शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्रीको अर्थपूर्ण अभिव्यक्तिबाट यति धेरै आतंकित किन ?

निर्मल भट्टराई २०७७ असार १६ गते १५:४९

-निर्मल भट्टराई

जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले भारतद्वारा दशकौंदेखि अतिक्रमित भूमि समेटेर नेपालको नक्सा प्रचलनमा ल्याएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल देशभित्र र बाहिरबाट भईरहेको बताएपछि नेपालको राजनीति फेरि एकपटक तरङ्गित भएको छ ।

प्रधानमन्त्रीले कूटनीतिक दायरा बाहिर गएर अभिव्यक्ति दिएको, प्रमाणविना बोलेको, जनताको अपमान गरेकोजस्ता तर्क अगाडि सारिदैछन् । नेपाली र भारतीय मिडियाहरु अनेक तर्क वितर्क गर्देछन् ।

प्रधानमन्त्रीको राष्ट्रवादी अडान देशभित्र र बाहिरका धेरैलाई मन परेको छैन । देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सवालमा कोहीसंग नझुक्ने र यी विषयलाई सत्ताको सौदावाजीभन्दा माथि राख्ने प्रधानमन्त्रीको सोचसंग नेकपाका कतिपय नेताले लय मिलाउन सकेका छैनन् ।

नेपालमा जे राजनीतिक घटना हुन्छन्, ती छिमेकी भारतकै ईच्छाबमोजिम र ईसारामा हुन्छन्भन्ने केही ‘मुर्धन्य’हरुको बुझाईमा चिसो पानी खनिएको छ ।

सीमासम्बन्धी नेपाल सरकारले गरेको ऐतिहासिक निर्णय र त्यस निर्णयले पाएको सत्प्रतिसत समर्थनले पार्टीभित्रको “एक व्यक्ति एक पद”को लाईन निकै कमजोर भएको छ । तर निमिट्यान्न भएको छैन ।

एक व्यक्ति एक पदको नारा के पी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने डिजाईनमा गुञ्जिएको नारा हो । सरकारका राम्रा कामहरुको विद्रुपीकरण गर्ने र सानातिना कमजोरीलाई तिलको पहाड बनाउने उद्योग सञ्चालनमा मलजल यही प्रयोजनका लागि भईरहेछ ।

पशिद्ध ग्रीक दार्शनिक प्लेटोको बिम्बात्मक नाटक ‘द केभ’मा एउटा रमाइलो प्रशङ्ग छ । सूर्यको प्रकाशको केही जानकारी नभएका जीवनभरी अध्याँरो गुफामा बसेका मानिसहरुलाई सूर्यको प्रकाशमा ल्याउँदा शुरुमा तिनीहरुले सोझै सूर्यको प्रकाश हेर्न सकेनन् । सूर्यको प्रकाश पचाउन नसकेर शुरुमा त उनीहरु गुफातिरै भागे ।

पछि विस्तारै बस्तुका छाँयातिर फर्किए, विस्तारै तिनीहरु प्रतिबिम्बित प्रकाशका किरण हेर्न सक्न भए र केही समयको प्रयासपछि मात्र उनीहरु सूर्यको प्रकाश सोझै पचाउन सक्ने भए ।

लामो समयसम्म ठूला छिमेकीको छाँयामा बसेको नेपालले स्वतन्त्रता र आत्मनिर्भरताको उज्यालो तत्काल पचाउन गाह्रो पर्छ । छिमेकीको छाँयामा बस्न अभ्यस्त भएकाहरुलाई स्वतन्त्रता र आत्मनिर्भरताको उज्यालोमा ल्याउने के पी शर्मा ओलीलाई राजनेता मान्न गाह्रो हुन्छ ।अहिले भएको यही हो ।

प्रधानमन्त्रीले विना आधार नभै राजकीय मामिला र वैदेशिक मामिलामा अभिव्यक्ति दिने कुराको कल्पना पनि गर्न सकिदैन ।

आफ्नो सीमा जोगाउने, सीमा विवादमा आफ्नो हात तल पर्न नदिने र यो मिसनमा सबै नेपालीलाई डोहोर्याउने साहस भएका प्रधानमन्त्री के पी शर्मा ओलीले हाल आफ्नो मातहतमा रहेको नेपालको खुफिया संयन्त्रको सूचना लिनुभएन भन्न कसैले सक्दैन ।

दशकौंपछि नेपालले छिमेकी भारतसंग प्रष्टसंग आफ्नो पोजिसन लिएको छ । भूगोलमा सानो भए पनि नेपालको राष्ट्रियता सानो र कमजोर छैन भन्ने प्रष्ट बोलेको छ । के पी शर्मा ओली प्रधानमन्त्री भएकै कारण यो संभव भएको हो ।

नेपालमा जे राजनीतिक घटना हुन्छन्, ती छिमेकी भारतकै ईच्छाबमोजिम र ईसारामा हुन्छन्भन्ने केही ‘मुर्धन्य’हरुको बुझाईमा चिसो पानी खनिएको छ ।

नेपाल एक स्वतन्त्र, सार्वभौम राज्य हो र आफ्नो भाग्यको फैसला यो आफै गर्न सक्छ भन्ने मान्यता स्थापित भएको छ । जतिसुकै तथ्य स्वीकार्न गाह्रो भए पनि यो सबै प्रधानमन्त्री के पी शर्मा ओलीकै कारणले भएको हो ।

राम्रो काम गरिरहेका प्रधानमन्त्रीलाई एक कार्यकाल पनि काम गर्न नदिने हो र पदबाट गलहत्याउन पार्टीभित्र वा बाहिरबाट बारम्बार षणयन्त्र हुन्छ भने त्यो स्थीरताको लागि मत दिने नेपाली जनतालाई मान्य हुने कुरा होइन । नेकपाको प्रचण्ड बहुमतको सरकारलाई नेकपाबाहेक कसैले पनि ढाल्न सक्दैन ।

अर्थात् नेकपा विभाजन नभई प्रधानमन्त्री संसदमा अल्पमतमा पर्ने अवस्था नै छैन । प्रधानमन्त्रीलाई सरकारबाट फिर्ता बोलाई हाल्ने तागत जारी नेकपाको स्थायी समितिको बैठकले राख्दैन ।

देश र जनताको हितमा काम गरिरहेको श्रमजीवी जनताको सरकारलाई देशी विदेशी प्रतिक्रियाबादी षणयन्त्रबाट जोगाउनु नेकपाको सबभन्दा प्रमुख जिम्मेवारी हो ।

नेपाली श्रमजीवी जनताको लागि के पी शर्मा ओली नेतृत्वको सरकार नेकपाको हालसम्मकै सबभन्दा ठूलो उपलब्धि हो भन्ने हेक्का सबैले राख्ने कि ?

प्रतिक्रिया
सम्बन्धित