बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

कठिनाईमा तथा विपत्तीमा सशस्त्रकाे असाधारण योगदान छ : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ माघ ९ गते २१:५६


काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औँ सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सरिक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा कायम गर्न र आतंकवादी क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान राम्रो रहेको चर्चा गरेका छन् ।

प्रधानमन्त्री ओलीले छोटो समयमै सशस्त्रले धेरै ठूलो योगदान गरेको बताएका हुन् ।

शान्ति, सुरक्षा, सुशासन मात्रै होइन प्राकृतिक विपत्तिमा समेत ‘रेस्क्यु अपरेसन’का धेरै काम गरेको प्रधानमन्त्री ओलीले बताए ।

ओलीले समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गरेका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्दै उनीहरुको वीरताको प्रशंसा गर्दै घाईते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कार्यमा विशिष्ट योगदान पुर्याउनुका साथै कठिनाईका समयहरु तथा प्राकृतिक बिपत्तीकोे बेला उद्वार कार्यमा असाधारण योगदान पुर्याएको बताए ।

प्रधानमन्त्री ओलीले भूकम्पको बेला सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परताको मुग्तकण्ठले प्रशंसा गरे ।

राष्ट्र सुशासन र विकासमा जुटेको उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्री ओलीले यसमा सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट योगदान पुर्याएको बताए ।

बेरुजु फर्छ्याैटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुशी लागेको उल्लेख गरे ।

सशस्त्र प्रहरी बलले उक्त विशेष समारोहमा प्रस्तुत गरेको ‘डेमोष्ट्रेसन’ उत्कृष्ट रहेको उल्लेख गर्दै उनले भने ‘डेमोष्टे«सन मात्रै होईन, सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा देखाएको क्षमताबाट सबै प्रभावित भएका छन् ।’

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बललाई समयानुकुल प्रभावकारी बनाउँदै लैजान मात्र नभई यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा दिन, राम्रो तालिम उपलब्ध गराउन सरकारको ध्यान गएको उल्लेख गरे । उनले भने ‘सशस्त्र प्रहरी बलले आफुलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको छ ।’

विशेष समारोहमा प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री ओलीले यसवर्ष उत्कृष्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।

प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक लोकार्पण गरे ।

प्रतिक्रिया
सम्बन्धित