शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बाबुरामको नियति नै विभाजन  !

दैनिक नेपाल २०८० चैत ४ गते ७:५२

काठमाडौं, ४ चैत । डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ । महिन्द्र यादव पक्षले अध्यक्ष भट्टराईलाई नै ‘बाइपास’ गरी नेसपालाई नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

नेसपा यादव पक्ष र माओवादी केन्द्रले शनिबार दुई पार्टीबीच एकताका लागि लिखित सहमति गरेका छन् । यो सहमतिसँगै अब आधिकारिक नेसपा कसको भन्ने विवाद सुरु भएको छ, आजको नागरिक दैनिकमा खबर छ ।

यादव पक्षले आधिकारिक नेसपा आफू नेतृत्वको भएको र माओवादीसँग एकताको निर्णय बहुमतबाट भएको दाबी गरेको छ । भट्टराई पक्षले भने शनिबारको सहमतिलाई पार्टी एकताको नभई केही व्यक्ति माओवादी केन्द्रमा प्रवेश भनेको छ ।

भट्टराईको राजनीतिक जीवन सन् १९७७ मा प्रवास (भारत) बाट सुरु भएको हो । सन् १९७७ मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका थिए । त्यसयता आबद्धता र स्थापना गरी उनका १२ वटा पार्टी भइसकेका छन् । सन् १९८१ मा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

पार्टीमा उनको पहिलो आधिकारिक संलग्नता त्यही थियो । त्यसयता पार्टी फेर्ने र नयाँ गठन गर्ने क्रम हालसम्म जारी छ । नेकपा माओवादीको स्थापनाकालदेखि २०७२ सालसम्म उनी त्यसैमा रहे । भट्टराई संयुक्त राष्ट्रिय जनआन्दोलनको केन्द्रीय प्रवक्ता भए ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा पनि उनी रहे । यसैगरी उनको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), संयुक्त जनमोर्चा, नयाँ शक्ति पार्टी, समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) मा पनि रह्यो ।

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलग्गिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए । २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै उनले समाजवादी पार्टी नेपाल गठन गरे ।

२०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भयो । उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भयो ।

महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए । लोसपा गठनपछि भट्टराई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए । जसपामा उपेन्द्र यादव यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला भट्टराईले फेरि नयाँ पार्टी गठन गरे ।

जसपामा विवाद चर्किएपछि भट्टराई पक्षीय नेताहरूले २०७८ माघ १० गते समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए । २०७८ फागुन १० गते उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । २०७९ असारमा उक्त पार्टीको नाम परिवर्तन नेसपा बनाइएको हो ।

आरोप–प्रत्यारोप

भट्टराई पक्षले यही चैत ४ मा कार्यकारिणी समिति र ५ मा केन्द्रीय समिति बैठक बोलाएको छ । भट्टराईले बोलाएको बैठकमा सहभागी नहुने घोषणा यादव पक्षले गरेको छ । कार्यकारिणी समितिको बैठक बस्ने अघिल्लो दिन यादव पक्षले माओवादीसँग पार्टी एकताको घोषणा गरेको हो ।

माओवादी र यादव पक्षबीच शनिबार भएको सहमतिलाई भट्टराई पक्षले माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक बचपन भनी टिप्पणी गरेको छ ।

‘उहाँ (दाहाल) जत्तिको मान्छेले नेसपाका दुई–तीनजना मान्छेलाई भित्रायाएर पार्टी एकताको घोषणा गर्नुभएको छ । यो भनेको उहाँहरूको राजनीतिक बचपन र कमजोर बुझाइ हो,’ भट्टराई पक्षका नेता तथा कार्यालय प्रमुख रोशन पोखरेलले भने, ‘उहाँहरूसँग बढीमा ७ प्रतिशत केन्द्रीय समिति र कार्यकारिणी सदस्य छन् । सबै सदस्य हामीसँग हुनुहुन्छ ।’

यादव पक्ष पार्टीको महाधिवेशन गर्न डराएको भट्टराई पक्षको दाबी छ । ‘महाधिवेशन भएको भए उहाँ (महिन्द्र यादव) अध्यक्ष त परै जाओस्, सदस्यसमेत हुनुहुन्थेन,’ उनले भने ।

महिन्द्र पक्षका नेता तथा नेसपाका महासचिव रमेश यादवले शनिबार निकालिएको विज्ञप्ति नेसपाको आधिकारिक भएको बताउँदै बहुमत कार्यकारिणी सदस्य र केन्द्रीय समिति आफूतिर भएको दाबी गरेका छन् । अहिले नेसपामा प्रतिनिधि र प्रदेशसभामा गरी चार सांसद छन् ।

प्रतिनिधिसभामा महिन्द्र यादव र उमरावती यादव सांसद छन् भने प्रदेशसभाअन्तर्गत बागमतीमा गंगानारायण श्रेष्ठ र गण्डकीमा फणीन्द्र देवकोटा सदस्य छन् । यी चार सांसदलाई व्यक्तिगत रूपमा माओवादी केन्द्रमा लैजान कानुनी रूपमा समस्या छैन । किनभने यी चार सांसद गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको चुनाव चिह्नबाटै निर्वाचनमा सहभागी  भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित