मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

आईजी सिंह: कर्ण पनि, अर्जुन पनि

विनोद ढकाल २०७९ जेठ २८ गते १०:३१

महाभारतमा कुन्तिका ६ सन्तानका आफ्ना महत्व छन्। कुरुक्षेत्रमा एउटाले वीरगति प्राप्त गरे पनि उसको दानवीरता र भूमिकालाई इतिहासले, ग्रन्थले कहिल्यै पनि अबमूल्यन गरेको छैन।

सन्दर्भ कर्ण–अर्जुनकै हो। कर्ण बचनमा पक्का र कर्मका लागि अठोटसिद्ध थिए। उनले कौरव सेनापति दुर्योधनलाई दिएको बचनअनुसार संगठनात्मक नेतृत्वलाई असफल हुन दिएनन्। सैनिकप्रति सँधै उदार भए। अब्बल सैन्य अधिकारीलाई मौका दिए, आफैं पनि अन्तिमसम्म सक्रिय भए।

अर्जुन लक्ष्यप्रति लालयित थिए। उनी श्रीकृष्णको ज्ञानको शिल्पमा धर्मको पक्षमा निरन्तर लागिरहेका थिए। धर्म अर्थात् न्यायका निम्ति, सत्य कर्मका निम्ति। लक्ष्यका निम्ति अर्जुनको महिमा नै अहिले पनि सुनाउने गरिन्छ।

यी दुवै भूमिका र सन्दर्भ अहिलेको नेपाल प्रहरी संगठनसँग जोडिन्छ। सुरक्षा र संगठनको सवालमा अर्जुन र कर्ण दुवैको भूमिका संगठन प्रमुख उभिनुपर्छ।

सुरक्षा कुनै उत्पादन होइन, यो एउटा प्रक्रिया हो भन्ने मनस्थितिको मार्गमा नेपाल प्रहरीको यात्रा सुरु भइसकेको छ। यो प्रक्रियाको अहम् अंग र जनताको तल्लो इकाईसँग सिधा पहुँच भएको सरकारी निकाय अथवा राज्य भन्नु नै नेपाल प्रहरी हो।

चलिरहेको प्रक्रिया अझ प्रभावकारी बनाउने कमान्डरले खास अर्जुनदृष्टि कायम गरिसकेका छन्। उनको दृष्टिमा जनताको सुरक्षा, सुरक्षित समाज, अपराधशुन्य समुदायका निम्ति अध्याय र अभ्यास प्रारम्भ भइसकेको छ।

कम जनशक्ति, बजेटको पनि अभावबीच शान्ति सुरक्षाका साथ स्थानीय निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी सक्षम भयो। भर्खर नियुक्त भएका प्रहरी प्रमुखका रुपमा धीरजप्रताप सिंहका लागि स्थानीय चुनाव एउटा ठूला चुनौति थियो। तर, संगठनका विभिन्न विभागमा नेतृत्व सम्हालिसकेका कारण संगठनमा हाँक देखाउनका लागि खासै धेरै त सकस भएन होला तर राजनीतिक दलका दबाबबीच सुरक्षाको महत्वपूर्ण घेरालाई कसी लगाउनु असाधारणचाहिँ थियो।

सिंह संगठनका विभिन्न ओहदामा रहँदा पाएका जिम्मेवारीमा अब्बल रहेकै कारण नेपाल सरकारले प्रहरी महानिरिक्षक (आईजी) नियुक्त गरेको थियो र उनले स्थानीय चुनावमा त्यसलाई एक तहमा प्रमाणित गरिसकेका छन्।

उनका काँधमा अब आईजीको फूली मात्र होइन संगठनका ७० हजार प्रहरी कर्मचारीको जिम्मेवारी, प्रोत्साहन, दण्ड र सांगठनिक संरचनालाई अब्बल बनाउने उत्तरदायित्व त छ नै, अपराधशुन्य समाजका निम्ति चलायमान प्रहरी संगठनको अर्जुनदृष्टि राख्नुपर्ने अवस्था छ।

उनीअघिका आईजीले संगठनको गतिलाई कुन तहमा लगेका थिए र आउने पुस्तालाई कुन लयको संगठन जिम्मा लगाएर जानुपर्छ भन्ने मार्गचित्र कोर्न सिंह सक्रिय रहनेछन्। त्यसैले त जिम्मेवारीमा आउनासाथ उनले भनिसकेका छन्,‘संगठनमा कुनै पनि अनुचित गतिविधि सह्य हुनेछैन।’

स्वतन्त्रताको पूर्वावस्था भनेको सुरक्षा नै हो। लोकतान्त्रिक मुल्य मान्यता र स्वतन्त्रताको उपभोगका निम्ति सुरक्षा अभिन्न अंग हुन्छ। यसकारण पनि मुलुकले रोजेको स्वतन्त्रताको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्नका निम्ति आईजी सिंहको सक्रियता बलियो देखिन थालेको छ

आईजी सिंहले अपराधको राजनीतिकरण रोक्नका लागि भूमिका खेल्नेछन्। उनले आफू माथाहतका अधिकारीलाई प्रशिक्षित गर्दै भनिसकेका छन्,‘कुनै पनि अपराधमा संलग्नसँगको साँठगाँठ सह्य हुनेछैन। तुरुन्त कारबाही हुनेछ।’

राजनीतिको अपराधिकरणलाई पनि आईजी सिंहले सह्य वा नजरअन्दाज गर्ने विषय मानेका छैनन्। जहाँ अपराध हुन्छ त्यहाँ नेपाल प्रहरीको कानुनी हस्तक्षेप अनिवार्य हुनेछ भन्ने सन्देश दिइसकेका छन्।

आईजी सिंहले महत्वपूर्ण रुपमा अर्को विषयलाई उठान गरिसकेका छन्। प्रहरी अधिकारीको कार्य सम्पादनका आधार एउटा भयो तर अपराध अनुसन्धान र संगठनको मर्यादानुकुल अब्बल हुँदा कुनै पनि जिल्लालगायतको कमान्ड प्रदान गरिनेछ। मुलुकको शान्ति सुरक्षाको दृष्टिकोणले एउटा प्रहरी कमान्डरको यो रणनीति आफू सफल हुने मात्र होइन, संगठनलाई दिर्घकालिन रुपमा चलायमान र गतिलो लय दिने निर्णय पनि हुनेछ।

स्वतन्त्रताको पूर्वावस्था भनेको सुरक्षा नै हो। लोकतान्त्रिक मुल्य मान्यता र स्वतन्त्रताको उपभोगका निम्ति सुरक्षा अभिन्न अंग हुन्छ। यसकारण पनि मुलुकले रोजेको स्वतन्त्रताको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्नका निम्ति आईजी सिंहको सक्रियता बलियो देखिन थालेको छ। यसैको उपभोगका निम्ति नेपाली जनताले केही महिनामा आम निर्वाचनमा सहभागीता जनाउँदैछन्। उक्त निर्वाचनको सुरक्षा दायित्वको कमान्ड पनि आईजी सिंहकै काँधमा छ। त्यसपूर्व हुन सक्ने जति पनि सुरक्षा चुनौति छन् सबै चिरेर नयाँ सरकार निर्माणका निम्ति हुने प्रक्रियालाई भयरहित, त्रासशुन्य अवस्थामा गराउन आईजी सिंह सफल हुनेछन्। यसको उदाहरण त स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा उनले देखाएको अब्बलता नै थियो।

संगठनको विश्वासबिना आईजी सिंह एक्लै पनि सफल हुने होइन। यसकारण कर्ण जस्तो एउटा कुशल संगठक र मार्गनिर्देशकका आधारमा आईजी सिंहले आफ्ना सहकर्मीको साथलाई अविछिन्न बनाइसकेका छन्।

एउटा संगठनको उच्च तहको कमान्डिङ टोली बलियो बनाउने सन्दर्भमा सँगै प्रहरी जीवनमा प्रवेश गरेका सहकर्मीलाई नेपाल सरकारले तोकेको संख्याका आधारमा नै प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गरी जिम्मेवारी प्रदान गरिसकिएको छ। उनी आईजी भएको र निर्वाचनले छेकेको समयसीमा सकिनासाथ सहकर्मीलाई साथ–साथ लैजाने निर्णयमा आईजी पुगे। कसैलाई मझदारमा छाडेर आफूमात्रै माथि पुग्ने होइन, आफूले जिम्मेवारी पाए पनि सहकर्मी पनि सँगसँगै हिँड्नुपर्छ र टिमले मात्र सुरक्षा क्षेत्रमा राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरणको पहिलो रेखा सिंहले कोरिसकेका छन्।

यसअघिका बढुवाका प्रकृतिलाई कुनै कुनै कसीमा राखेर दाँज्दा स्पष्ट नै व्याख्या गर्न सकिन्छ। समयले, मुलुकले र सरकारले पत्याएका आईजी सिंहका प्रारम्भिक कर्म नै संगठनलाई बलियो बनाउने बाटोमा छन्।

अब, सिंहले संगठनलाई अझ दर्विलो बनाउनका निम्ति तल्ला ओहदाका कर्मचारी जो मैदानमा सँधै खटिरहेका हुन्छन् तिनको मन  मुटुमा पुरस्कार प्रोत्साहन र संगठनप्रतिको इमानको एउटा सपना कोर्नेछन्। यहि सपनाका लहरहरूसँगै प्रहरी संगठन लोभलाग्दो, आशलाग्दो र भरपर्दो सुरक्षा अंग बन्नेछ, बन्ने मार्गमा आईजी सिंहको दिशानिर्देश हुनेछ भन्ने विश्वास गरौं।

प्रतिक्रिया
सम्बन्धित