुको सिको बन्द गरौँ, अग्रजबाट आशीर्वाद लिएर आफूलाई अझ मजबुत बनाऔँ र अन्ततोगत्वा आफ्नो सुनौलो गन्तव्य प्राप्त गरौँ । साथसाथै बडादसैँ २०८० को सम्पूर्णमा मेरो शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित