शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गौर हत्याकाण्डको १७ वर्ष : माओवादी–जसपा दोस्ती, पीडितलाई सधैं सास्ती

दैनिक नेपाल २०८० चैत ७ गते ७:३९

जनकपुरधाम, ७ चैत । २७ जना मारिने गरी गौर काण्ड भएको बुधबार १७ वर्ष पुगेको छ । सो अवधिमा देशमा थुप्रै परिवर्तन भए । तर ती २७ मृतकका परिवार अझै न्याय पर्खिरहेका छन् । गत साउनमा सरकारले पीडित संघर्ष समितिसँग पाँचबुँदे सहमति गरेपछि न्याय पाउने आशा परिवारजनमा जागेको छ । घटनाको स्थालगत अध्यनपछि राष्ट्रिय मानवअधिकार आयोगले १० पृष्ठ लामो प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनले घटनाका कारण र दोषी औंल्याएको छ, आजको नागरिक दैनिकमा खबर छ ।

तत्कालीन राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहले (हाल आम जनता पार्टी) तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई (हाल जनता समाजवादी पार्टी अध्यक्ष) गौर घटनामा मुछ्न खोजेको छ  । यता जसपाले गौर हत्याकाण्ड प्रभु साहको उक्साहटमा भएको आरोप लगाउँदै आएको छ ।

असोजमा सरकारले पीडित पक्षसँग सहमति गरेपछि जसपाले पत्रकार सम्मेलन गरी ‘गौर घटना हुनुमा तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहितको हठ कारक रहेको’ जनाएको थियो । जसपाले उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नसमेत माग गरेको थियो ।

सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी उक्त समितिमार्फत सत्यतथ्य पत्ता लगाई समस्याको समाधान गर्न जसपाले भनेको थियो । घटनामा संलग्न नै नरहेकाहरूलाई बदनियतपूर्ण ढंगले फसाउने कार्य हुन नहुने जसपाको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा १३० जनालाई दोषी भनिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले २०७९ पुस १९ गते गरेको निर्णयअनुसार पनि घटना पूर्वनियोजित, मनशाययुक्त र क्रूर तरिकाबाट गराइएको थियो । आयोगको निर्णयमा भनिएको छ, ‘घटनामा फोरमका तर्फबाट मधेसी मुक्ति मोर्चाको मञ्च भत्काउने र तोडफोड गर्ने कार्य भएपछि त्यसको प्रतिरोधमा पहिलो गोली मधेसी मुक्ति मोर्चाका तर्फबाट चलेको देखियो । जसको प्रतिकारमा फोरमका तर्फबाट माओवादीहरूलाई पूर्वतयारी गरी नियोजित रूपमा नियन्त्रणमा लिई वा लिने क्रममा भएका क्रियाकलाप अमानवीय र क्रूर हुन पुगेको देखिन्छ ।

अपरिचित व्यक्तिहरूलाई लखेटीलखेटी लाठी, भाटा, रड, भालाजस्ता हतियारले कुटीकुटी वा घोचीघोची मारेको, जलाएको, मारिसकेपछि बौद्धिमाईको मन्दिरवरिपरि मृतकको लास घुमाई मूर्तिमा रगत चढाएको भनी उल्लेख भएको राष्ट्रिय मानवअधिकार आयोग र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ को निष्कर्षबाट घटना पूर्वनियोजित, मनशाययुक्त र क्रूर तरिकाबाट घटाइएको देखियो ।’

के भएको थियो ?

२०६३ चैत ७ गते रौतहट सदरमुकाम गौरमा माओवादीका २७ जना कार्यकर्ताको निर्मम ढंगले हत्या भएको थियो । त्यस दिन तत्कालीन मधेसी जनअधिकार फोरमको पूर्वनिर्धारित कार्यक्रमस्थल टसाएरै माओवादीको मधेसी मुक्ति मोर्चाले आम सभा राखेका थिए ।

फोरमले आयोजना गरेको आम सभास्थल र मधेसी मुक्ति मोर्चाको सभास्थल एकै ठाउँ अर्थात् गौरको राइसमिल थियो । माओवादी दस वर्षे सशस्त्र द्वन्द्व बिसाउँदै शान्ति प्रक्रियामा अवतरण हुँदै थियो । मधेस विद्रोहबाट उदाएको फोरमले राजनीतिक उचाइ बनाउँदै थियो । उक्त आम सभामा फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए । तर उनी गौर आएका थिएनन् ।

गौर घटनाको सूक्ष्म अध्ययन गरेका मधेस मामिलामा विद्यावारिधि डा. विजयप्रसाद मिश्र भन्छन्- घटनाको दिन उपेन्द्र यादव गौर पुगेकै थिएनन् । उनी काठमाडौंबाट गौर पुग्न नपाउँदै घटना भएको थियो । त्यसपछि उनी रोकिएका थिए ।सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरूले लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनजिक जम्काभेट हुँदा दुवैले एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

एउटै चौरमा दुवै पक्षले १०० मिटरको दुरीमा मञ्च बनाएका थिए । फोरमको सभा पहिले सुरु भयो । त्यतिबेला माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । फोरमले आयोजना गरेको कार्यक्रममा सहभागीले दिउँसो २ः०५ बजेतिर मधेसी मोर्चाको मञ्च तोडफोड गरे । बदलास्वरूप माओवादीका कार्यकर्ताहरूमा पनि फोरमको मञ्च तोडफोड गर्न थाले । माओवादीको मञ्च तोडफोड हुन थालेपछि विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय मानवअधिकार आयोगले पहिलो गोली माओवादीबाट चलेको उल्लेख गरेको छ । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका २७ जना माओवादी कार्यकर्ताले घटनास्थलमा नै ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए ।

फोरमको मञ्चनजिक ६ जना, तत्कालीन हजमुनिया गाविसमा ११ जना, मुडवलवा गाविस जाने बाटोमा दुईजना, लक्ष्मीपुर बेलबिछुवा गाविसमा दुईजना तथा उपचारका क्रममा गौर अस्पतालमा चारजना र भरतपुर लैजाँदै गर्दा बाटोमा दुईजनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त हत्याकाण्डमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ माओवादी कार्यकर्ताको हत्या भएको थियो । मिश्र भन्छन्स्थ- लगत अध्यनका क्रममा माओवादीले बाहिरबाहिरबाट लडाकु दस्तालाई नै गौरमा उतारेको पाइएको थियो । मारिएकाहरूको तथ्यांकबाट पनि यस तथ्यलाई प्रस्ट्उँछ। मारिने २७ मध्ये गौरका ९ जना मात्र छन् ।

२०६३ मा अन्तरिम संविधान जारी भएपछि त्यसमा संघीयता उल्लेख नगरिएकोभन्दै मधेसी जनअधिकार फोरमले काठमाडौंको माइतीघरमा संविधान जलायो । त्यसपछि फोरम एकाएक चर्चामा आयो । मधेसका नायकका रूपमा उपेन्द्र यादवको उदय भयो । यादवकै नेतृत्वमा मधेस आन्दोलन भए ।

पहिलो मधेस विद्रोह २०६३ पछि गौर हत्याकाण्ड भएको थियो । त्यसको एक वर्षपछि संविधानसभाको पहिलो चुनाव भयो । उपेन्द्र नेतृत्वको फोरमले प्रत्यक्षमा ३० र समानुपातिकमा २२ सिट गरी संविधानसभामा ५२ सिटसहित मजबुत उपस्थिति दर्ज गरेको थियो ।

संविधानसभापछि बनेको माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा उपेन्द्र यादव परराष्ट्रमन्त्री बने । त्यही समयदेखि माओवादी नेतृत्वसँग यादवको घनिष्ठ सम्बन्ध छ । यादव प्रचण्ड नेतृत्वको सरकारमा हरेकपटक सामेल हुने गरेका छन् ।

गौर घटनाबारे २०६४ चैत २८ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भए पनि हालसम्म कसैलाई कारबाही नभएको पीडित परिवारको गुनासो छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटना उचाल्ने गरिएको बताए ।

गत भदौमा जसपानिकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले आयोजना गरेको ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषय विचार गोष्ठीमा प्रवक्ता सुमनले संघीयता र गणतन्त्रका लागि लडेका जसपाका अध्यक्ष यादवलाई विवादमा तान्न, राजनीतिक रूपमा समाप्त गर्न र विवादमा ल्याउन षड्यन्त्रपूर्वक गौर घटनालाई बाहिर ल्याइएको बताएका थिए । जो व्यक्ति घटनास्थलमा उपस्थित नै थिएन, ती व्यक्तिलाई पनि घटनामा मुछेर निर्दोषलाई बलजफ्ती फसाउन खोजेको प्रस्ट भएको उनले बताए ।

तत्कालीन मधेसी जनअधिकार फोरमले गौर राइस मिलमा कार्यक्रम गर्ने भनेर स्थानीय प्रशासनबाट अनुमति लिएको तर माओवादीले दुई दिनअगाडि कार्यक्रमको घोषणा गरेर प्रचारप्रसारमा लागेको र स्थानीय प्रशासनसँग अनुमति पनि नलिएको उनको भनाइ थियो ।

स्थानीय प्रशासनले पटकपटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दा, सामूहिक छलफलका लागि बोलाउँदा पनि तत्कालीन माओवादी नेता प्रभु साह बैठकमा नआएको र जानीजानी गौर घटना गराएको उनले दाबी गरे । ‘गौर घटनाका कोही दोषी छन् भने प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ,’ मनीष सुमनले भने ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा पनि स्थानीय प्रशासनले पटक–पटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दा, सामूहिक छलफलका लागि बोलाउँदा पनि तत्कालीन माओवादी नेता प्रभु साह अनुपस्थित रहेको उल्लेख छ ।

मधेस मामिलाका विश्लेषक डा. मिश्रले भने, ‘उपेन्द्र यादवले राजनीतिमा जुन हाइट लिनुभएको छ, त्यसलाई समाप्त गर्न गौर घटनामा उहाँको नाम उचालिएको हो । उपेन्द्र यादव घटनास्थलमै नभएपछि उहाँको नाम जोडेर उचाल्नुले बदनियत प्रस्ट हुन्छ ।’

त्यो घटनामा फोरमका कार्यकर्ताले भन्दा पनि माओवादीबाट आजित भएका जनता आक्रोशित भएर घटना गराएको मिश्रको विश्लेषण छ । उनका अनुसार त्यो बेला फोरम राजनीतिक दल पनि थिएन । संगठनिक रूपमा माओवादीलाई सिध्याउने ताकत फोरमसँग थिएन। मिश्र भन्छन्- माओवादीको ज्यादतीबाट आजित स्थानीय र अन्य दलका मानिसको सामूहिक आक्रोश त्यस दिन विस्फोट भएर घटना हुने गएको मिश्रको विश्लेषण छ ।

मिश्र भन्छन्, ‘दुवै पक्षले एकै स्थानमा कार्यक्रम गर्दैछन् भन्ने जानकारी प्रशासनलाई पहिला नै थियो । तर घटनास्थलमा थोरै मात्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । दुई पक्षीय भिडन्तपछि घटनास्थल रणभूमिमा परिणत हुन थालेपछि उनीहरू पनि भागेका कारण घटनास्थल सुरक्षाकर्मीविहीन बनेको थियो ।’

एचआरटिएमसिसीको अध्ययन प्रतिवेदनअनुसार घटनाका बेला प्रमुख जिल्ला अधिकारी प्रहरीको सम्पर्कमा थिएनन् । स्थिति नियन्त्रणबाहिर गइसकेको र घटनास्थलमा ६ जनाको शव प्राप्त भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी सम्पर्कबाहिर रहेकाले प्रहरी उपरीक्षक आफैले दिउँसो २ः४५ बजेदेखि कफ्र्यु जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

दुईपक्षीय झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरेको तत्कालीन प्रहरी उपरीक्षकले अध्ययन प्रतिवेदन टोलीसँग भनेका थिए । त्यसपछि पनि स्थिति सामान्य नभएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो  ।

टोलीले भिड नियन्त्रण गर्न कैयौं पटक हवाई फायर गर्‍यो । दिउँसो २ः०५ बजे झडप भयो । २ः१० बजे प्रहरीको थप बल घटनास्थल पुगेको थियो । २ः४५ बजेदेखि कफ्र्यु जारी भन्दै माइकिङ गरिएको थियो । त्योबेलासम्म जे नहुनुपर्ने सबै भइसकेको थियो ।

गौर घटनापछि माओवादी र फोरमबीच पानी बराबरको अवस्था सिर्जना भयो । राजनीतिमा जे पनि सम्भव छ भनेजस्तै दुवैबीचको दुस्मनी धेरै दिन चलेन । कारण, शान्ति प्रक्रिया भर्खरै सुरु भएको तरल अवस्थामा गौर घटनाको छानबिन हुन सक्ने अवस्था थिएन । त्यसैले भएन पनि ।

माओवादी आफैं पनि युद्ध गरेर आएको र कैयौं नेतालाई उस्तै खालको मुद्दा पनि रहेकाले ऊ मौन बस्यो । पहिलो संविधानसभापछि पहिलो ठुलो दल बनेको माओवादीले मधेसको ठुलो शक्ति बनेर आएको फोरमलाई सत्ता सहयात्री बनाएर सरकार चलायो । त्यसपछि अहिलेसम्म पनि दुवै दल एउटै सरकारमा सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित