सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘तीज पर्व र महिला मुक्तिको सन्दर्भ’

मिना श्रेष्ठ २०८० भदौ ३० गते १६:५४

हिजोआज परम्परागत रूपमा हिन्दु महिलाहरूले महान् चाडको रूपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । केही वर्ष कोरोना महामारीको आतङ्कले तीज भोज होटलका हलहरूमा केही कम भए पनि पुन: तीजको रौनक उत्साहमा कमी भएको छैन ।

नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दु महिलाहरूको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले सुरू भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रूपमा पाउन अन्न–जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुशरण गर्दै हिन्दु महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ ।

माइतीबाट छोरी–चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गच्छेअनुसारको मिठो–मसिनो खाने–खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ । यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रूपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ ।

मिना श्रेष्ठ

हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मिठो–मसिनो खानपिन हिजोआज साउने सङ्क्रान्तिकै दिन सुरू हुन थालेको छ । हिजोआज झन्डै दुई महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरू रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौँ तीज (दरको संख्या) भनेर तडकभडकसहित फोटोहरू प्रदर्शन गरेको पाइन्छ । यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाई फेशन–शोमा परिणत गर्दै लगेको छ । कहिले तीज आउँछ र साडी–गहना देखाऊँ जस्तो भएको छ । कसको साडी कति महङ्गो ? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ ।

हिन्दु धर्मग्रन्थमा पतिलाई परमेश्वरका रूपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रूपमा नस्वीकार्ने मनु स्मृतिले महिलाले पतिभक्ति र जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सधैं पतिको नियन्त्रणमा रहनुपर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ । तिनै धर्मग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति–रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको सुरूवातमा महिलालाई बन्दीको रूपमा हातखुट्टा बाँध्न प्रयोग गरिएका नेलकडी र सिक्रीहरू अहिले गहनाका रूपमा प्रयोग भइरहेका छन् ।

अहिले अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा–आराधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तर, कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन ।

हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाइन्छ । महिलाले पुरुषमाथि पनि हिंसा गर्ने गरेको पाइन्छ । हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरू पनि पाइन्छन्, तर तिनको चर्चा कहीँ गरिँदैन । यस्तो चर्चा गरिएमा विचरा ती पुरुषहरू जोइटिङ्ग्रेको दर्जामा पर्छन् । हाम्रो समाजको हेराइमा सधैं पोइटिङ्ग्री भएर सहनशीला सुशील हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरिखाने महिलालाई असल ठानिन्छ ।

समाज बर्बर युगबाट सामन्ती युगमा रूपान्तरण भइसकेपछि महिलालाई नियन्त्रणमा राख्न नितान्त दासी र बच्चा जन्माउने साधनको रूपमा प्रयोग गर्न खोजिएको छ । यस्तै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा वैधता प्रदान गर्ने चाड तीज हो । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारिक गर्ने, पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजा गर्ने, अलौकिक देवता होइन प्रत्यक्ष देवता मानिने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अझै पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ । हामीभित्रै पितृसत्तात्मक चिन्तन हाबी छ ।

युगौंदेखि महिलालाई दासीको रूपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ । यो चिन्तनले सांस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक हरेक पाटोमा छाएको पाइन्छ । समाज विकासको रूप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् ।

एकले तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस । तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ । अर्का थरी पुरुष भने के गर्ने ? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेर्स्याउँछन् भने उनीहरू व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन् । व्रत बसेको दिन श्रीमानले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमान्ले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ ।

हामीकहाँ सबै पुरुषहरू पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरू पनि पाइन्छन् । महिलाले महिलालाई हिंसा गर्ने, दुर्व्यवहार गर्ने तीतो सत्य छँदैछ । सासू–बुुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, महिलाले नै महिलाको चियोचर्चा महिलाले नै गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित