शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपा हुँदा प्रचण्डले ब्युँताएको असफल ‘सेक्टर काण्ड’ 

विनोद ढकाल २०७८ पुष २४ गते ११:३५

महाधिवेशनमा एकल नेतृत्व स्थापित गरेपछि पुष्पकमल दाहाल प्रचण्ड अहिले स्वास्थ्य आराममा छन्। उनलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा छन्। नेपालको सत्ता राजनीतिमा प्रखर र खरो रुपमा देखा परेका प्रचण्ड बितेका चार बर्षमा कम्युनिस्ट राजनीतिभित्रचाहिँ असफल भए।

प्रचण्डको प्रयोगले सत्ता राजनीति र समीकरण त परिवर्तन भयो तर उनले ब्युँताउन खोजेको ‘सेक्टर काण्ड’ र ठूलो कम्युनिस्ट पार्टीको एकल नेतृत्वचाहिँ स्थापित हुन सकेन। १५ बर्ष माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पेलाईमा बसी संघर्षका साथ एमाले नेतृत्वमा उदाएका केपी शर्मा ओलीको व्याक फायरले प्रचण्डको उक्त प्रयोग असफल भएको थियो।

आखिर त्यो सेक्टर काण्ड के थियो त– जुन प्रचण्डले ३५ बर्षको उमेरमा सफलतापूर्वक नेतृत्वमा उदाउने मौकाका रुपमा प्रयोग गरे र त्यसको ३५ बर्षपछि अर्को प्रयोगको प्रयत्नमा असफल भए?

३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री भएका थिए। पार्टीको प्रमुख पदमा उदाउनका लागि प्रचण्डलाई चर्चित सेक्टर काण्ड उपयुक्त हतियार बनेको थियो।

प्रचण्डले योङ कम्युनिस्ट लीगमा राम्रो क्षमता देखाएका कारण उनलाई तात्कालिक मशालको केन्द्रीय सदस्य बनाइएको थियो। नारायणप्रसाद शर्मालाई उदृत गर्दै बीबीसीले उक्त प्रकरणबारे चर्चा गरेको तथ्य यस्तो छ–

विसं २०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरी चौकीहरूमा आक्रमण प्रयास गर्यो। कम्युनिस्ट राजनीतिमा उक्त घटनालाई सेक्टर काण्ड भनेर चिनिँदै आएको छ।

आक्रमण सफल नभएपछि पार्टी भित्र वैद्यले पार्टी नेतृत्व छोड्नुपर्ने माग उठ्यो। त्यसपछि मोहन वैद्य आफैँले सेक्टर काण्डमा संलग्न नेताहरू एक तह घटुवा गर्ने प्रस्ताव राखेका थिए।

तात्कालिक मसालका नेता नारायणप्रसाद शर्मा चाहिँ वैद्यलाई हटाएर पार्टी प्रमुख हुन प्रचण्डले नेतृत्वमाथि आलोचनाको वातावरण बनाएको बताउँछन्।

“त्यो वातावरण तयार गर्नेमा प्रचण्डको केही न केही भूमिका छ। एक पटक सुल्झिसकेको विषयलाई पटकपटक उठाइरहनुमा प्रचण्डको हात छ,’’ शर्मा भन्छन्। माओवादीका संस्थापक केन्द्रीय सदस्य शर्मा पछि पार्टी विभाजनमा वैद्यसँग गए। उनी अहिले राजनीतिमा निष्क्रिय छन्।

“गल्ती भयो भन्ने पारियो र त्यसमा कारबाही गर्नुपर्छ भन्ने पारियो र प्रचण्डजी आउनुभएको हो। त्यो प्रक्रिया त्यति राम्रो प्रक्रिया चाहिँ थिएन क्या।’’

क्रान्तिकारी पार्टीमा क्रान्ति सुरु गर्दा कारबाही हुनु दुर्भाग्य भएको र वैद्यले त्यस बेला उदारता देखाएको शर्माको बुझाइ छ।

त्यसको एक वर्षपछि २०४७ सालमा प्रचण्ड नेतृत्वको मशालसँग बाबुराम भट्टराई, हरिबोल गजुरेल, निर्मल लामा र रूपलाल विश्वकर्मासहितका नेताहरूले नेतृत्व गरेका साना कम्युनिस्ट पार्टीहरूसँग एकता भयो। अनि २०४८ मा भएको महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्दै एकता केन्द्र राख्यो। अधिवेशनबाट प्रचण्ड पुनः महामन्त्रीमा निर्वाचित भए।

३ जेठ ०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भयो। यसमा सरकारको नेतृत्व गर्ने ओलीको स्वार्थ र पार्टी नेतृत्वमा एकल रुपमा उभिने प्रचण्डको अर्को स्वार्थले काम गरेको थियो। त्यसबेला पार्टीको एकल नेतृत्वमा उभिने दाउपेचका लागि प्रचण्डले टाउकोदेखि पुच्छरसम्मको एकीकरण प्रक्रिया गर्न राजीखुसी देखाए। अर्थात् जिल्लासम्मका संगठनका नेता र भागवन्डा चन्द्रागिरी रिसोर्टमा ओलीसँगको समझदारीका आधारमा भयो। सचिवालयका अन्य नेतालाई खासै वास्ता गरिएन।

प्रचण्ड के चिजमा ढुक्क थिए भने भागवन्डा हुँदा माओवादी सिंगो संगठनले कम पाए पनि त्यो बहुमत हुने थियो तर ओलीको भागभित्र एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल गुट पनि छ। आवश्यकअनुसार उक्त गुटलाई प्रयोग गर्न सकिने दिर्घकालिन रणनीतिअनुसार उनी नेतृत्वमा स्थापित हुने सपनाको आकार बनाइरहेका थिए।

प्रचण्डले ओलीको नेतृत्व कायम रहुन्जेल नेकपा कब्जामा समस्या हुने भएपछि विवादको श्रृङ्खला सुरु गरे। त्यसको पहिलो प्रकरण थियो– भेनेजुएला प्रकरणको विज्ञप्ति। ओलीलाई जानकारी नदिई उक्त विज्ञप्ति जारी भएको केही दिनमा नै उनले आलोपालो प्रधानमन्त्रीमा सहमति भएको भन्ने खुलासा गरेका थिए। यसले अब पार्टीभित्र अलग चर्चा र बहसमात्र होइन, समीकरण तयार भइरहेको थियो

प्रचण्डको स्वार्थ नै नेकपा कब्जा गरी त्यसको नेतृत्व गर्ने र ओलीलाई माओवादीमा रहँदा मोहन वैद्यको हालतमा राखिदिने थियो। माधव नेपाल, झलनाथ खनालहरूलाई त नारायणप्रसाद शर्मा, मोहनविक्रम सिंह, बाबुराम भट्टराई जस्तो अवस्थामा राख्न सक्ने आत्मविश्वासमा थिए प्रचण्ड। आफ्नो उद्देश्य पूरा गर्नका लागि उनले ओलीसँग सहमति गरेको आधा समयको प्रधानमन्त्री पद लिएनन्। उनको नजर समग्र बलियो कम्युनिस्ट संगठनको एकल नेतृत्व र त्यसपछि देशको कार्यकारी राष्ट्रपतिको प्रणाली स्थापित गरी शासन गर्नु थियो। यो प्रयत्नमा उनी अहिले पनि लाग्न सक्छन् तर कति सम्भावना हुन्छ भन्नेचाहिँ अब यकिन कठिन छ। झन्डै दुई तिहाईको नेतृत्व गरेको पार्टीमा छाउँदा प्रचण्डको सपनाको खुड्किला धेरै टाढा थिएन। पार्टीको एकल नेतृत्व लिनका लागि उनका अनेक प्रयोग र किस्सा स्मरणीय छन्।

नेकपा रहँदा बामदेव गौतमले सचिवालयमा प्रस्ताव गरेका थिए– पार्टीभित्र एक पद एक व्यक्ति हुनुपर्छ। यो बामदेवको अन्तरहृदयबाट प्रस्फुटित प्रस्ताव थिएन। प्रधानमन्त्री बन्ने लोभमा नेपथ्यमा प्रचण्डको प्रस्ताव थियो। जुन सफल हुन सकेन। प्रचण्डले ओलीको नेतृत्व कायम रहुन्जेल नेकपा कब्जामा समस्या हुने भएपछि विवादको श्रृङ्खला सुरु गरे। त्यसको पहिलो प्रकरण थियो– भेनेजुएला प्रकरणको विज्ञप्ति। ओलीलाई जानकारी नदिई उक्त विज्ञप्ति जारी भएको केही दिनमा नै उनले आलोपालो प्रधानमन्त्रीमा सहमति भएको भन्ने खुलासा गरेका थिए। यसले अब पार्टीभित्र अलग चर्चा र बहसमात्र होइन, समीकरण तयार भइरहेको थियो।

सचिवालयमा मौन रहेका रामबहादुर थापा बादलबाहेक प्रचण्डले अन्य नेतालाई बहुमतका साथ हात लिए। ओलीसँग सहज रुपमा नेतृत्व स्थानान्तरण हुने नदेखिएपछि सचिवालयमा प्रचण्डले राजनीतिक प्रस्तावका रुपमा ओलीमाथि आरोपका श्रृङ्खलाको फेहरिस्त राखे। जसलाई प्रचण्ड भन्छन्– बमबार्ड द हेडक्वार्टर।

यसपछिका राजनीतिक घटनाक्रम समीकरणका हिसाबले देखियो। बहुमत स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य यसै पनि प्रचण्डको पक्षमा थिए। यसलाई प्रयोग गरी नेतृत्वबाट ओलीलाई हटाउने प्रचण्डको रणनीति थियो। जसलाई असफल बनाउन ओलीले प्रतिनिधि सभा विघटन गरिदिए ५ पुस, ०७७ मा। ओलीको यो अर्को भयानक निर्णय थियो। र, ओलीले यसलाई पार्टीभित्रको आन्तरिक कारणका रुपमा नै व्याख्या गर्छन्।

यति हुँदा पनि प्रचण्डको यात्रा असफल थिएन। उनले बहुमत केन्द्रीय सदस्यलाई साक्षी राखेर माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाए। ओलीलाई साधारण सदस्य समेतबाट हटाइदिए। संसदीय दलको नेता आफैं निर्वाचित भए। जसलाई प्रचण्डले अहिले पनि बेलामौका अनेक कार्यक्रममा भन्छन्,‘७० प्रतिशत हामीसित थियो। मैले त ओलीलाई निकालेकै हो नि!’

तर उनले ब्युँताउन खोजेको सेक्टर काण्ड प्रकरणपछिको राजनीतिक घटनाक्रमलाई २३ फागुन ०७७ को सर्वोच्च अदालतले उल्टोतिर लखेटिदियो। अर्थात् अदालतमा विचाराधिन रहेको नेकपा नामको ऋषिराम कट्टेललाई आधिकारिकता दिँदै एक कदम अघि बढेर एमाले र माओवादी ब्युँताइदियो। जहाँ प्रचण्डको तत्कालिक प्रयोग पूर्णत असफल भयो।

त्यसपछिका राजनीतिक घटनाका विकासक्रमले ओलीलाई सत्ताबाट ओराले पनि प्रचण्डको चाँडो भन्दा चाँडो बलियो पार्टीको एकल नेता र देशको कार्यकारी राष्ट्रप्रमूख बन्ने धोकोमा चाहिँ ब्रेक लगाएको छ। यी घटनाक्रमको मुनाफा गठबन्धन नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भयो। संसद विघटनका दुई काण्ड उल्टाउँदै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दियो। अहिले देउवाको सरकार चालु छ।

प्रचण्ड विघटन, एकता गर्दै कम्युनिस्ट राजनीतिमा प्रयोगको सिद्धान्तलाई तिव्रता दिने त्यस्ता नेता हुन् जसले असफल हुनुलाई दुई कदम पछाडिका रुपमा व्याख्या गरी ठूलो छलाङका लागि फड्को मार्ने रणनीति बनाउँछन्।

माओवादी केन्द्रको महाधिवेशनमा नै महासचिवका विषयमा विवाद र चर्चामा पनि प्रचण्डले अनुमानभन्दा बाहिरको निर्णय गर्न सक्ने सम्भावना देखियो। महासचिवमा जनार्दन शर्मा र बर्षमान पुनको चर्चा हुँदाहुँदै देव गुरुङलाई प्रचण्डले अगाडि सारेको विषय चर्चामा छ। माओवादीमा मात्र नभई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहेका प्रचण्डको आगामी रणनीतिक उद्देश्य के हुन्छ त्योचाहिँ हेर्न बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित