आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अबको पार्टी एकता माथिबाट होइन, तलबाट गर्ने हो : भानुभक्त ढकाल

दैनिक नेपाल २०८१ वैशाख १४ गते ६:२०

धादिङ, १४ वैशाख । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले अबको पार्टी एकता पार्टीको तल्लो कमिटीबाट हुने बताउनुभएको छ ।

बिहीबार आरुबासटारमा एमाले सिद्धलेक गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै ढकालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अबको पार्टी एकता तलबाट हो । तल नै एमालेमा समावेश गरेर ल्याउने र सहभागी गराउने हो । माथिबाट होइन ।’ नेता ढकालले एमालेमा समावेश गरेर जिम्मेवारी लिन आग्रह गर्नुभयो ।

प्रमुख अतिथि ढकालले स्थानीय कार्यकर्ताले मुल नेतृत्वमा सबै नपुगेपनि सबैलाई जिम्मेवारी दिने कार्य तथा नितिगत व्यवस्था पार्टीले गरेको बताउनुभयो । सम्मेलनमा उठेपछि हारे पनि वा पद नपाए पनि सक्रिय र जिम्मेवारी पूर्वक काम गरेमा जनताले खोजेरै अघि ल्याउने उहाँको भनाइ छ ।

एमालेको जनसंगठन र मेटेरियल भएकोले पार्टीमा तालिम दिन उहाँले अनुरोध गर्नुभयो । गैर एमालेलाई एमाले बनाएमा मिसन ८४ मा लक्ष्य भेट्न सकिने बताउँदै उहाँले पार्टीको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

दिउँसो एमाले र राति हराउन लागेकाहरुले अहिले आफूलाई सम्झिरहेका होलान् भन्दै मिसन ८४ मा एमालेले मात्र एकल बहुमत ल्याउने एजेन्डामा लाग्नुपर्ने बताउनुभयो । मिसल ८४ सफल पार्न एमालेका कार्यक्रममा सत्यनारायण पूजामा जसरि जाने नभई नियमित सक्रिय काम गर्नुपर्ने ढकालले बताउनुभयो ।

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याएउने गरी पार्टीको काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘राम्रो गर्ने र कमि हुन नदिने ल्याकत हामी नै राख्छौँ । पार्टी बनाउने कुरामा लाग्नुस्, काम प्रभावकारी गर्नुस् ।’ ढकालले भन्नुभयो ।

उहाँले अहिले एमाले सरकारमा रहेको र सरकारको जसअपजस एमालेले लिन्छ र लिनुपर्छ भन्ने उहाँको भनाइ थियो ।

यसैगरी, एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जिल्लामा संगठन आर्थिक रुपमा पारदर्शी रहेकाले सफलताको लक्ष्यमा पुगेको बताउँदै मिसन ८४ सफल बनाउन सक्षम नेतृत्व निर्माण गर्न आग्रह गर्नुभयो ।

एमालेलाई भोलिदेखि नै निर्वाचन लागेर काम गर्न कार्यकर्तालाई लाग्न एमाले केन्द्रीय सदस्य जानुका सिंखडाले आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एमालेले सिद्धलेकमा जनताका लागि रगत बगाएर एमालेविनाको सिद्धलेक कल्पना गर्न नसकने अवस्थामा पुर्‍याएको बताउनुभयो । पछिल्लो पटक आफ्नै कारणले हारेको बताउँदै यसको गम्भीर समीक्षा गर्दै मिसन ८४ मा एमाले एक्लै उभिँदापनि विजय हुनेगरी पुनः लाग्न अनुरोध गर्नुभयो । एमाले संघर्ष एकता र संघर्षको लागि जुझारु संगठन बनाउन व्यवस्थित रुपमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडा, सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटी सदस्य तथा सिद्धलेक इन्चार्ज गोविन्द कँडेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

एमाले सिद्धलेक गाउँ कमिटी कार्यवहाक अध्यक्ष रामहरि बराकोटीको अध्यक्षतामा भएको अधिवेशनका लागि २ सय १ जना प्रतिनिधि सहभागी हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित