मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

खाली पोस्टमा नारायणकाजीको ‘टाइ ब्रेकर’ जीत

विनोद ढकाल २०७६ माघ १० गते १०:४४

-विनोद ढकाल

क्रिश्चियनले पादरी मान्ने र नेपाली राजनीतिमा चाकरी गर्नेको हैसियत उस्तै हो । अन्धभक्त । विहीबार फेसबुकका भित्तामा यस्तै चाकरीवाजले भटाभट तस्बिर हालिरहेका थिए, नारायणकाजी श्रेष्ठसँगको । बधाई दिएका थिए– राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न पाएको जीतको ।

विचरा !

नैतिक धरातल नै नभएका पात्रलाई बधाई दिएको यो प्रवित्ति झनै विचरा ! त्यो भन्दा पनि विचरा त नेकपाले गरेको निर्णय थियो जहाँ नारायणकाजीलाई राष्ट्रिय सभामा पठाउने कुरो पारित भयो ।

अलिकति पनि राजनीतिक इमान भएको कोही भए सचिवालयको त्यो निर्णयको विरोध गर्ने थियो होला विरोध अनुमोदन नभए नोट अफ डिसेन्ट लेख्ने थियो होला । कोही भएन ।

अझ, दुख त त्यहाँ लाग्यो, नेकपाका एक बौद्धिक र शालिन नेता भनेर बुझेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसम्मले ट्विटरमा लेखे– राष्ट्रिय सभामा जीत निकाल्ने कामरेड नारायणकाजी श्रेष्ठलगायतका नेकपा र राजपाका निर्वाचितलाई बधाई ।

मानौ, नारायणकाजीले ठूलै संघर्षको मैदानबाट राष्ट्रको नाक नै ठाडो हुनेगरी पराक्रम गरेर आए । त्यसो होइन कामरेडहरू नारायणकाजी त जनतासँग हारेका मानिस हुन् । कुन्ठासँग जीत निकालेका अपरिपक्व राजनीतिज्ञ जस्तो देखियो ।

पुष्पकमल दाहाल प्रचण्डले काँधमा बोकेर पार्टीमा नछिराएको भए इमान भएका चित्रबहादुर केसीहरू भन्दा पनि निक्कै पछाडी पर्ने एक पात्र मात्र हुने थिए ।

राजनीतिको साधारण सिद्धान्तचाहिँ जनताले अनुमोदन नगरे पनि पार्टीमा काम गर्ने, जिम्मेवारी सम्हाल्ने र पराजित भएको ठाउँमा आफ्नो जनमत पुनर्जागरणमार्फत फर्काउने हुन्छ । तर नारायणकाजी श्रेष्ठले त्यसो नगर्नुमा पनि कारण छ । उनलाई जनतासँग होइन, पद र प्रतिनिधित्वसँग मात्र मतलब रहेछ । उनको कुन्ठा भरिएको हाँसोका तस्बिरमा देखिन्छ ।

जबसम्म राजनीतिमा जनता, आफ्ना क्षेत्रका जनतासँग झूठ र बेइमानी गरिन्छ । मुलुक मुठ्ठीभर मानिसको हातमा हुन्छ । ८ लाख संगठित कार्यकर्ता भएको, नेतै नेता भएको नेकपामा नारायणकाजीको विकल्प थिएन ?

यदि, नारायणकाजीसँग राजनीतिको एक सुतो इमान भएको भए नेकपाको प्रवक्ता मात्रै रहेर काम गर्छु , हारेको ठाउँमा जनताको मन जित्दै अर्को पटक मत जितेर आउँछु भन्ने इमान हुनुपर्दथ्यो

एउटा क्लवमा सीमित रहेका व्यक्तिले मात्र मौका पाउनुपर्ने, त्यो पनि जनताबाट पराजितले । संविधानत: यो उम्मेदवारी नै अवैधानिक थियो, नैतिक हिसाबले त यो अपराध हो, राजनीतिक ताकतको दुरुपयोग हो, भ्रष्टाचार हो ।

यसका दरिला उदाहरण उनले ०६४ देखि ०७४ सम्म भएका चुनावमा छाडेका क्षेत्र र जिल्ला हुन् । आएँ आँप गए झटारो शैलीमा चुनाव लडेका श्रेष्ठ अवसरबाट भने बञ्चित भएका छैनन् । यसैको उपहारका रुपमा उनले राष्ट्रिय सभा सदस्य पनि पाए । जुन, सरकारी सुविधा पाउने स्थान हो ।

०६४ मा तत्कालिन माओवादीले पाएको समानुपातिक मतका आधारमा संविधानसभा प्रवेश गरेका थिए । त्यो लाभ लिए, लछारपाटो लगाएनन् । संविधानसभा भंग हुने भएपछि आँसु झारे, भावना समेट्ने कोशीश गरे । ०७० मा तत्कालिन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग मकवानपुर–३ मा पराजित भए । यहाँ पनि उनलाई जनताले पत्याएनन् ।

०७४ को त कुरै छाडौं । राजनीतिको उतारचढावको दौरानमा उनी आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईको क्षेत्रमा हानिए । मज्जैले पछारिदिए जनताले ।

एक हिसाबले उनको स्थायी क्षेत्र छैन । कहाँका जनताको प्रतिनिधि बन्ने, किन बन्ने भन्ने पनि अवधारणा र विचार पनि थिएन, छैन । यसकारण नैतिकताहिन राजनीतिको उपलव्धिमा देखावटी बधाई भनिएला तर आत्मादेखि भन्न सकिँदैन, कामरेड ।

राष्ट्रिय सभाको चुनाव एक प्रकारले खाली गोलपोस्टमा टाई ब्रेकर जस्तै हो । स्थानीय तहका प्रमुख र उपप्रमुख सत्ताधारी पार्टीकै छन् । तिनलाई सिधा ह्विप थियो नेता जिताउने, नभए पनि तिनले अन्यत्र मत खसाल्ने कुरै भएन । त्यसैले नारायणकाजीको यो जीत पछाडी उनको लोकप्रियता होइन, नेकपाको विवशता देखिन्छ । यसमा कुनै शंकै छैन ।

यदि, नारायणकाजीसँग राजनीतिको एक सुतो इमान भएको भए नेकपाको प्रवक्ता मात्रै रहेर काम गर्छु , हारेको ठाउँमा जनताको मन जित्दै अर्को पटक मत जितेर आउँछु भन्ने इमान हुनुपर्दथ्यो ।

सचिवालयमा उनको नाम प्रस्ताव हुँदा गर्वका साथ भन्नुपर्दथ्यो– मैले पटक पटक मौका पाएको हुँ । नयाँ युवा साथीलाई दिनुपर्छ । पार्टीमा अवसर नपाएका र भुईँमान्छेका प्रश्न उठाउन सक्ने पर्याप्त व्यक्ति छन् भन्न सक्नुपर्दथ्यो ।

उनले त्यसो नगर्नु नै राजनीतिक कायरता, पदीय लोलुपताको पर्याप्त उदाहरण हो । त्यसैले जीतका नाममा उनले लगाएका खादा, अविर र उनको हाँसोले जनताको सम्मान गर्छ भन्ने पटक्कै लाग्दैन– त्यहाँ उत्तरादायीत्व हैन, अहंकार छ ।

प्रतिक्रिया
सम्बन्धित