सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

जनैपूर्णिमा र जनैको महत्व

आचार्य वासुदेव उपाध्याय नेपाल २०८० भदौ १४ गते १६:१४

आचार्य वासुदेव उपाध्याय नेपाल

श्रावण शुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने जति सबैले नित्यकर्म समाप्त गरेपछि गुरु–शिष्य सबै मिलेर नदी जलाशयमा गएर महासङ्कल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरैजना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिन्छ । ‘अर्थात् सङ्क्रान्ति, ग्रहण, सूतक र जुठामा यो स्नान गर्न निषेध छ भन्ने नारदको वचन छ ।

यसमा १० किसिमको स्नान गर्नुपर्दछ । अर्थात् १. भष्म स्नान (खरानी दलेर स्नान गर्ने), २. गोमय (गोबर), ३. मृद् (माटो), ४. वारी (पानी), ५. गोमूत्र (गहुँत), ६. पय: गाईको दूध, ७. दही, ८. आज्यम् (घिउ), ९. दर्भ (कुश) र १०. मन्त्रसमेत गरी दश किसिमका स्नान हुन्छन् । स्नानपछि भष्म, चन्दन आदि धारण गरेर स्नानाङ्ग तर्पण गर्नुपर्छ । अनि सूर्याेपस्थान, सन्ध्याबन्दनादि सकेर उपाकर्म गर्नुपर्छ ।

दुई दिन पूर्णिमा हुँदा ६ मुहूर्तभन्दा बढी भए भोलिपल्ट कमी भए अघिल्ला दिन चतुर्दशीका दिन उपाकर्म गर्नुपर्दछ । अर्थात् उपाकर्म भनेको वेदाध्ययनको आरम्भको उत्सवय हो । यो कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिनासम्म प्रत्येक दिन आ–आफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पुस वा माघमा रोहिणी नक्षत्र परेका दिन नदी तटमा गएर विधिपूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिको उत्सव गर्नुपर्दछ । आजैका दिन अरुन्धतीसहित कश्यपादि सप्तर्षिको पूजा पनि गर्नुपर्दछ । सप्तर्षिहरू यसप्रकार छन्– १. कश्यप, २. अत्रि, ३. भरद्वाज, ४. विश्वामित्र, ५. गौतम, ६. जमदग्नी र ७. वशिष्ठसमेत सप्तऋषि र अरुन्धतिको पनि पूजा गर्नुपर्दछ । अनि रुद्राभिषेक गर्नुपर्दछ । त्यसपछि ऋषिलाई तर्पण पनि गर्नुपर्दछ । ऋषिलाई तर्पण गर्ने पर्व भएकाले यस पर्वको नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ ।

आजै यज्ञोपवितको (जनैको) संस्कार गरी यज्ञोपवित धारण गर्नुपर्दछ । यज्ञोपवित संस्कारमा पहिले तन्तुदेवताको आह्वान गरी पूजा गर्नुपर्छ । तन्तुदेवता यसप्रकार छन्– १. ॐ कार, २. अग्नि, ३. सर्प (नाग), ४. सोम, ५. पितृ, ६. प्रजापति, ७. अनिल (वायु), ८. यम र ९. विश्वदेव रहन्छन् । तिनको आह्वान गरी पूजा गर्नुपर्छ । त्यसपछि ग्रन्थी (शिखा) मा तीन देवताको १. ब्रह्मा, २. विष्णु र ३. रुद्रको आह्वान र पूजा गर्नुपर्दछ । त्यसपछि ऋषिश्राद्ध गर्ने विधान छ । यो श्राद्ध नगर्दा प्रत्यवाय (पाप) नलाग्ने र गर्दामा फलातिशय हुने श्राद्ध भएको हुँदा गर्नेलाई फल प्राप्ति हुन्छ भने नगर्नेलाई पाप लाग्दैन । त्यसपछि पितृलाई र ब्राह्मणलाई यज्ञोपवित अर्पण गरी आफूले धारण गर्नुपर्छ । यज्ञोपवित धारण गर्दा पहिले आचमन गरेर विनियोग गर्नुपर्दछ ।
ॐ यज्ञोपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषि: लिङ्गोक्ता देवता
श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञोपवीतधारणे विनियोग :।

यज्ञोपवितलाई दुवै हातमा लिएर हात जोडी १० पटक गायत्री मन्त्रले अभिमन्त्रण गर्नुपर्दछ । अनि तलको मन्त्र उच्चारण गरी एउटा एक्ले जनै लिएर दाहिने हात ठाडो पारेर पहिले हातबाट छिराएर पछि शिरबाट धारण गर्नुपर्दछ । त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ । अनि पुरानु यज्ञोपवित निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ ।
एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् । इति ।

यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरेर जप अर्पण गर्नुपर्दछ ।
अनेन नवीनयज्ञोपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायण: प्रियतां न:मम । ॐ तत् सत् परब्रह्मार्पणमस्तु ।

यसै दिन रक्षाबन्धनको पूजा गरेर धारण गर्नुपर्छ । यसको मन्त्र यसप्रकार छ –
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबल :।
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमा चल ।।’’ इति । (बली राजामा रो री सूत्रले दीर्घ भएको हो)

श्रावण शुक्ल पक्ष, श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा । श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधिपूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ । यो कर्म नैमित्तिक कर्मअन्तर्गत पर्ने भएकाले सूतक परेर रोकिएको अवस्था छ भने अन्य दिनमा गर्नुपर्ने हुन्छ । कर्मलोप गराउनुहुँदैन । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने हुनाले यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । जसरी तिजपछिको ऋषिपञ्चमी महिलाका लागि जति महत्वपूर्ण मानिन्छ, पुरुषका लागि पनि त्यति नै महत्वपूर्ण पर्वका रूपमा यस दिनलाई लिइन्छ । पुरुषले जान–अन्जानमा वर्षभरि गरेका कृत्याकृत्य कार्यको प्रायश्चित्त, क्षमापूजा वा आत्मपूजा हो जनैपूर्णिमा ।

श्रावण शुक्ल चतुर्दशीका दिन चोखोनीतिका साथ मुण्डन गर्दै एक छाक खाई पूर्णिमाका दिन गुरु, शिष्यलगायतका अन्य व्यक्ति सामूहिक रूपमा नदी, पोखरी, तलाउ, कुवा वा इनार आदि गरिएका पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, बास्नादार फूल, दुबो प्रयोग गर्दै स्नान गर्दछन् । स्वास्थ्य विज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकताका साथ– निरोगिता र वैज्ञानिकता रहेको पाइन्छ । सामूहिक सहभागितामा तीर्थ प्रार्थनासहित विधिपूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान पनि भन्ने गरिन्छ । यसरी विधिसम्मत तरिकाबाट अगाडि बढ्नका लागि निम्नानुसारका कार्यलाई अवलम्बन गर्नुपर्दछ ।

ॐकार परिवारभित्रका हिन्दू, बौद्ध, जैन, बुद्धिष्टलगायतका सबै वर्ण र समुदायको सामूहिक पर्व जनैपूर्णिमाका दिन पशुपतिनाथ, गोसाइँकुण्ड, कुम्भेश्वर, देवघाट, चतराधामलगायतका विभिन्न क्षेत्रमा श्रावणी मेला लाग्ने गर्दछ । अधिकांश क्षेत्रमा आफ्ना गुरु–पुरोहितबाट अभिमन्त्रित डोरो बाँधी जनै फेर्ने गरिन्छ भने तराई क्षेत्रमा दिदीबहिनीका हातबाट राखी बाँध्ने प्रचलन रहिआएको छ । वैदिक कालदेखि नै एवम् रितले हुँदै आएको यो पर्व आफैँमा अनुशीलन र श्लाघनीय रहेको छ । यो पर्व विधिसम्मत तरिकाले अगाडि बढाउनुपर्छ ।

हाम्रा ऋषिमुनि तथा पूर्वजले चाडपर्व मनाउने र यसमा प्रयोग हुने सामग्रीको सोधखोज लामो समयदेखिको अनुसन्धान र साधनाका माध्यमबाट विधिविज्ञानको विकास गरेका हुन् । यहाँ प्रयोग गरिएका सामग्रीको उपादेयता कहाँसम्म र कति छ भन्ने विषय आयुर्वेद र यो क्षेत्रमा लागेका अनुसन्धाताले नै प्रस्ट पारेका छन् । स्वास्थ्य विज्ञानसँग सम्बन्धित यो पर्व विशेष पर्वका रूपमा स्थापित छ । प्रातकालीन स्नानपछि गुरु–शिष्यसहित समाजमा रहेका व्यक्तिको सामूहिक सहभागितामा यज्ञोपवित तथा रक्षाबन्धनको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रद्वारा पूजाआजा गरिन्छ । कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वाभाविक नै हो । तर, यसलाई भौतिकताका दृष्टिले हेर्दा यसको महत्ता सोचेजस्तो त्यति कमजोर भने छैन ।

विभिन्न खालका वैज्ञानिक आधार यसमा समाविष्ट छन् । धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ । यही विशेषण र विशेषता बोकेको सूत्रमार्फत निर्माण गरिएको जनैले विशेष महत्व राख्दछ । समाजमा रहेका सबै तह र तप्काका हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीलाई रक्षासूत्रले हातमा बाँधी सबैमा एकरूपता र समभाव कायम गरी एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनैपूर्णिमाको उपादेयता सदियौँदेखि हाम्रो समाजमा अविच्छिन्न रूपमा अगाडि बढिरहेको छ । यज्ञोपवितलाई किन यति महत्ता दिइन्छ यसको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय बुझ्न जरुरी छ । ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक– सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसूत्र/जनै हो र जसलाई सावित्रीसूत्र पनि भनिन्छ । ऋग, यजु, साम, अथर्व गरिएका वेद चार र गायत्री मन्त्र २४ अक्षरले गुणन गर्दा आउने ९६ संख्याको समूहको समष्टिगत स्वरूप नै जनै हो ।

हातको चार औँलाको मूल भागमा एकडोराले युक्त काँचो धागोलाई ९६ फन्का बेर्ने पुन: दुईपटक दोब्बर र तेब्बर पार्दा माथिका छयानब्बे नामको उच्चारण गर्नुपर्दछ । उक्त धागोलाई पुन: तीन डोरामा परिणत गरी बाट्नुपर्ने हुन्छ । यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा नौ डोराको हुन पुग्दछ । तीन सुतेमा दुई, नौ सुतेमा दुई र दुवैको टुप्पो मिलाई पञ्च शिखायुक्त बनाउनुपर्छ । यी नौ डोरामा ॐ कारादि गरिएका नौवटा देवताको आह्वानपूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवतालाई न्यास गरिन्छ भने तीनसूते धागोमा ब्रह्मा, विष्णु र शिवको पूजन गर्नुपर्दछ । जनैको लम्बाइबारे बायाँ काँधदेखि नाभी/नाइटो हुँदै कटी–कम्मरसम्मको हुनुपर्दछ ।

लामोमा कम्मरभन्दा तल र छोटोमा नाभीभन्दा माथि हुनुहुँदैन । प्रातकालीन समयमा यी माथिका प्रक्रियालाई आत्मसात् गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ । सबै शक्तिले वास गर्ने परम् पवित्र यज्ञोपवित आफैँमा सिद्ध हुन्छ । देवताले पनि धारणा गर्ने सर्वशक्तिमान जनै र डोराको अभिमन्त्रण जनैपूर्णिमाका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ गरिएका सप्त ऋषिको पूजाआजा, रुद्राभिषेक, ऋषिको नाममा श्राद्धतर्पणपूर्वक वंश विस्तारको क्रममा आएका ऋषिलाई स्मरण गरिन्छ । यसरी सिद्ध भएको जनै देवता, गुरु र आफ्ना पितृलाई दान गर्दै आफूले धारण गरिन्छ ।

उपाकर्म : गुरु–शिष्य परम्पराअनुसार वेद पढ्न सुरु गरिने दिन पनि यही हो । उपनित कुमारले वर्षा ऋतुको पूर्ण तिथिमा ऋषि, छन्द, देवता, सरस्वती, लक्ष्मी, वेदपुरुष, कात्यायन आदिको स्मरण गर्दै वेदाध्ययन प्रक्रियालाई अगाडि बढाउने र पढेका संहिताको पुनरावृत्ति गर्नुपर्दछ । जसले मन्त्रमालिन्यताको दोष हटाई मन्त्र सामथ्र्यवान हुन पुग्छन् । माथि बताइएका देवताको पूजा गर्दै विभिन्न अनुष्ठान पूरा गरिन्छ । यसरी विधिपूर्वक मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ ।
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज: ।।

प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवित– जनै धारण गर्दछु । जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि गरिएका सामथ्र्य प्राप्त हुन् ।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल ।।

भगवान् वामनले सत्यताका लागि वाणीरूपी (तीन पाउ जमिनका माध्यमबाट) बन्धनद्वारा दानवका बलशाली र दानवीर राजा बलिलाई जसरी बाँध्नुभएको थियो । त्यसैगरी यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्दछु सदासर्वदा तिम्रो रक्षा तीनै वामनले गर्नुहुनेछ भन्ने आशीर्वाद ब्राह्मणले दिने गर्दछन् । यसरी विधिपूर्वक लगाइएको जनै चार–चार महिना वा जुठो– सूतक, ग्रहण, देवकार्य, पितृकार्य गर्दा परिवर्तन गर्नुपर्ने हुन्छ ।
एतावद्दिनपर्यन्तं यज्ञत्वं धारितं मया । जीर्णतत्वाद् परित्यागो गच्छ सूत्र यथा सुखम् ।।

जनै लगाउँदा शिरबाट छिराउनुपर्छ भने निकाल्दा पनि शिरोमार्गबाट नै निकाली पवित्र ठाउँमा विसर्जन गर्नुपर्दछ । यज्ञोपवित द्विजलाई र रक्षाबन्धन सबैलाई बाँध्न सकिन्छ । नेपाली चाडपर्व खानपिनसँग सम्बन्धित छन् । आफन्तसँगको भेटघाट, भलाकुसारी, अपनत्वको बोध गराउन यी पर्व कालजयी रहेका छन् ।

नौथरी गेडागुडी भिजाएर उमारिएको क्वाँटीका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ । यसरी उमारिएको भिटामिनयुक्त गेडागुडीले शरीरलाई पौष्टिकता प्रदान गर्दै रोगसँग लड्ने शरीरको आन्तरिक क्षमता वृद्धि गर्ने हुनाले यो पर्व क्वाँटी खाने पर्वका नामले परिचित रहेको छ । श्रावण महिनामा जङ्गलमा रहेका जडीबुटीको चरनमा रमेका लोकल गाईको गोबरमा औषधीय गुण हुनाले शरीरमा लेपन गर्दा सबै खालका चर्मरोगको निदान हुन पुग्दछ । जुन विधालाई आयुर्वेद तथा प्राकृतिक चिकित्सा भनिन्छ । वैदिक सनातन धर्म संस्कृतिको जय होस् ।

प्रतिक्रिया
सम्बन्धित