शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सपनाको अवसान…

बीबी श्रेष्ठ २०७९ असार १० गते ९:३९

बीबी श्रेष्ठ

सडकको सम्मुखमा पातीले बारिएको कटेरा, सुनसान वस्ती, जमघटका लागि पनि असम्भव, त्यही कुटीको बीचमा असङ्ख्य सपनाका बाढीहरू ।

नयनको त्यो मृगतृष्णाको पर्खाई पनि कति कति । लाग्दथ्यो, यहि सपनाको बीचमा आशाका लाखौँ त्यान्द्रोहरू । प्रस्फुटनका लागि उकुशमुकुश, त्यो उकुशमुकुश वुझ्न सानो प्रयासमा सम्भावनाविहीन । लाग्दथ्यो, यहि सपनाको झाडीमा फूलेका फूलहरूले अकार ग्रहण गर्ला कि नगर्लान ? मनभित्रको व्यथामा यो पापी समय सधैं अवरोधक बनिदियो ।

चाहना र आकांक्षाको भुमरीमा तैरिन खोज्ने सपनाहरू क्षितिजमा रहे पनि प्राप्तीको माध्याम अनिश्चित बनिदिदाँ मन भित्रका ज्वारभाटाहरू कयौँ दिन रात दन्किरह्यो । चुनौती र सम्भावनाका बीचमा आउने अवरोधहरू मस्तिष्कमा प्राप्तीका कल्पनाहरू अनगिन्ती रहे । समान्य विषयवस्तु तर समाजको अगाडि देखाउनुपर्ने वाध्यतामा ओत्न नसकेका पानीको थोपाले चुहिरहेको कुटी भित्र पनि नयनको स्पन्दनमा सधैं तारन्तार आइरह्यो । कुनै दिन त प्राप्ती अवश्य नै हुनेछ । सोचमा यहि खेल्नुको विकल्पमा अन्य रहेन ।

पुरातनवादी समाज, सोचको बन्धकता भित्रको तानाशाही आत्माहरू, अर्धचेत भए पनि घमण्डको राजा । यही भित्रको दास मानसिकतामा विवश हुनुबाहेक अन्य विकल्प थिएन । समाज उही, व्यक्तिको चेतना उही, तर दम्भ पनि उही, यहिभित्र हुर्केको असङ्ख्य सपनाको महलहरू जन्मन नपाउँदै तुहिने पो हो कि भन्ने, उत्कष्ट चिन्ता । समय बित्यो, त्यहीको निरन्तरता र भगवानलाई धिकार्नु र कर्मको खोट देखेर कल्पना र सपनामा फेरि पनि सपना देख्नुको विकल्पहीन यात्रा ।

भगवानमा पनि दया पलाएछ क्यारे, कर्मले पनि ओत ढाकेछ क्यारे, वरपरको हरियालीले पनि आनन्दित भएर खुशीयाली दिएझैं । वरपरको धानका बाला पनि झुलिरहेछ । झाडीभित्रका फूलहरूले पनि सुगन्ध दिइरहेको छ । संसारको सबै खुशीहरू पनि आफनै काखमा आएजस्तो । वर्षौंदेखिको सपनाले सार्थकता पाएको बेला, तर पनि मुख्य कारक सँगै नुहदाँ र विश्वास नहुदाँ पनि कहिँ कतै खल्लो भएजस्तो । तर, त्यो प्राथमिकतामा परेन । किनकी वषौंदेखिको सपनाले धर्तीमा बिराजमान भएछ । खुशीको कुनै सीमा नै छैन । लाग्दछ, यो धर्तीमा म जतिको खुशी कोही छैन, किनकी आज मैले जीवन पाएको छु, सम्पूर्ण चिज पाएको छु । मेरो मुटुको टुक्रा पाएको छु । अब मैले जितेको छु । यहि नै मेरो वाँच्ने आधार, यहि नै जीवन । धर्तीमा आगमन सँगै सबै खुशी, लाग्दथ्यो, सबै खुशी होलान्, त्यो निश्चल मस्तिष्कमा यहि मात्र छाइरह्यो ।

निश्चल आत्माको सोच र सपना गर्भ हुँदै धर्तीमा र बालापन हुँदै वयष्कसम्म आइपुग्दा कति जननीहरूको आत्माले शान्ति पायो होला ? सपनाको त्यो महल कति पूरा भए होलान् ? ती जननीहरूको सोच नै गलत होला कि हाम्रो सोच ? सोच्ने अधिकार सबैमा भए पनि सोचको सार्थकता भित्रको आत्माको पुकारले कति न्याय पायो होला ? साँच्चै प्रकृतिको यो अनुपम छटालाई बुझ्न सकिएमा त्यो सपनाको अवसान हुन्थेन कि ? ….त्यो सपनाको अवसान हुन्थेन कि ?

सोचको एकाकारले सबैलाई त्यसैमा केन्द्रित बनिदियो । जुन उसले वर्षौंदेखिको सपना देखेको थियो, जुन उसको काखमा अन्योन्याश्रित बनेर हेरिरहेको थियो । वातावरण प्रतिकुलता रहँदा आँखामा छल्किएको त्यो आँशु भन्दा लाखौं गुणा बढी त्यो सपनाको आँखाबाट बगिरहेको थियो ।

आरोहअवरोह, अभाव, आक्रोश, ज्यादती समान्य लाग्ने । किनकी आज उसले सबै पाएको छ । जीवनको उत्तराद्र्धमा सबै खुशी दिनेछ । संसार जितेर पुनः काखमा हालिदिनेछ । सबै मेरा वरपर घुम्नेछ । संसारमा प्रसिद्धी कमाउनेछ । सोच पनि कति कति । जसको व्याख्याता त्यही सपनाको जननीले अन्तरआत्मामा मात्र गर्न सक्ला । सायद यहि सपना सबैमा रहला कि कमैमा मात्र ? प्रश्न अनुग्रहित बनिदियो । पातीले बारिएका चुहिने कटेरा पनि महलझैं लाग्ने । खुशीले खुट्टा नै भुइँमा नै नरहे झै । हिजोका अतितहरू आज स्वागत गरिरहेका जस्तै । त्यहि ताते तातेमा साटिएका खुशीहरू नै जीवनको सबैभन्दा महत्वपूर्ण पलहरू बने क्यारे । बहकिएका बोलिहरू नै सबैभन्दा सुन्दर ध्वनी बने क्यारे ।

जीवनका सबैभन्दा सुन्दर पल पनि त्यहि अवोधतामा प्राप्त भएक्यारे । वर्षौंदेखि हेपिएका, गुम्सिएका सम्पूर्ण पीडाहरू एकाएक खुशीका बाढीहरू बने क्यारे । अवका जीवन नै आफ्नो नभए जस्तो । सम्पूर्णता नै त्यहि सपनामा बिलिन भएजस्तो । बाँचेको छ केवल त्यही जीवनका लागि, खुशीका लागि । अब विस्तारै सम्पूर्ण देखिएका सपनाहरू साकार हुनेछन् । खुशीहरू एक पछि अर्को हुँदै आसिन हुनेछन् । प्रसिद्धीले शिखर चुम्नेछ । धर्ती नै बल्नेछ । त्यहीभित्र हिजोका सम्पूर्ण पीडाहरू पुरिनेछन् र नयाँ पालुवा जन्मनेछ ।

समयको निरन्तरताको उपज हो वा मानसिकताका दिवास्वप्न । चेतनाको कमी होस वा खुशीको उन्माद । खुशीको पनि निश्चित मात्रा हुन्छ, सायद त्यो नै सत्यता होला । विश्वासको पनि सीमा होलान् । त्यसको मापनतामा चेतनाको कमी । मानव जीवनको सबैभन्दा ठूलो भुल यही हुनुपर्दछ । त्यही भुलभित्र सपना देख्नेहरूको बग्रेल्ती भीडले संसार नै ढाकेका छन् । त्यही ढाकेका संसारभित्र सम्हालिन सक्नेहरू नियमनभित्र परे, अरु सबै अफसोच ।

अन्तत्वगोत्व, उही निरन्तरता मात्र । सपना देख्नु, कल्पना गर्नु व्यक्ति वा जीवितताको अधिकार भए पनि त्यसको आवश्यकीय मात्रामा रहन नसक्नु नै जीवनको मुख्य भुलहो क्यारे ! त्यही भुलमा अभ्यस्त बनेर बाँच्न लालयित बनिरहेका छन् । सपनाको फूलहरू सजाइरहँदा, त्यो फूल फुलेर कोपिला हुँदै, सुगन्धित भइरहँदा त्यो मनोकांक्षा त्यो वृक्षले कति प्राप्त गर्यो होला ?त्यो सपनाको जननीले प्राप्तिको आनन्दीमा कति आभास गर्यो होला ? त्यसको वोध त्यो जननीले गर्यो कि गरेन होला ? खुशीको चाङ्गमा टेकेर अन्य खुशीको चाहना गर्यो कि त्यसमा नै आत्मरति गर्यो होला ?

साँच्चै त्यो अमुक आत्माभित्र यो भौतिकवाद सधैं अवरोधक बन्छ क्यारे ? निश्चल त्यो सोचभित्र पनि यही भौतिकता हाबी हुन्छ क्यारे ? जसले सधैं सुन्दर सपनाको अवसान बनिदिन्छ क्यारे ? आत्माको पुकार र चाहनामा भौतिकवाद भए पनि आत्मा सुगमता सधैं अमर रहन्छ क्यारे । आत्माभित्रको सोच र सपना गर्भ हुँदै धर्तीमा र बालापन हुँदै वयस्कसम्म आइपुग्दा कति जननीहरूको आत्माले शान्ति पायो होला ? सपनाको त्यो महल कति पूरा भए होलान ? ती जननीहरूको सोच नै गलत होला कि हाम्रो सोच ? सोच्ने अधिकार सबैमा भए पनि सोचको सार्थकता भित्रको आत्माको पुकारले कति न्याय पायो होला ? आत्माको पुकार धर्तीमा पदार्पण हुँदै पाएको खुशीको आलिङ्गन धर्तीमा विलिन हुने अन्तिम पलमा देखिएको त्यो नयनभित्र विलिन भयो कि भएन ?

साँच्चै सोचको विविधताभित्र हराउनु नै निश्चल आत्माको पुकार होला । धर्तीमा अवतरणपश्चातको घटनाक्रम त्यो निश्चल आत्माको पुकारको अवरोधक मात्र रहेछ, जसलाई हामीले जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष ठानेर अनवरत रूपमा बोकेर हिँडिरहेका छौँ । साँच्चै प्रकृतिको यो अनुपम छटालाई बुझ्न सकिएमा त्यो सपनाको अवसान हुन्थेन कि ?

प्रतिक्रिया
सम्बन्धित