आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

कोरोना हटाउने कि प्रधानमन्त्री हटाउने महाशय ?

निर्मल भट्टराई २०७६ चैत १६ गते १७:१५

-निर्मल भट्टराई
काठमाडौँ, १६ चैत । आज सिंगो विश्व एक महान युद्ध लडिरहेछ—कोरोना भाईरसविरुद्धको युद्ध । आज ठूला, शक्तिशाली, साना वा कमजोर कुनै राष्ट्रलाई कोरोना भाईरसले चैनसंग बस्न दिएको छैन ।

संसारका प्रायःसबै देश आज ‘लकडाउन’को अवस्थामा पुगेका छन् । विज्ञान र प्रविधिमा भीमकाय फड्को मारेको विश्वले कोरोनाको फैलने गति पछ्याउन सकेको देखिदैन ।

एक अर्थमा यो भाईरसले मानव—मानवविच गरिने युद्धका लागि बनाईएका हज्जारौं अत्याधुनिक हतियारलाई लल्कारिरहेछ, गिज्याईरहेछ । ईतिहासमा विरलै दोहोरिने यस्तो युद्ध सबैले मिलेर जित्नै पर्छ किनभने यो मानव अस्थित्वको सवाल हो ।

युद्ध भ्रम, अफवाह र वास्तविकता श्रृङ्खला बोकेर अगाडि बढ्छ । प्रख्यात अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्वे भन्छन्, जब तपाईं बच्चाजस्तै युद्धमा जानुहुन्छ, आफ्नो मरणको बारे ठूलो भ्रम हुन्छ, युद्धमा अरु मर्छन्, मचाहिँ मर्दिनँ… तर जब तपाईं स्वयं गम्भिररुपमा घाइते हुनुहुन्छ, अनि थाहा पाउनुहुन्छ, यो मलाई पनि घट्न सक्छ ।

केही महिना अगाडि चीनमा प्रथम पटक यो भाईरसको संक्रमण देखिंदा अरुहरुलाई लाग्यो, यो चीनको समस्या हो, हाम्रो होईन । चीन आरोपित भयो, मरेका माओको मुखमा माक्स लगाईयो ।

कोरोना भाईरसले आज युरोप सबभन्दा आक्रान्त छ । अमेरिकी महाद्वीपको कुनाकाप्चा कोरोना दौडिँदैछ । संसारकै सबभन्दा घना आवादी भएको दक्षिण एसियामा यो भाईरसले आफ्नो खुनी पञ्जा फैलाउदै लगेको छ ।

यो भाईरसको फैलने शक्ति र आक्रमण गर्ने तरिकाको सामू त्यसलाई नियन्त्रण गर्ने यस क्षेत्रका सरकारहरुको क्षमता समेत कमजोर देखिएको छ । हर कोही नागरिकको भरपुर सहयोग र सतर्कता नभए सिंगो दक्षिण एशिया सबभन्दा बढी कोरोना पीडित नहोला भन्ने स्थिति छैन ।

नेपाल सरकारको सुरुदेखिकै होसियारी एवं प्रभावकारी कदम, जनताको जिम्मेवार सतर्कता र नेपालीको परम्परागत कतिपय राम्रा संस्कारले आजका मितिसम्म नेपालले कोरोनाको कहालीलाग्दो क्रुरताको शिकार बन्नु परेको छैन । यो आफैंमा गर्व गर्ने विषय हो । विदेशवाट फर्केनेहरुमा फाट्टफुट्ट पर्दैछ ।

यद्यपि नेपालमै बसिरहेका मानिसहरुमा आजका मितिसम्म एकजना पनि कोरोना संक्रमित नभेटिएकोमा केही अफवाहमा रमाउने मानिसहरुलाई उखरमाउलो भएको छ । र, हरेक दिनका केही न केही हल्ला, नक्कली समाचारले नेपाली जनतामा त्रासदीको मात्रालाई बढाइरहेको छ ।

अब सबै नेपालीलाई थाहा भयो—महासंकटको बेला शक्तिशाली सरकार चाहिदोरहेछ । ‘युद्ध’को बेला भड्किन सक्ने विभिन्न अराजकता नियन्त्रण गर्न, हुनसक्ने कालोबजारीलाई काबूमा राख्न, छिटो छिटो निर्णय गर्न र त्यसको कार्यान्वयन गर्न र अन्तरराष्टिय सम्बन्धमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली जनमतले बेलैमा बुद्धि पुर्याएर बनाएको शक्तिशाली सरकार बहुत काम लाग्यो ।

आज सिंगो नेपाल लकडाउनको अवस्थामा छ । पत्तो छैन—यस्तो अवस्था कति समय रहनु पर्ने हो । त्यसकारण अब हाम्रा पितापुर्खाले भन्दै आएको ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा विऊ जोगाउनु’ भन्ने उखान सम्झनु पर्ने भएको छ ।

विदेशबाट आयतित कुकीज, माछा, सी फुड आदि खान बानी परेको हाम्रो फोर जी पुस्तालाई भुटेको मकै, भटमास, कोदोको रोटी, दालभातमा फर्काउनु पर्ने र हलो कोदाली गर्न सिकाउनु पर्ने अवस्था पनि आउन सक्छ ।

प्रसिद्ध अमेरिकी लेखिका हेलेन केलर भन्छिन्, यदि संसारमा आनन्दमात्रै हुन्थ्यो भने मानिसले कहिल्यै बहादुर र धैर्य हुन सिक्दैनथ्यो ।

अर्थात् मानिसले संकट परेको बेलामै हो बहादुरी र धैर्य देखाउने । नेपालीलाई बहादुरी र धैर्य प्रदर्शन गर्ने बेला आएको छ, ढिला गर्ने छुट कसैलाई छैन ।

प्रसिद्ध संस्कृत साहित्यकार कालिदास भन्दछन्, एक असल मानिसले दुःखलाई हात माथि पार्न कहिल्यै दिदैन, जसरी ठूलो आँधी आउदा पनि पहाड शान्त बसिरहन्छ । हो, नेपालमा पनि संसार फैलिसकेको कोरोनाको ठूलो आँधी आउन सक्छ । र, त्यो बेला पनि पहाडजस्तै निडर र शान्त हुनसक्नु नेपालीपन हो, हाम्रोपन हो ।

प्रसिद्ध अंग्रेजी साहित्यकार अलेक्ज्याण्डर पोप भन्दछन्, कोही मानिसहरु कहिल्यै केही सिक्दैनन् किनभने तिनीहरु सबै कुरा अति चाँडो बुझ्दछन् । कोरोनाको विश्वव्यापी महामारीको सन्दर्भमा पनि बढी बुझ्नेहरुको पनि कम विगविगी छैन ।

तिनीहरु केरोना नियन्त्रणको लागि सरकारले गरेका प्रयासलाई ‘नराम्रो’देख्छन् । नेपालमा हालसम्म नभएको कोरोना संक्रमणलाई ‘फैलिसकेको तर सरकारले लुकाएको’ देख्छन् । यस्ता संकटमा बढी बुझ्नबाट बच्न पनि गाह्रो रहेछ ।

आज सबै नेपालीहरु युद्धको लागि तयार भएको अवस्था हो । सरकारको प्रभावकारी नेतृत्वमा यो युद्ध लड्न सबै जनताको एक्यबद्धता प्राप्त भैसकेको छ र यो युद्धका लागि कुनै हतियार उठाउनु पर्ने छैन, बरु सतर्कता, स्वच्छता र शारीरिक सबलता कायम गर्दा पुग्छ । प्रष्ट छ — हामी कोरोना ‘आयात’ गर्न कतै नजाने र ‘निर्यात’ गर्नेबाट टाढै बस्ने हो .

तर जतिसुकै ठुलो संकट आएको होस्, नेपाली राजनीतिक वृत्तमा छिर्के दाऊ चलिहाल्छ – रामचन्द्र पौडेलले माग गरेको सर्वदलीय सरकार होस् वा कोरोना नियन्त्रण र रोकथाम गर्न बनेको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईका विरुद्ध गरिएका आधारहीन प्रचारवाजी होस् या नेकपाकै केन्द्रिय सदस्य रामकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेको प्रशंग होस्, यी सबै राजनीतिक छिर्के दाऊका रुपमा बुझ्न सकिन्छ ।

तर जतिसुकै ठुलो संकट आएको होस्, नेपाली राजनीतिक वृत्तमा छिर्के दाऊ चलिहाल्छ – रामचन्द्र पौडेलले माग गरेको सर्वदलीय सरकार होस् वा कोरोना नियन्त्रण र रोकथाम गर्न बनेको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईका विरुद्ध गरिएका आधारहीन प्रचारवाजी होस् या नेकपाकै केन्द्रिय सदस्य रामकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेको प्रशंग होस्, यी सबै राजनीतिक छिर्के दाऊका रुपमा बुझ्न सकिन्छ ।

चीनको बुहानबाट सुरु भएको कोरोनाको विश्वव्यापी आक्रमण यति शक्तिशाली छ कि संसार हल्लाएर बसेका देशहरुले यो भाईरससंग लड्न सकिरहेका छैनन् ।

बेलायती महारानी एलिजावेथ, राजकुमार चाल्र्स, प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाको संक्रमणबाट पीडित भएकामात्र छैनन्, महाशक्ति राष्ट अमेरिकाले विरामीलाई चाहिने भेन्टिलेटरलगायतका चिकित्सकीय सामग्रीको उचित प्रबन्ध गर्न सकेको छैन । त्यहाँ दिनदिनै परिस्थिति नियन्त्रण बाहिर जान थालेको देखिँदैछ ।

यस्तो अवस्थामा सबै मिलेर संकटको सामना गर्नु पर्नेमा, सरकारले बेलैमा अपनाएको सावधानीका कारण अहिलेसम्म परिस्थिति पुरै नियन्त्रणभित्र रहन सकेकोमा प्रशंन्नता व्यक्त गर्नु त कता हो कता, प्रधानमन्त्री र मन्त्रीहरुको राजिनामा माग्नुले गम्भिर आशंका पैदा गरिदिएको छ ।

कोरोनाले पैदा गरिदिएको यो महासंकटमा भर्खरै तंग्रदै गरेको छिमेकी महाशक्ति राष्ट चीनले कोरोना नियन्त्रणमा नेपाललाई दिन लाृगेको सहयोग देखेर भारुले भान्सा चलाउनेहरु तिल्मिलाएको अनुमान गर्न गाह्रो छैन ।

र, त्यो आशंका हो –कोरोनाको यो महायुद्धमा ओली सरकारले पूर्ण सफलता हासिल गर्यो भने कैयौं वर्ष सत्ता प्राप्तिको आफ्नो अभिलाषा पूरा हुन नसक्ने देखेका विपक्षीहरु र पार्टी्भित्र पार्टी सत्ता र राज्यसत्ता नेतृत्वको पालो पर्खिरहेकाहरुमा मानसिक भूईंचालो जानथालेको हुनसक्छ । कोरोनाको त्रासभन्दा आफ्नो राजनीतिक भविष्यको त्रास बढी हुन थालेको हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित