शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आईजी थापा क्षत्रीलाई अहिले शुभेच्छा, २२ महिनापछि बधाई !

विनोद ढकाल २०७७ असार २४ गते ११:१६

विनोद ढकाल

संघर्ष, चुनौति र जस–अपजसको मैदानमा भर्खर छिराइयो– शैलेश थापा क्षत्रीलाई नेपाल प्रहरीको प्रमुख अर्थात् महानिरिक्षक (आईजी) पदमा ।

२२ महिनाको कार्यावअधि छ । त्यसपछि उनी पनि सेवा निवृत्त हुनेछन्, अरु जस्तै । आईजी पद बढुवा हो कि नियुक्ति ! यो प्रश्न पनि बेलामौका विवादीत बनिदिन्छ ।

शव्दमा नरुमल्लिऔं– यो, नियुक्ति हो । बढुवा भनेको समूहमा नै हुन्छ । त्यस मध्येबाट एउटा छान्नुपर्ने भएकाले नियुक्ति हो । नवनियुक्ति आईजी क्षत्री हिजोका दिनसम्म जागिरे, प्रहरी अफिसर थिए । अब, जागिरेबाहेक प्रहरीकै नीतिनिर्मातादेखि मुलुकको सुरक्षा निकायको एउटा जिम्मेवार निकायका आयुक्तको जिम्मेवारी थपिएको छ ।

हिजो संगठनात्मक संरचनादेखि अनेक विषयमा जिम्मेवारपूर्ण हिसाबले जवाफदेही अर्कै थिए, आजका दिनदेखि क्षत्री त्यो भूमिकामा छन् । यसको अर्थ, प्रत्येक सिपाहीको सुखदुख र कर्तव्यको परिक्षणको मापनदेखि पुरस्कार र सजाय तोक्ने जिम्मेवारीताको कसीमा क्षत्री उभिन तयार भए, उनलाई सरकारले यसका लागि योग्य ठान्यो ।

वास्तवमै यस्तो योग्यताको ‘श्री’ उनमा थियो, परिणाम त्यसैको अनुकुलतामा आयो । अन्य बेलाजस्तो प्रतिकूलताका अभ्यास भएनन् यो मनन र स्मरणयोग्य घटना नै बन्यो ।

अर्को शव्दमा हालसम्म गरेका कामको प्रतिफलका रुपमा पाएको एउटा जस हो, आईजी पदवी । जीन्दगीका २८ बर्ष २ महिनासम्म गरेका कामको जसलाई २२ महिनाले माटोमा समेत मिलाउन सक्छ, नेतृत्व लिएपछि । यसकारण आईजी थापाका लागि यो २२ महिना नै २२ जुनीसम्म यादगार हुनेगरी काम गरेरै देखाउनुपर्ने चुनौतिका रूपमा उभिएको छ ।

अनेकहरूसँगै प्रहरी निरिक्षकको फूली काँधमा लाउँदै गर्दाको अन्तिम लक्ष्यमा क्षत्री पुगिसके । लोकतान्त्रिक मान्यता, प्रजातान्त्रिक स्वतन्त्रता र अधिक प्रजातान्त्रिक व्यवाहारिक चिन्तन भएको मुलुकको अनेक पाटोलाई आईजी क्षत्रीले गहनताका साथ नियाँल्नुपर्ने हुन्छ नै ।

नोम चोम्स्कीले भनेका छन्– स्वतन्त्रताले नै जिम्मेवारीताको परिक्षा लिन्छ । हामीसँग अधिक स्वतन्त्रता छ भने त्यसले अधिक जिम्मेवारीताको बोध पनि गराउनुपर्छ ।

नागरिकको स्वतन्त्रताका निम्ति चोम्स्की थप्छन्– हामीसँग स्वतन्त्र समाज छ, हामी प्रहरीसँग त्रसित हुँदैनौं । विश्वव्यापी मान्यताको फरक स्वतन्त्रतामा उभिएका छौं ।

सुरक्षाका दृष्टिमा आम मानिसले बोकेको सत्य भयभित हुँदैन, जब प्रहरी त्यसलाई खुट्याउने क्षमतामा हुन्छन् । यदि त्यसो भएन भने समाजका दुश्मनहरू त्रसित हुँदैनन् । अबको प्रहरीले दुश्मनहरू त्रसित बनाउन आवश्यक छ । त्यसैले त भनिन्छ नि– चरित्रलाई स्थापित गर, सीपको प्रशिक्षण देऊ ! यस्तै बाटोमा आईजी क्षत्रीको प्रहरी कर्म तल्लिन हुने प्रारम्भिक अपेक्षा गर्नैपर्ला

नेपाली समाज र यसको गति यहि दिशामा छ, निर्विकल्प । यहि स्वतन्त्रतालाई बलियो बनाउने जिम्मेवारी प्रहरी संगठनको हुन्छ र त्यसलाई निर्देश गर्ने उच्चतम विन्दुमा क्षत्री पुगेका छन् । आगामी दिनमा उनको नेतृत्वले दिन सक्ने सेवा, समात्ने लयले नै प्रभाव र निष्प्रभावको संकेत अवश्य नै गर्ला ।

चर्चामा रहेका कतिपय मुद्दालाई मुख्य चुनौतिका रुपमा अनेकले व्याख्या गरेका छन् । यति मात्र चुनौति होइन । चर्चामा रहेको विषयले समाधानले मात्र कुनै आईजीको क्षमताको मापन हुँदैन बरु चर्चामा नरहेको र त्यो भन्दा पनि विशाल परिणाम दिन सक्ने नयाँ विषयबस्तुको निराकरणले नयाँ सन्देश दिनेछ, त्यो गतिमा क्षत्रीको नेतृत्व अगाडि बढ्न सक्ने अपेक्षा अस्वभाविक हुनेछैन ।

व्यक्तिगत स्वभावका दृष्टिले क्षत्री सैद्धान्तिक, शालिन छन् । कतिपयले शालिनताले प्रहरी संगठनको नेतृत्व बलियो हुन नसक्ने तर्क गर्छन् । तर, शालिनताको अर्को उदाहरण भनेको महाभारतका युधिष्ठिर पनि हुन् जसको नेतृत्वमा एउटा युगको लेखान्त भयो । यसैको उपजले नै अनेक प्रसङ्गको आकारमा आउन सक्षम भएको हो, क्षत्रीको कार्यकाल भोलीका लागि प्रासङ्गीक पनि बन्न सक्ने इच्छा राखिनु अनर्थ नहोला ।

प्रहरी संगठन भित्र कति विसंगती छन् त्यसको हिसाबकिताब यो आलेबाट दिनुभन्दा त्यहि संगठनमा यति लामो समयसम्म काम गरेका आईजी क्षत्रीलाई यसै पनि जानकारी छन् । यसर्थ नमूना प्रहरी संगठनको परिकल्पना उनको कार्यकालको प्रमुख मुद्दा नै हो ।

राजनीति स्वार्थ र कटुताका विविध घटनाक्रमले समाज आशक्त छ । मानिसका स–साना समस्या राज्यको पहिलो निकायका रुपमा प्रहरीकहाँ पुग्छ तर सामाजिक मतभेद, प्रभाव र राजनीतिक प्रतिशोधको मझेरीमा गरिबले न्याय पाउन मुस्किल भएका अनेकथरी कथा आएकै छन् । यी कथाका सारहरू अब स्मरणीय बनाएर लेखाउने कि यत्तिकै छाड्ने भन्ने प्रश्नको घेराबन्दीभित्र छन्, आईजी क्षत्री ।

एउटा व्याख्या छ– प्रहरी भनेको निषेध र सुरक्षा हो । अर्थात् गलतका लागि निषेध र सहीका लागि सुरक्षा । यहि व्याख्याभित्र पर्ने अनेक विषयबस्तु र व्यवाहारिक पाठ्यक्रमअनुसार प्रहरीलाई चलायमान बनाउनु क्षत्री नेतृत्वको कुशलता हुन सक्ला ।

सत्यहरू भयभित भएनन् भने दुश्मनहरू त्रसित हुन्छन् ।

सुरक्षाका दृष्टिमा आम मानिसले बोकेको सत्य भयभित हुँदैन, जब प्रहरी त्यसलाई खुट्याउने क्षमतामा हुन्छन् । यदि त्यसो भएन भने समाजका दुश्मनहरू त्रसित हुँदैनन् । अबको प्रहरीले दुश्मनहरू त्रसित बनाउन आवश्यक छ । त्यसैले त भनिन्छ नि– चरित्रलाई स्थापित गर, सीपको प्रशिक्षण देऊ ! यस्तै बाटोमा आईजी क्षत्रीको प्रहरी कर्म तल्लिन हुने प्रारम्भिक अपेक्षा गर्नैपर्ला ।

जे होस्, नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । स्पर्धीले स्पष्ट भनेका छन्– साथीलाई सहयोग हुनेछ । अन्य स्पर्धीका पनि यस्तै धारणा होलान् । निर्विवाद र अस्वस्थ्य हल्लाले उतिसारो स्थान पाएन, क्षत्रीका लागि ।

कर्तव्य पथको निरन्तरको यात्राले पाएको जिम्मेवारी हो, आईजी । त्यसकारण यो मुख्य पदमा पुग्नासाथ बधाईका थुप्रोहरू भेटिए । यीनका आफ्नै अर्थ र महत्व होलान् । तर, यतिबेला उनको जिम्मेवारीका निम्ति एउटा असल मनले शुभेच्छा प्रकट हुनुपर्छ । आईजी क्षत्रीको कार्यकालको अन्तिमतिर जब मुल्यांकनका अनेक मन्थनसहितका निक्र्यौल आउनेछन्, खासगरी २२ महिनापछि अनि भन्नुपर्छ, बधाई छ ! आईजी क्षत्री – यु ह्याब डन अनफर्गेटेबल जब !

प्रतिक्रिया
सम्बन्धित