३१ जेष्ठ २०८३, आइतबार

फस्टलुकसँगै फिल्म ‘आँखा’को प्रदर्शन मिति तय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको फस्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै असार १४ लाई प्रदर्शन मिति तोकेको हो ।

जोन योन्जनको निर्देशन रहेको फिल्मको पोस्टरमा फिल्मका सबै कलाकारलाई अँटाइएको छ । पोस्टरमा ‘आँखा’भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बीचमा सूर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सूर्यमुखी अंकित देखाइएको छ ।

निर्देशक योन्जनले ‘आँखा’ आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराइसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण रहेको बताउनुभयो । ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो ।’ उहाँले भन्नुभएको छ ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पार्नुभएको हो । आरआर फिल्मस्ले यो फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ ।

फिल्ममा स्मिता लामिछाने निर्माता, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत र रेवन्तविक्रम थापाको द्वन्द्व छ । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।