सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

शहीद क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठको नाममा

नेतालाई माफी, कार्यकर्तालाइ फाँसी– यो कस्तो न्याय हो ?

शिवजी श्रेष्ठ २०७६ माघ २५ गते १७:४०

-शिवजी श्रेष्ठ

यसरी नै कमला नदीको खोंचमा जंगल नै थर्किनेगरी आजभन्दा ठिक ४१ बर्ष अगाडि २०३५ माघ २५ गते कराएका थिए२०३१ सालको ओखलढुंगा टिम्बुरबोटे काण्डका कमान्डर क्याप्टेन यज्ञबहादुर थापा । जब उनलाई २०३० सालमा राजा बीरेन्द्रमाथि बिराटनगरमा बम  प्रहार गरेको आरोपमा पक्राउ परेका धनकुटाका भिमनारायण श्रेष्ठसँगै नख्खु जेलबाट निकालेर पोखरामा रहेका तत्कालिन राजा बीरेन्द्रसँग दर्शन भेट गराउने भन्दै झुक्याएर हेटौंडाको जंगलमा झिसमिसेमै गोली हान्न तयार गरिएको थियो । किनभने त्यसै समय कति राजनीतिक मुद्धा भएका मुख्य नेताहरूलाई भने आममाफी दिइएको थियो ।

उनी नेपाली कांग्रेसको सशस्त्र क्रान्ति अन्तर्गत ३१ सालको ओखलढुंगा टिम्बुरबोटे काण्डका फौजी कमान्डर र चर्चित जुम्ल्याहा रामलक्ष्मण उपाध्याय पोलिटिकल कमिसारको रुपमा ओखलढुंगामा रहेका तत्कालिन शाही नेपाली सेनाको ब्यारेक कब्जा गर्ने टोलीमा खटिएका थिए ।

अनेक प्रशासनिक बाधाहरू छिचोल्दै जब टोली सोलुखुम्बु र ओखलढुंगाको सीमाना टिम्बुरबोटेको जंगलमा पुगेर आक्रमणको तयारी गर्न थाले, तर टोलीका लागि खाना लिन गएको फर्केर नआएपछि कुनै अनिष्टको शंका मानेर क्याप्टेन थापाले अब यहाँ बस्नु ठिक हुन्न, सेल्टर लिएको ओढारबाट निस्कौं भन्दा पोलिटिकल कमिसार रामलक्ष्मणले नमानिदिँदा विवाद भएपछी क्याप्टेन थापाले जोजो मसँग आउँछौ आऊ, नत्र यहाँ अब कुनै पनि बेला सेना आउन सक्छ भने । सेनाको क्याप्टेनले बुझेको फौजी कुरा अरुले नबुझिदिँदा सबै ओढारमै बसे, थापा निस्किए, नेपाली कांग्रेसको सशस्त्र टोली आएको कुरा सेना र प्रहरीको गुप्तचरले थाहा पाइसकेका कारण उल्टै सेना र प्रहरीको टोलीले सो ओढारमा ग्रिनेड सहित काउन्टर अट्याक गर्दा रामलक्ष्मणसहित अधिकांशले त्यही ओढारमा नै शहादत  प्राप्त गरे ।

ब्रिटिश सेनाका एलबी गुरुङ मात्रै ओढारबाट निस्केर भाग्न सफल भए। भर्खर बाहिर निस्किएका क्याप्टेन थापा लुक्दै छिप्दै सेना र प्रहरीको आँखाबाट बचेर अगाडि बढे तर दुर्भाग्य त्यहि रात अर्थात् २०३१ सालको पौष मसान्तमा त्यस भेगमा ठूलो हिउँ पर्दा थापा रातभरी एउटा रुखको जरा मुनि ओतिएर बसे, तर खुट्टाको कान्छी औंला भनेर हिउँले खाएर झर्यो । पछि लुक्दै छिप्दै आफ्नो गाउँ पुगेर आफ्नै पुरेतकहाँ पुगेर लुक्न खोज्दा उल्टै पुरेत आत्तिएर गाउँका तत्कालिन प्रधानपञ्चसँग सल्लाह माग्ने हुँदा प्रधानपञ्चले ओखलढुंगाका तत्कालिन सिडीओ पुण्यप्रसाद निरौलालाई खबर गरिदिँदा तुरुन्तै सेनाको घेराउमा परि परालको कुन्यूबाट क्याप्टेन थापा पक्राउ परे ।

सदरमुकाम ल्याउन खोज्दा उनले म हिँडेर जान्न, सक्छौ भने हेलिकप्टर झिकाउ, नत्र यहि गोली हान भनेर हाँक दिँदा काठमाडौँबाट हेलिकप्टर झिकाएर उनी काठमाडौँ ल्याइएर ४ बर्षसम्म राजकाज मुद्धा लगाई २०३५ सालमा मृत्युदण्डको फैसला भएर जेलमा राखिएका थिए ।

त्यसैगरी राजा व्रिेन्द्रमाथि बम हानेको आरोपमा बिराटनगर बम काण्डमा पक्राउ परेका भिमनारायण श्रेष्ठ पनि त्यसरी नै राजकाज मुद्धा लगाएर जेलमै थिए । उन्का काका रामनारायण श्रेष्ठ भर्खर शिक्षा सचिवबाट रिटायर्ड भएका र राजदरबारसँग राम्रो सम्बन्ध भएका नातेदार चन्द्रबहादुर श्रेष्ठमार्फत राजासँग माफी माग्न लगाउन खोज्दा भिमनारायण श्रेष्ठले मानेनन्, उनका बुवा आफैं गएर छोरालाई माफी माग्न भन्दा बुवा, माफी मागेर जेलमा नबस्ने भनेर अस्वीकार गरेका थिए ।

भनिन्छभिमनारायण श्रेष्ठलाई मारिहाल्ला भन्नेचाहिँ लागेको थिएन कि, त्यसैले गोली हानेर मार्नका लागि भनेर प्रहरी आएर बाहिर लैजादै गर्दा पनि उनी मेरो थाल भान्सा मै छुट्यो भनेर लैजान खोजेका थिए, त्यतिखेर सँगै मार्न लैजान लागेका क्याप्टेन थापाले अब किन चाहियो थाल ?अहिले ड़याङ्ग्ग (गोली) हान्छ ।

भनिन्छजेलमा रहेका यसबीचमा यी दुई प्रजातन्त्र सेनानीहरूले बीपीलाई भेट्न खोजेका थिए, जसको लागि जेलमा रहेका नेपाली कांग्रेसका भान्सेमार्फत कुचोमा लुकाएर चिठ्ठी बीपी समक्ष पुराएका थिए, बीपीसँग भेट हुन नसके पनि पछि गणेशमान सिंह जेलमा आएर उनीहरूलाई भेटेका थिए ।

यसरी आजभन्दा ४१ बर्ष अगाडि आजकै दिन जब मार्न भनेर जेलबाट बाहिर निकाल्न भनेर आएका प्रहरीका हवल्दारलाई यज्ञबहादुर थापाले धाप मार्दै जवान, तैंले मलाई गोली हान्न सक्छस् ? जवान भएपछी ड़याङ्ग्ग फायरिंग गर्न सक्नुपर्छ । यो देशमा असल काम भीमसेन थापाले गरेको थियो, अब यज्ञबहादुर थापाले गर्न आँटेको थियो, तर पापी राजाले दिएन ।

जेलमा सँगै रहेका केपी ओली (वर्तमान प्रधानमन्त्री) पनि यी दुवै शहीद सँगै नख्खु जेलमा थिए, केपी ओली जेलमा टीबी रोगले ग्रस्त भएर मरनच्यासे थिए, त्यसैले पनि उनलाई क्याप्टेन यज्ञबहादुर थापा अभिभावक जस्तो भएर असाध्यै माया गर्थे, यसले खान नपाएर हो, खान पाए तंग्रिन्छ’ भन्दै केपी ओलीलाई आफ्नो भागको खाना पनि लगेर दिन्थे

तब ती प्रहरी हवल्दार भावुक पनि भए र ट्वाँ परेका थिए । कुनै दिन शाही नेपाली सेनाकै क्याप्टेनको रुपमा २०१८ सालमा सशस्त्र क्रान्तिमा लागेका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई पक्रिएर नाम कहलिएका थापा अवकाशपछि अन्तत्वगत्वा झोरा काण्डमा पक्राउबाट बच्न भारत पुगेर उही नेपाली कांग्रेसमा समाहित भएर त्यहि शाही नेपाली सेनाबिरुद्ध आक्रमण गर्न पुग्दा मृत्युदण्ड पाउने नियतिमा पुगे ।

४ बर्ष जेलमा रहँदा प्राप्त हुने रसद पानीले खान नपुगेर क्याप्टेन थापाले जेलभित्रै बिभिन्न बन्दीहरूसँग ऋण लिएका रहेछन् । तर मार्न लैजाने बेलामा त्यो ऋणको पिरोलोले उनलाई छाडेन । ऋण खाएर मर्न मन नलागेको भन्दै सँगै रहेका राधाकृष्ण मैनालीलाई ऋण दाताको लिष्ट बनाएर मेरा छोरा भाइहरूले आएर तिरेछन भने ठिकै छ, नत्र तपाइले तिरिदिनु है, तपाईको ऋण त राजनीतिक मान्छे भएकोले पाप नलाग्ला भनेर बिदा भएको कुरा सँगै जेलमा रहेका मैनालीली आफ्ना नलेखिएका इतिहासमा लेखेका छन् ।

पछि २०३६ सालमा नेपाली कांग्रेसका कार्यकर्ता सत्यनारायण खनालमार्फत नेपाली कांग्रेसले त्यो ऋण तिरिदिएको थियो ।

२०३५ साल माघ २५ गते जेलबाट बाहिर निकालेपछि दुबैजनालाई पहरी हेडक्वार्टर लगेर फरकफरक गाडीमा हालेर लगियो, लैजाने बेलामा पोखरामा रहेका राजालाई भेटाउन लागेको भनेको हुँदा उत्साहित हुदै बाटो भरी कुरा गर्दै जादा क्याप्टेन थापाले म राजासँग भेट्दा देशको बारेमा योयो कुरा गर्छु भन्दै जोसिन्थे रे, तर जब मुग्लिन पुगेपछि पोखरातिर नलागी हेटांैडातिर गाडी मोडियो, तब अब के हुँदैछ भनेर कुरा बुझेर होला सायद क्याप्टेन थापाले राजा र राजतन्त्रलाइ गाली गर्न थाले, तर भिमनारायण श्रेष्ठ भने गम्भीर भएर चुपचाप लागेर बसेका थिए रे ।

हेटौडाबाट दक्षिण, राजमार्गको दाहिनेतिरको जंगलको अलगअलग रुखमा बाँधेर दुबैजनालाई गोली हानेर मृत्युदण्ड दिइयो । त्येतिखेर नै नेतालाई माफी, कार्यकर्तालाई फाँसी ? यो कस्तो न्याय हो ? भनेर क्याप्टेन थापा कराएका थिए ।

देशमा परिवर्तनका लागि बम अनि बन्दुक बोकेका र आफ्ना प्राण नै उत्सर्ग गरेका यस्ता होनहार वीरहरूलाई अचेल विरलै सम्झिने गरिन्छ । उनीहरूलाई गोली हानेर मारिएका अर्थात् उनीहरूले बीरगति प्राप्त गरेका स्थानको खोजी र पवित्र थलोका रुपमा स्मरणयोग्य बनौए कार्य न त कुनै सरकारले गर्यो, न त त्यसको लागि पार्टीले नै पहल गर्यो । उनीहरूका शालिक बनाउने वा स्मारक बनाउनु त के सम्मानित शहीदको लहरमा राख्न पनि धेरै समय लाग्यो । यस प्रसंगमा प्रजापरिषद् काण्डमा शहादत प्राप्त गर्नु भएका शहीद गंगालाल श्रेष्ठका कान्छा भाइले केहि दिन अगाडि शहीद दिवसको सन्दर्भमा भनेका शब्दहरू सापट लिँदा झ्यालमा बसेर रमिता हेर्दा गोली लाग्ने अनि गाडीले किचिएर मर्नेहरू पनि शहीदको मान्यता प्राप्त गरेर दाजुकै लहरमा नाम देख्दा मन कुँडिएर आउँछ

तर यसरी विरत्व प्राप्त गरेका शहीदहरू कुनै पार्टीका मात्र हुँदैनन्, ती त सम्पूर्ण देशका नै हुन्छन् । देश अनि सरकारले खोजी गर्नुपर्छ उनीहरूको बारेमा अनि उनका परिवारका बारेमा ।

शहीद क्याप्टेन थापाका बिधवा धर्मपत्नी पूर्णकुमारी थापा अझै पनि जीवित छन् । ९० बर्ष काटेकी उनीलगायत केही प्रजातन्त्र सेनानीहरूलाइ गत बर्ष ओखलढुंगामा सुर्यश्री ट्रष्टले सम्मान कार्यक्रम राख्दा समयमै आइपुगिनन् पछि हामीले खोजी गर्दा खेतमा काम गर्ने खेताला भएको थियो, आफंै खाजा बनाएर खुवाउनु पर्ने भएकोले आइनपुगेको थाहा पायौं ।

शहीद क्याप्टेन यज्ञबहादुर थापाका ९० बर्ष नाघिसकेका शहीद पत्नीको त त्यो हबिगत छ भने अरु शहीद परिवारको अबस्था के होला ? जुन कुरा सुन्दा पनि हृदय विदारक छ । शहीदहरू पार्टी पार्टीमा भाग लाग्ने, विचारविचारमा बाँड्ने गरेकोले पनि सायद यस्तो अबस्था सिर्जना भएको होला ।

अरु जे भए पनि त्यसबखत सँगै जेलमा रहेका झापा काण्डका राजबन्दी राधाकृष्ण मैनालीले लुटिएका दुई थुंगा फूलमा लेखेका छन्, ‘जेलमा सँगै रहेका केपी ओली (वर्तमान प्रधानमन्त्री) पनि यी दुवै शहीद सँगै नख्खु जेलमा थिए, केपी ओली जेलमा टीबी रोगले ग्रस्त भएर मरनच्यासे थिए, त्यसैले पनि उनलाई क्याप्टेन यज्ञबहादुर थापा अभिभावक जस्तो भएर असाध्यै माया गर्थे, यसले खान नपाएर हो, खान पाए तंग्रिन्छ भन्दै केपी ओलीलाई आफ्नो भागको खाना पनि लगेर दिन्थे

अहिले त्यसरी नै तंग्रिएका केपी ओली देशका प्रधानमन्त्री छन् । उनीले आफ्नो दैनन्दिनको व्यस्ततामा सायद यस्ता नायकहरूलाईसम्झिनु भए पनि नभए पनि जेलमा बस्दाका आफ्ना ति कठोर दिनहरू त बेलाबखत पक्कै सम्झिन्छन् होला नि ?

ति दिन अनि कठोर क्षण र जेलमा पर्याप्त खाना खान नपाएर टीबी रोगले ग्रस्त हुँदाका बखत आफ्ना छाक काटेर अझै भनौ ऋण लिएर आफूलाई ताकतिलो कुरा खुवाउँदै गरेका एउटा बृद्ध (७१ बर्षिय) अनुहार बेलाबखत मानसपटलमा झस्स झस्स आउदो पनि हो ।

एकछिन सोचेर ती दिनहरू अनि आफ्ना बिगत सम्झिएर, अहिलेका सर्बशक्तिशाली प्रधानमन्त्रीले गर्न चाहे नहुने के छ र ? आफूसँगै जेल बसेका अनि आफूलाई माया गर्ने यस्ता वीर शहीदसहित धेरै ज्ञात अज्ञात शहीदहरूको बारेमा खोजी गर्दै यथोचित सम्मानित स्थानमा राख्ने तथा ती शहीदका परिवारको अबस्था खोजी गरेर यथोचित ब्यबस्था मिलाइदिने भए क्याप्टेन यज्ञबहादुर थापा अनि भिमनारायण श्रेष्ठ जस्ता शहीद आत्माले माथिबाट कति धन्यबाद दिन्थे होलान् नि !

ति महान् आत्माहरू क्याप्टेन यज्ञबहादुर थापा अनि भिमनारायण श्रेष्ठलगायत ओखलढुंगा टिम्बुरबोटे काण्ड र बिराटनगर बम काण्डका ज्ञातअज्ञात नायकहरूप्रति शब्द सुमन ।

(सन्दर्भ : ४१ सौ शहीद क्याप्टेन यज्ञ बहादुर थापा तथा भिम नारायण श्रेष्ठ स्मृति दिवस)

प्रतिक्रिया
सम्बन्धित